एसईईपछिको पढाई : विज्ञापन र चम्किलो भवनमै लोभिने कि उत्कृष्ट कलेज छान्ने ?

लोकपथ
21
Shares
सांकेतिक तस्बिर : एआई

काठमाडौं । एसईईको नतिजा सार्वजनिक भएसँगै अभिभावकका लागि चिन्ताको विषय बन्छ आफ्नो छोराछोरीलाई कुन कलेज र के विषय पढाउने ? यसमा विद्यार्थी भन्दा बढी चिन्तित उनीहरुका अभिभावक नै रहन्छन् ।

आफ्ना छोराछोरीको भविष्य राम्रो बनोस् भन्ने अभिभावकको स्वाभाविक चाहनालाई पुँजी बनाउँदै प्लस टु अर्थात् कलेजहरूले अहिले शैक्षिक प्रतिस्पर्धालाई एउटा विशाल व्यापारिक मैदान बनाइरहेका छन् । रंगीन ब्रोसर, एयरकन्डिसन कक्षादेखि सेलिब्रिटी प्रचार र कमिसनको नेटवर्कसम्म चल्ने गरेको छ । अर्थात् यस सिजनमा शिक्षा होइन, व्यापार वा मार्केटिङ हाबी भएको छ । तर प्लस टु वा ‘कलेज’हरुका यी चम्किला पर्दापछाडि औसत विद्यार्थीको सिकाइ, मानसिक स्वास्थ्य र शिक्षाको वास्तविक गुणस्तर हराउँदै गएको विज्ञको आरोप छ ।

गत चैतमा भएको एसईईको परीक्षामा पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी भएकामा यस वर्ष करिब ६६ प्रतिशत विद्यार्थी उत्तीर्ण भई कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् । काठमाडौं उपत्यकामा मात्रै सयौँ निजी तथा सरकारी प्लस टू कलेज सञ्चालनमा छन् ।

हरेक वर्ष देशभरबाट हजारौँ विद्यार्थी देशको संघीय राजधानी काठमाडौं छिर्छन्, विशेष गरी विज्ञान र व्यवस्थापन संकाय पढ्नका लागि । तर, ‘काठमाडौंमा पढे भविष्य राम्रो हुन्छ’ भन्ने मनोविज्ञानले गर्दा कतिपय अभिभावक र परिवारलाई ऋणको भारी समेत थमाइदिएको छ । भविष्यको यही खोजी र गुणस्तरीय शिक्षाको भोक र लोभमा काठमाडौं छिर्ने सबैले गुणस्तरीय शिक्षा पाइरहेका छन् त ? कि अग्ला भवन, टपर विद्यार्थीका पोस्टर र हिजो पढेर डाक्टर, पाइलट, इञ्जिनियर बनेकाहरुको फोटो देखाएरै अभिभावक र विद्यार्थीलाई कलेजले भुलाइरहेका छन् ?

अग्ला र चम्किला भवन अनि रंगीन ब्रोसर : सिकाइभन्दा मार्केटिङ हाबी

आज अधिकांश प्लस टु कलेजको वास्तविक प्रतिस्पर्धा पढाइको गुणस्तरमा नभएर विज्ञापनको आक्रामकतामा केन्द्रित देखिन्छ । सामाजिक सञ्जाल खोल्नेबित्तिकै‘Admission Open’, ‘Limited Seats’, ‘Special Discount’ का विज्ञापन सबैभन्दा अगाडि आइपुग्छन् । किनभने सामाजिक सञ्जालमा प्रयोग हुने अल्गोरिदम नै यस्तो बनाइएको हुन्छ कि उमेर समूह, हिजोका दिनमा गरिएका पोष्ट, सर्च गरिएका विषय आदी सबैलाई उसले मेमेरीमा राखेर विज्ञापन पठाइरहेको हुन्छ ।

