काठमाडौं । वातावरण व्यवस्थापन विभागले काठमाडौं उपत्यकामा सञ्चालित सवारीसाधनको प्रदुषण स्तर मापनका लागि स्थलगत जाँच अभियान सुुरु गरेको छ ।
विभागले बुधबार काठमाडौंको बबरमहलमा विशेष टोली खटाएर सार्वजनिक सवारीसाधनहरूको प्रदुषण परीक्षण गरेको हो ।
काठमाडौं महानगरपालिकाको संयोजन तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, वातावरण विभाग र महानगर प्रहरी बलको संयुक्त सहकार्यमा यो जाँच प्रक्रिया अघि बढाइएको हो ।
स्थलगत जाँचका क्रममा सवारीसाधनबाट उत्सर्जन हुने धुवाँको अवस्थाका अतिरिक्त ट्राफिक प्रहरीले सवारीको यान्त्रिक अवस्था र आवश्यक कागजातहरूको समेत सूक्ष्म निरीक्षण गरिरहेको विभागले जनाएको छ ।
विद्यमान कानूनी व्यवस्थाअनुसार सार्वजनिक सवारीसाधनले प्रत्येक ६–६ महिनामा र साना तथा मझौला सवारीसाधनले वर्षमा एक पटक यातायात कार्यालयमा अनिवार्य प्राविधिक जाँच गराउनुपर्ने प्रावधान छ ।
परीक्षणका क्रममा प्रदुषण मापदण्ड पूरा गर्न नसकेका सवारीसाधनलाई तत्काल मर्मत गरी पुनः परीक्षणका लागि विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । प्रदुषण परीक्षणमा असफल भएका सवारीसाधनको रुट इजाजत मापदण्ड उत्तिर्ण नहुन्जेलसम्मका लागि निलम्वन गरिने प्रावधान रहेको छ ।
त्यस्ता सवारीसाधनले आफूसँग रहेका यात्रुहरूलाई अन्तिम गन्तव्यसम्म पुर्याएपछि पुनः सडकमा गुडाउन पाउने छैनन् । सवारी धनीले आवश्यक मर्मतसम्भारपश्चात पुनः प्रदुषण जाँच गराएर मापदण्ड पूरा गरेको सुनिश्चित भएपछि मात्र सवारीसाधन सञ्चालनको अनुमति पाउने विभागले जनाएको छ ।
वातावरण संरक्षण र सहरी प्रदुषण नियन्त्रण गर्ने उद्देश्यले यो अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाइएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया