कांग्रेस नेता आङ्देम्बे भन्छन्– ‘संसदमा संख्या होइन, मुद्दा र विचार महत्वपूर्ण हुन्छ’

लोकपथ
0
Shares
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदमा संख्याभन्दा उठाइने मुद्दा र विचार महत्वपूर्ण हुने बताएका छन् ।

शनिबार नेपाल थारु संघको अधिवेशनलाई सम्बोधन गर्दै उनले संसदमा कांग्रेसको संख्या कम भए पनि जनसरोकारका मुद्दा उठाउने जिम्मेवारीमा कुनै कमी नहुने स्पष्ट पारेका हुन् ।

उनले संख्याको बलमा मात्रै लोकतन्त्र सञ्चालन हुन नसक्ने भन्दै संसदमा विचार र बहसको भूमिका निर्णायक हुने धारणा राखे ।

आङ्देम्बेले संसदीय मर्यादा र लोकतान्त्रिक अभ्यासको संरक्षणका लागि कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गरिरहेको उल्लेख गरे ।

पार्टी र संसदलाई अलग–अलग ढंगले हेर्ने प्रवृत्ति अन्त्य गर्दै दुवैलाई एउटै सोच र समन्वयमा अघि बढाइएको उनको भनाइ थियो ।

उनले कांग्रेसभित्र विगतमा संसद र पार्टीबीच दूरी बढाउने र संगठनलाई कमजोर बनाउने प्रवृत्ति देखिएको भए पनि अहिले त्यसलाई अन्त्य गर्दै सहकार्यको वातावरण निर्माण गरिएको दाबी गरे ।

‘अनुभवका हिसाबले हामी कमजोर हुन सक्छौं, तर पार्टी र संसदबीचको समन्वयबाट संसदभित्रका समस्याको समाधान खोजिरहेका छौँ,‘उनले भने । साथै, संख्याको आधारमा मात्र लोकतान्त्रिक मूल्य कमजोर पार्ने प्रवृत्तिविरुद्ध कांग्रेसले निरन्तर आवाज उठाइरहेको उनले बताए ।

यसैबीच, उनले पार्टीभित्र देखिएका समस्या समाधान गरी एकता मजबुत बनाउनुपर्नेमा पनि जोड दिए । सत्ता प्राप्तिका लागि विगतमा विभिन्न राजनीतिक शक्तिसँग सहकार्य गर्दा पार्टीको मौलिक पहिचान कमजोर भएको उनको भनाइ थियो ।

कांग्रेसको मूल चरित्र बहुजातीय, बहुभाषिक, बहुधार्मिक र विविध सांस्कृतिक संवेदनालाई समेट्ने रहेको उल्लेख गर्दै उनले गुमेको पहिचान पुनः स्थापित गर्नुपर्ने आवश्यकता औँल्याए ।

वर्तमान नेतृत्वसँग पार्टीलाई पुनःजागृत गर्ने जोश, जाँगर र हुटहुटी रहेको पनि उनले विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?