‘नेपालकै नम्बर वान कलेज’, ‘१००% नतिजा निकाल्न सफल कलेज’, ‘टपर उत्पादन गर्ने कलेज’ लगायतका दाबीले अभिभावक र विद्यार्थीलाई अझै बढी अलमल्याउने गर्छ । कतिपय कलेजले त विदेशी विश्वविद्यालयको झल्को दिने भिडियो समेत बनाएर सामाजिक सञ्जालहरुमा पोष्ट गरिरहेका हुन्छन् । उनीहरुले ‘इन्टरनेसनल स्ट्यान्डर्ड’ र ‘स्मार्ट एजुकेसन’ जस्ता शब्दको प्रयोग गर्दै विज्ञापन गरिरहेका हुन्छन् । कलेजकहरुको बाहिरी आवरण र तडकभडकका बिच कक्षाकोठा भित्रको वास्तविक सिकाइ कस्तो छ भन्ने प्रश्न भने अनुत्तरितै नै रहेको देखिन्छ ।

तस्बिर : एआई

मार्केटिङको सबैभन्दा प्रभावशाली हतियार भने डिस्काउन्टको रणनीति नै बनेको छ । किनभने पहिले वास्तविक मूल्यलाई दुईगुणासम्म बढाइदिने अनि हेबी डिस्काउन्टको नाटक गर्ने । डिस्काउन्टको यो पोलिसीमा ‘मेरिट स्कलरसिप’, इन्ट्रान्स स्कलरसीप, प्राप्तांक स्कलरसीप, ‘लास्ट अफर’ आदि आदि भन्दै शुल्क घटाइदिने ।

तर अधिकांश कलेजहरुले घटाउने यो शुल्क पहिलो वर्षका लागि मात्रै दिने गर्छन् । किनभने दोस्रो वर्षमा न विद्यार्थी अन्त जान सक्छन्, कलेजले नै शुल्क घटाइदिन्छ । त्यसपछि अभिभावक दोस्रो वर्षमा पूरा शुल्क तिर्न बाध्य हुन्छन् । तर अभिभावकलाई भने पहिलो वर्षमा पाएको छुटको ललीपपले ‘ठूलो अवसर पाइयो’ भन्ने भावना बनाइदिन्छ । शिक्षा क्षेत्रका जानकारहरू भने धेरैजसो यस्ता ‘डिस्काउन्ट’ वास्तविक छुटभन्दा बढी विद्यार्थी तान्न गरिने मार्केटिङ स्ट्राटेजी मात्रै हुन्छन् ।

विद्यार्थी तान्न कमिसनको समेत खेल !

काठमाडौंका कतिपय कलेजले विद्यार्थीहरु आफ्ना कलेजमा ल्याउने वा पठाउने विद्यालयहरुलाई कमिसनसमेत दिने गरेका छन् । विद्यार्थीलाई आकर्षित गर्न कमिसन नेटवर्कको समेत प्रयोग गर्दै कलेजहरुले विद्यार्थी भर्ना गराउने गरेको पाइएको छ । कलेजमा भर्ना गर्न ल्याइदिने व्यक्ति वा विद्यालयलाई अप्रत्यक्ष लाभ वा इन्सेन्टिभ दिने गरिएको पाइएको छ । यसले विद्यार्थी एक ‘ग्राहक’ मात्र बनेको र कलेज सेवाप्रदायक नभई व्यापारिक फर्म बनेको आलोचना बढ्दो छ ।

कुनै अभिभावकले दोस्रो वर्षको शुल्क वा छुटको कुरा गरेमा त्यो त्यति बेला नै कुरा गरौंला भन्दै तर्किने गरेका छन् । तर दोस्रो वर्ष छुट नै नदिई पहिलो वर्ष दिएको छुटसमेत असुल गर्ने प्रवृत्ति उच्च छ । यसले के देखाउँछ भने अभिभावकको अज्ञानता र ब्रान्डको भोकले कलेजले शिक्षालाई व्यापार बनाइरहेका छन् र राम्रो नाफा कमाउने क्षेत्रका रुपमा रहेको छ ।

