फिफाको अल्टिमेटम बोकेर राखेप पुगे एन्फा महासचिव, मे ४ भित्र निकास खोज्ने तयारी

लोकपथ
0
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बिच नेपाली फुटबलमा देखिएको पछिल्लो संकट समाधानका लागि औपचारिक वार्ता सुरु भएको छ ।

बिहीबार एन्फाका महासचिव किरण राईले राखेपका पदाधिकारीहरूलाई भेटेर फिफाले पठाएको पछिल्लो पत्र हस्तान्तरण गर्नुभएको हो ।

महासचिव राईकाअनुसार फिफाले आगामी मे ४ सम्मको समयसीमा तोक्दै नेपाली फुटबलमा देखिएको हस्तक्षेपको अवस्था अन्त्य गर्न पत्र पठाएको छ । राखेप, फिफा, एएफसी र एन्फाबीच यसअघि भएको भर्चुअल छलफलपछि फिफाले यो नयाँ पत्र पठाएको हो ।

राईले भने, ‘फिफाको पत्रमा मे ४ सम्म सस्पेन्सनको खतरा हट्नुपर्ने उल्लेख छ, त्यसपछि मात्रै अन्य विषयमा छलफल गर्न सकिने जनाइएको छ ।’

विवादको बिचमै एन्फाले वैशाख १४ गते सोमबारदेखि खेलाडीहरूलाई बन्द प्रशिक्षणमा बोलाउने निर्णय गरेको छ । यसलाई रणनीतिक चाल नभई फुटबलको दायित्व भएको राईले दाबी गरे ।

‘भोलि निकास निस्किहालेमा तयारी शुन्य नहोस् भनेर हामीले प्रशिक्षण सुरु गर्न लागेका हौँ । तयारी गर्दै जाँदा कुरा मिले हामी खेल्छौँ, मिल्दै मिलेन भने त रोकिएला,’ उनले भने ।

नेपाली फुटबल क्षेत्र अब केवल खेल मात्र नभई एउटा अर्ध–व्यवसायिक ‘उद्योग’ बनिसकेकाले यसमा आश्रित हजारौँ खेलाडी, प्रशिक्षक र रेफ्रीहरूको भविष्य संरक्षण गर्नु राज्य र संघको दायित्व भएको उनले बए ।

फुटबलमै निर्भर रहेका व्यक्तिहरूलाई न्याय दिनका लागि पनि छिटो निकास आवश्यक रहेको उनको धारणा छ ।

नेपालको खेलकुद कानून र फिफाको विधानबिच देखिएको नीतिगत टकरावका कारण समस्या उत्पन्न भएको भन्दै राईले इमान्दारीपूर्वक काम गरिरहेको दाबी गरे ।

राखेपसँगको वार्ता सकारात्मक रहेको र आगामी दिनमा पनि छलफल जारी रहने उनले जानकारी दिए ।

समर्थकहरूलाई आश्वस्त पार्दै उनले कुनै ‘अपराध’ नभएको र भविष्यका लागि दीर्घकालीन निकास निस्किनेमा आफू विश्वस्त रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?