एकाएक बजारमा किन आकाशियो केराको मूल्य ?

लोकपथ
21
Shares

काठमाडौं । किसानले आफूहरुले केराको मूल्य नबढाएको स्पष्ट पारेका छन् ।

बजारमा केराको मूल्य आकाशिएको बेला नेपाल केरा उत्पादक महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूहरुले केराको मूल्य बढाउन काम नगरेको स्पष्टीकरण दिएका हुन् ।

महासंघका अध्यक्ष विष्णुहरि पन्तले विचौलियाहरुले केराको मूल्य वृद्धि गरेको भन्दै तत्काल अनुगमन गर्न सरकारसँग माग समेत गरे ।

उनले बजारमा केराको अभाव भने रहेको स्वीकार गरे । तर किसानले भने त्यसको मूल्य नबढाएको महासंघले जनाएको छ ।

अध्यक्ष पन्तले भने, ‘राज्यको निकायबाट अनुगमन गरेर यो मूल्य किसानले साँच्चै बढाएको छ कि ? कतै बजारले नै चलखेल गरेको छ कि ? उहाँहरु सबैसँग बिल हुन्छ । र, त्यो किसानसँग प्रत्यक्ष सम्पर्कं गरेर उहाँहरुले होलसेलर वा कोसँग लिएर आउनु भयो । त्योसँग सम्पर्क गरेर बीचको ग्याप कहाँ गयो ? भनेर यो अनुगमन गर्ने काम राज्यको छ । तर म यति भन्नसक्छु कि किसानको तर्फबाट किसानको तर्फबाट मूल्य बढेको छैन भनेर म प्रतिवद्धता जनाउन चाहन्छु । अहिले बजारमा करिव ८० हजार मेट्रिक टन केरा चाहिन्छ । तर करिव ६० हजार मेट्रिक टन हाम्रो उत्पादन छ । साउन पछाडि केराको अभाव हुने छैन । किसानहरुले पर्याप्त उत्पादन गर्नेछन् ।’

महासंघले केराको न्युनतम समर्थन मूल्य निर्धारण गर्न पनि सरकारलाई सचेत गराएको छ । महासंघका अध्यक्ष पन्तले हाल बजारमा केरा माग अनुसार उपलब्ध नभएपनि आगामी साउनबाट सो समस्या नहुने जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?