भौतिक संरचनाको आकर्षणले पनि अभिभावकको निर्णयलाई हल्लाइदिने गरेको छ । चम्किलो भवन, स्मार्ट रिसेप्सन, डिजिटल स्क्रिन, कफी जोन आदि आदि । यी सबैले ‘यो कलेज उत्कृष्ट होला’ भन्ने अभिभावकमा भावना आउनु स्वभाविक नै हो । तर पछि मात्र थाहा हुन्छ, शिक्षा भवनले होइन, शिक्षकले निर्धारण गर्छ । अनि स्थायी र जिम्मेवार शिक्षक समेत नभएको कलेजमा हेल्मेट टिचरको दौडधूपककै भरमा धानिएपछि शिक्षामा गुणस्तर होइन, दबाब मात्रै बाँकी रहन्छ । शिक्षकहरु कोर्स कम्प्लिटको दबाबमा हुँदा सिकाइभन्दा नोट घोकाउने र परीक्षा उतीर्ण गराउनेमै ध्इान गएको हुन्छ । भवन चम्किएको भएपनि कोठाभित्र खालीपन नै ढाकिएको हुने डर बढी हुन्छ ।

टपर ब्रान्डिङ र ‘रिजल्ट प्याकेजिङ’को ललिपपमा अभिभावक

एसईईपछिको भर्नाको समयमा कलेजहरुका लागि ‘टपर मार्केटिङ’ सबैभन्दा उपयोगी हतियार बनिरहेको छ । ए प्लस ल्याएका केही विद्यार्थीलाई कलेजहरूले पूर्ण छात्रवृत्ति, होस्टेल सुविधा, पकेट अलाउन्स, निःशुल्क कोचिङ जस्ता अफर दिएर आफूतिर आकर्षित गर्ने गरेका छन् । तर यसको उद्देश्य प्रतिभा सम्मान होइन, बरु तिनै विद्यार्थीलाई ‘पोस्टर’ बनाएर अर्को वर्षको विद्यार्थी भर्नाको बजार कब्जा गर्नु नै हो । पछि तिनै विद्यार्थीका फोटो राखेर ‘आवर टपर्स’, ‘फ्युचर डक्टर्स फ्रम आवर कलेज’, ‘बोर्ड एक्सिलेन्स’ जस्ता पोस्टर छापेर विद्युतका पोल, कलेज, स्कुलका नजिक टाँसेर विद्यार्थीलाई आकर्षित गरिन्छ । तर वास्तवमा ती विद्यार्थीहरु ती कलेजले उत्कृष्ठ बनाएका विद्यार्थी नभई पहिले नै उत्कृष्ट विद्यार्थी टिपेर थपना गरिएका मूर्ति मात्रै हुने गरेका छन् । मार्केटिङको भाषामा भन्दा ती कलेजका हिरो प्रोडक्ट नै ती विद्यार्थी हुन्छन्, जो उनीहरुले बनाएका नै हुँदैनन् ।

रुपन्देहीमा रहेको कालिका मानवज्ञान उच्च माध्यमिक विद्यालय, जुन सामुदायिक विद्यालय हो । यो विद्यालय आफुलाई अब्बल दाबी गर्ने पिनाकल एकेडेमी, त्रिनिटी अन्तराष्ट्रिय मावि, नेशनल स्कूल अफ साईन्स अर्थात निष्ट कलेज, काठमाडौं बनहार्ट मावि, जेभियर अन्तर्राष्ट्रिय मावि, डिएभी सुशिल केडिया विश्व भारती मावि, मनास्लु वल्ड स्कुल लगायतका निजी विद्यालयभन्दा नतिजामा धेरै अगाडी छ ।

