ग्रामिण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : मन्त्री चौधरी

लोकपथ
63
Shares

काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएकी छन् ।

शुक्रबार शीतलनिवासमा आयोजित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रममा सम्बोधन गर्दै उनले कृषकलाई सम्मान र सहुलियत प्रदान गर्दै कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमार्फत उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने सरकारको प्रतिबद्धता दोहोर्याइन् ।

मन्त्री चौधरीले सीमित साधन र स्रोतका बाबजुद सरकारले मल, बीउ, सिँचाइ, प्राविधिक सेवा, पशुपंक्षीका लागि खोप, कृषि पूर्वाधार, कृषि यान्त्रीकरण तथा बाली र पशुधन बीमाजस्ता क्षेत्रमा सहुलियत उपलब्ध गराउँदै आएको उल्लेख गरिन् । यद्यपि कृषकहरूले अझै पनि विभिन्न चुनौती सामना गरिरहेको विषयमा मन्त्रालय गम्भीर रहेको उनले स्पष्ट पारिन् ।

उनका अनुसार कृषि क्षेत्रलाई केवल जीविकोपार्जनको माध्यम मात्र नभई सम्मानित, व्यावसायिक र आत्मनिर्भर क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य सरकारको छ । स्वदेशी उत्पादन र दिगो कृषि प्रवर्द्धनमा सरकार केन्द्रित रहेको उल्लेख गर्दै उनले यसका लागि निजी क्षेत्र र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताइन् ।

मन्त्री चौधरीले भनिन्, ‘ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई उच्च प्राथमिकतामा राखेको छु । कृषकलाई सम्मान र सहुलियत प्रदान गर्दै कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमहरू अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु । सीमित साधन र स्रोतका बाबजुद सरकारले मल, बीउ, सिँचाइ, प्राविधिक सेवा, पशुपंक्षीलाई खोप, कृषि पूर्वाधार, कृषि यान्त्रीकरण, बाली तथा पशुधन बीमा लगायतका सहुलियत प्रदान गर्दै आएको छ । तर कृषकहरूले अझै पनि चुनौती भोग्नुपरेको विषयमा मन्त्रालय सचेत छ । कृषि क्षेत्रलाई केवल जीविकोपार्जनको माध्यम मात्र नभई सम्मानित पेसा, व्यावसायिक र आत्मनिर्भर क्षेत्रका रूपमा विकास गर्न सरकारले कुनै कसर बाँकी राख्ने छैन ।’

उनका अनुसार कृषिमा लगानी वृद्धि, आधुनिक कृषि प्रविधिको विस्तार, प्रभावकारी बजारीकरण तथा युवाको सहभागिता बढाउनेतर्फ सबै पक्षको साझा प्रयास आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?