कृषि उत्पादनमार्फत अर्थतन्त्र सुदृढ बनाउने सरकारको प्राथमिकता : सभापति चौधरी

लोकपथ
21
Shares

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले कृषि उत्पादनमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउने विषय सरकारको प्रमुख प्राथमिकतामा रहेको बताएका छन् ।

शुक्रबार राष्ट्रपतिको सरकारी निवासमा आयोजित राष्ट्रिय उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले कृषिलाई परम्परागत पेशाको रूपमा नभई सम्मानित, आधुनिक र व्यवसायिक क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसहित सरकार अघि बढिरहेको उल्लेख गरे ।

सभापति चौधरीले नेपालको हिमाल, पहाड र तराईको भौगोलिक विविधताले कृषि क्षेत्रमा ठूलो सम्भावना सिर्जना गरेको भन्दै आधुनिक प्रविधि, वैज्ञानिक व्यवस्थापन र प्रभावकारी कार्यान्वयनमार्फत उत्पादन वृद्धि गर्न सकिने धारणा राखे ।

उनले भने, ‘हिमाल, पहाड र तराईको भौगोलिक विविधताले हामीलाई कृषि क्षेत्रमा अपार सम्भावना दिएको छ । आधुनिक प्रविधि र वैज्ञानिक व्यवस्थापनमार्फत नेपाल आत्मनिर्भर मात्र होइन, कृषि निर्यात गर्ने राष्ट्र पनि बन्न सक्छ ।

उनका अनुसार सरकारले कृषिलाई परम्परागत पेशाबाट उकासेर आधुनिक र व्यवसायिक क्षेत्रका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ । साथै युवालाई विदेश पलायनबाट रोक्दै गाउँमै रोजगारी सिर्जना गर्ने र उत्पादनमार्फत राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने नीति सरकारको प्राथमिकतामा रहेको उनले बताए ।

सभापति चौधरीले किसानलाई केवल अनुदानमा सीमित नराखी उत्पादनका आधारमा पनि सम्मान गर्ने राज्यको नीति रहेको समेत उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?