टपरलाई देखाएर संघर्षरतको अस्तित्व हरण

तर यस्ता टपर कलेजहरुको वास्तविकता चाहिँ के हुन्छ भने हजारौँ विद्यार्थीमध्ये केही चम्किला विद्यार्थीको पोस्टर छापेर बाँकी औसत र संघर्षरत विद्यार्थीको अवस्था ओझेलमा पारिएको हुन्छ । पटक–पटक फेल हुने, पढाइ बीचमै छाड्ने वा मानसिक दबाबमा परेका विद्यार्थीको तथ्यांक प्रायः सार्वजनिक गरिँदैनन् । कतिपय अवस्थामा कमजोर विद्यार्थीलाई ‘बोर्ड रिजल्ट बिगार्ने’ भन्दै अलग व्यवहार गरिने, अतिरिक्त दबाब दिइने वा परीक्षा अगाडि नै अन्यत्र सर्न सुझाउने गरेको समेत पाइएको छ । यसबाट के स्पष्ट हुन्छ भने कलेजहरुले कृतिमरुपमा अन्तिम नतिजा राम्रो देखाउनका लागि अनेक हतकन्डा अपनाउँछन् र टपर विद्यार्थीलाई देखाएर संघर्षरत र कमजोर विद्यार्थीको अस्तित्व हरण गरिरहेका हुन्छन् ।

अझ ‘१००% रिजल्ट’ को दाबीभित्र पनि अनेक तह हुन्छन् । सुरुमा कति विद्यार्थी भर्ना भए ? कति अन्तिम बोर्डसम्म पुगे ? कति बीचमै ड्रपआउट भए ? यी प्रश्नको जवाफ विज्ञापनमा कहीँ कतै उल्लेख नै गरिँदैन । यसरी परिणामको ‘प्याकेजिङ’ गरेर संकटग्रस्त विद्यार्थीको समस्या मात्र लुकाइँदैन, अभिभावकलाई पनि भ्रममा राखिएको हुन्छ ।

तस्बिर : एआई

यता शिक्षाविद्हरू भने कलेज राम्रो भनेको एक दुई जना टपरको फोटो राख्ने कलेज नभई औसत विद्यार्थीलाई पनि उत्कृष्ट बनाउने कलेज हुनुपर्ने बताउँछन् । एक शिक्षाविद्ले भने, ‘राम्रो कलेज त्यो होइन जसले केही टपरको फोटो धेरै छाप्छ, राम्रो कलेज त्यो हो जहाँ औसत विद्यार्थी पनि विकसित हुन्छ, जहाँ कमजोर विद्यार्थीलाई लुकाइँदैन, सम्हालिन्छ ।’

गाउँदेखि शहर : ऋण, सपना र हराएको सिकाइ

ग्रामीण भेगका अभिभावकमा एउटा मनोविज्ञान गहिरो छ, ‘काठमाडौंमा पढाए भविष्य राम्रो हुन्छ ।’ यही सोचले कतिपय परिवार ऋण खोजेर भए पनि छोराछोरीलाई राजधानी पठाउन बाध्य छन् । शहरमा राम्रो पूर्वाधार, प्रतिस्पर्धी वातावरण, प्रवेश परीक्षाको तयारी, विज्ञान प्रयोगशाला र विदेश अध्ययनको सम्भावनाले पनि विद्यार्थी आकर्षित हुने गरेका छन् । तर शहरको अर्को वास्तविकता पनि छ, महँगो होस्टेल, साथीको दबाब, सामाजिक सञ्जालको व्यग्रता, सम्बन्धको तनाव र अस्वस्थ प्रतिस्पर्धा । धेरै विद्यार्थी गाउँबाट शहर आएपछि पढाइभन्दा ‘एडजस्टमेन्ट स्ट्रगल’ मै बढी समय अल्झिने गरेका छन् ।

