काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले झापालगायत तराईका विभिन्न जिल्लामा जंगली हात्तीको आतंक बढ्दै गएको भन्दै नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेकी छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद रानामगरले जंगल आसपासका बासिन्दाले राज्यको उपस्थिति नै महसुस गर्न नसकेको अवस्था रहेको बताइन् ।
उनले वन क्षेत्रमा पर्याप्त वनपाले, सुरक्षा सामग्री र पूर्वतयारीको अभाव हुँदा स्थानीय नागरिक जंगली जनावरको आक्रमणको जोखिममा बाँच्न बाध्य भएको उल्लेख गरिन् ।
उनले झापाको अर्जुनधारा नगरपालिका–२ का दिनेश पराजुली जंगली हात्तीको आक्रमणमा परी गम्भीर घाइते भई अस्पतालमा उपचाररत रहेको जानकारी दिँदै सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद रानामगरले तराईका विभिन्न क्षेत्रमा हात्तीको आक्रमणका कारण सर्वसाधारण त्रसित भइरहेको उल्लेख गर्दै मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्न दीर्घकालीन योजना आवश्यक रहेको बताइन् ।
उनले जंगल आसपासका बस्तीमा पर्याप्त प्रकाश, माइकिङ, सतर्कता प्रणाली तथा जनशक्ति व्यवस्थापन गर्न सरकारसँग माग गर्दै स्थानीयवासीले असुरक्षित महसुस गरिरहेको बताइन् ।
साथै, घाइते दिनेश पराजुलीको उपचारका लागि आवश्यक सहयोग र व्यवस्थापन गर्न पनि उनले सरकारलाई आग्रह गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया