के निर्वाचनका दिनसम्म पानी पर्न सक्छ ?

लोकपथ
238
Shares
सांकेतिक फाइल तस्बिर

काठमाडौं । देशभर आगामी शनिबारसम्म मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मंगलबार मुलुकका केही पहाडी भू–भागमा आंशिक बदली देखिए पनि वर्षाको कुनै सम्भावना नरहेको विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए ।

उनकाअनुसार कोशी प्रदेशका ताप्लेजुङ र संखुवासभासहित गण्डकी प्रदेशको कास्की जिल्लाका एक–दुई स्थानमा भने छिटपुट वर्षाको सम्भावना रहेको छ । तर यी क्षेत्रका सबै भूभागमा वर्षा हुने अवस्था नरहेको उनले बताए ।

उनले मंगलबारको तुलनामा बुधबारको मौसम केही खुल्ने अनुमान गरिएको समेत बताए ।

बुधबार पनि मुलुकका केही पहाडी क्षेत्रमा हल्का बादल लागेपनि उल्लेखनीय मौसमी जोखिम नदेखिएको पौडेलको भनाइ छ ।

उनले गर्मीयाम शुरु हुँदै जाँदा दिउँसो तापक्रम बढ्ने र बेलुकातिर पहाडी क्षेत्रमा बादल विकसित भई छिटपुट वर्षा हुने मौसमी प्रवृत्ति देखिनसक्ने भएपनि यस साताभरि वर्षा तथा हिमपातको कुनै सम्भावना नरहेको बताए ।

उनले भने, ‘शनिबारसम्मको मौसम सामान्यतः सफा नै छ । आज पहाडी भूभागमा केही बादल लागेको छ । त्यही पनि वर्षा भएको छैन । यद्यपि ताप्लेजुङ, संखुवासभा, गण्डकी प्रदेशका कास्कीलगायत एकदुई स्थानमा चााही छिटपुट वर्षा हुनसक्ने देखिन्छ । एकदुई स्थानमा यस्तो सम्भावना देखिन्छ । जिल्लाभरी चाँही होइन । आजको मौसम यस्तै छ । आजभन्दा भोली मौसम केही खुल्ने देखिन्छ । यद्यपि भोली पनि मुलुकका केही पहाडी क्षेत्रमा बादल लाग्ने देखिन्छ । त्यसबाट तर्सिनुपर्ने त्यस्तो केही पनि छैन । पर्सिको मौसम झन सफा नै छ । अबको विस्तारै गर्मीयाम सुरु हुन थालेकाले दिउँसो तात्दै जाने र बेलुकातिर पहाडी क्षेत्रमा बादल देखिनुका साथै छिटपुट वर्षा हुने समय आउने हो । यद्यपि यो हप्ताभरीमा त्यस्तो खालको अवस्था छैन । तर बिहीवार र शनिवारको हकमा चाँही गण्डकी, बागमती र कोशी प्रदेशका एकदुई स्थानमा हल्का बादलहरु देखिन सक्छ ।’

उनले मौसमी गतिविधिको कारण मतदान प्रक्रियामा कुनै असर नपर्ने समेत स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?