नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित लिग-२ सिरिज आजदेखि

लोकपथ
77
Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको नेपाल, अमेरिका र स्कटल्याण्डबीचको त्रिकोणात्मक श्रृङ्खला आजदेखि सुरु हुँदैछ ।

घरेलु टोली नेपालले स्कटल्याण्डसँग खेल्दै सिरिजको सुरुवात गर्दैछ । नेपाल र स्कटल्याण्डबीचको खेल ९ः३० बजे कीर्तिपुरस्थित टियु मैदानमा सुरु हुनेछ ।

नेपाल अघिल्लो घरेलु सिरिजको सफलतापछि उत्साहित देखिएको छ । यूएई र ओमानविरुद्ध भएको सिरिजमा नेपालले चारमध्ये तीन खेल जितेको थियो । यसले टोलीको आत्मविश्वास बढाएको छ ।

नेपाल ‘ए’ टोलीले पनि हालै अमेरिका र स्कटल्याण्डविरुद्धको सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै सबै खेल जितेको थियो । त्यसको प्रभाव राष्ट्रिय टोलीमा पनि परेको मानिएको छ ।

घरेलु क्रिकेटमा लगातार राम्रो प्रदर्शन गरेका ईशान पाण्डे सात वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका छन् । उनलाई बसिर अहमदको स्थानमा टोलीमा समावेश गरिएको हो ।

नेपालको टोलीमा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, भीम सार्की, आशिफ शेख, ईशान पाण्डे, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी रहेका छन् ।

नेपालले पछिल्ला सिरिजहरूमा केही राम्रो नतिजा निकाले पनि अमेरिकाविरुद्ध भने लगातार संघर्ष गर्दै आएको छ । स्कटल्याण्डसँग भने नेपालले प्रतिस्पर्धात्मक खेल खेल्दै आएको छ ।

हाल अंकतालिकामा अमेरिका ३६ अंकसहित शीर्ष स्थानमा छ । स्कटल्याण्ड ३४ अंकसहित दोस्रो स्थानमा रहेको छ भने नेपाल १८ अंकसहित सातौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?