त्यसमाथि कलेजको चम्किलो भवन र प्रचारले सिकाइको मूल्यभन्दा ‘ब्रान्ड’ को मोह बढाइदिएको छ । आज धेरै प्लस टु कलेजको फोकस एउटै मात्र छ, बोर्ड परीक्षामा राम्रो नतिजा कसरी ल्याउने वा देखाउने ? यसका लागि विद्यार्थीलाई बिहानदेखि बेलुकासम्म कोचिङ शैलीमा राख्ने, टेस्टको दबाब दिने र रटन्ते सिकाइ गराउने प्रवृत्ति बढेको छ । यसले छोटो समयमा राम्रो अंक दिलाउन त सक्ला, तर दीर्घकालीन रूपमा आलोचनात्मक सोच, सिर्जनात्मकता, संवाद क्षमता र भावनात्मक परिपक्वता भने कमजोर बनाइरहेको छ । विद्यार्थीहरु मैले के सिकेको हो र के का लागि सिकेको हो, जीवन उपयोगी भयो कि भएन भनेर ठम्याउन समेत नसक्ने अवस्थामा छन् ।

अभिभावकहरू भने प्रायः ‘फलानाको छोरा त्यहीँ पढेको’, ‘त्यो कलेज चर्चित छ’ जस्ता सुनाइका भरमा निर्णय गर्ने गर्छन् । तर कलेजको ड्रपआउट दर, शिक्षक स्थायित्व, व्यावहारिक कक्षा, परामर्श प्रणाली, लुकेका शुल्क र अनुशासनका नाममा दिइने अनावश्यक दबाबबारे सोधखोज गर्ने चलन न्यून छ । अझ सबैभन्दा ठूलो भूल त त्यहाँ हुने गरेका छ, जहाँ दोस्रो वर्ष लाग्ने शुल्क र पाउने छुटका बारेमा अभिभावक कुरा नै गर्दैनन् । जसको फाइदा कलेजले उठाउँदै दोस्रो वर्ष पूर्ण शुल्क लिने गरेका छन् । कुनै अभिभावकले दोस्रो वर्षको शुल्क वा छुटको कुरा गरेमा त्यो त्यति बेला नै कुरा गरौंला भन्दै तर्किने गरेका छन् । तर दोस्रो वर्ष छुट नै नदिई पहिलो वर्ष दिएको छुटसमेत असुल गर्ने प्रवृत्ति उच्च छ । यसले के देखाउँछ भने अभिभावकको अज्ञानता र ब्रान्डको भोकले कलेजले शिक्षालाई व्यापार बनाइरहेका छन् र राम्रो नाफा कमाउने क्षेत्रका रुपमा रहेको छ ।

शिक्षा क्षेत्रका अभियन्ताहरू भन्छन्, ‘विद्यार्थी उत्पादन होइनन्, तर आजको भर्ना बजारले उनीहरूलाई ग्राहक र आँकडाको रूपमा हेर्न थालेको छ ।’ नेपाललाई अब केवल ए प्लस ल्याउने विद्यार्थी होइन, सोच्न, सिर्जना गर्न र समाज बुझ्न सक्ने युवा चाहिन्छ । त्यसका लागि अभिभावकले पनि ‘कलेज कति चर्चित छ ?’ भन्दा बढी ‘त्यहाँ मेरो बच्चा कति विकसित हुन्छ ?’, लाइफ साइन्स बुझ्छ कि बुझ्दैन भनेर सोच्नुपर्ने हुन्छ । किनभने शिक्षा त व्यापार वा बजार हुन सक्ला, तर विद्यार्थी कहिल्यै वस्तु वा उत्पादन बन्नु हुँदैन । कलेजको साँचो गुणस्तर चम्किला भवन र टपरको पोस्टरले होइन, कमजोर विद्यार्थीप्रतिको व्यवहार र उनीहरुलाई पनि सबल र सक्षम बनाउने सिकाइको प्रक्रियाले मात्रै निर्धारण गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?