बाँके । २०८२ साल पुसको १७ गते बिहान बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ४ मा २४ वर्षीय एक युवक रगताम्मे अवस्थामा फेला परे । टाउको तथा शरीरभरि घाउ र रगत नै रगत लतपतिएको अवस्थामा सोही दिन बिहान २ बजेको समयमा स्थानीय प्रहरीलाई ‘झगडा भएको’ जानकारी आएपछि प्रहरी घटनास्थल पुगेको थियो ।
घटनाको जानकारी पाएलगत्तै पुगेको प्रहरीले गम्भीर अवस्थामा रहेका युवकलाई उद्धार गरी नजिकको सञ्जीवनी अस्पताल पुराएर उपचारको सुरुवात ग¥यो । आक्रमणकारीले युवकमाथि यति क्रुर आक्रमण गरेका थिए कि युवकको मृत्यु निश्चित छ भन्ने ठानेपछि मात्रै आक्रमणकारी घटनास्थलबाट भागेका थिए । अनि घटनास्थल तिनै युवकको गोठभित्रको एउटा कोठा थियो ।
जब युवक जीवित नै भेटिए र उद्धार गरेर सुरुमा सञ्जीवनी मेडिकल कलेजमा उपचारका लागि पुराइयो, त्यहाँ प्राथमिक उपचार गरेपछि अवस्था जटिल रहेको भन्दै न्युरो अस्पताल नेपालगञ्जमा रिफर गरियो । त्यहाँ पनि उपचार कठिन रहेको बताएपछि युवकका परिवारले सोही दिन थप उपचारका लागि युवकलाई लखनऊ पुराए ।

यता युवकका आफन्तहरूले बिहानैबाट हुलाकी राजमार्ग नै अवरुद्ध गरेर आक्रमणकारीमाथि कानुनी कारबाहीको माग गरे । युवकका आफन्तहरूले युवकलाई कुटपिट गर्नेहरू भन्दै ८ जनाको नाम लिए ।
यता रगताम्मे अवस्थामा सञ्जीवनी अस्पतालमा प्राथमिक उपचार हुँदै गर्दा युवकको होस खुलेपछि आफन्त र प्रहरीले अस्पतालमै युवकसँग सामान्य कुराकानी गरे । युवकले आफूलाई आक्रमण गर्नेहरूमा राजेश खटिक, रवि खटिक, रमेश खटिक, अनिता खटिक, जावेश खटिक, दुर्गेश खटिक, मोहन यादव र राधे भन्ने रामरुप यादव रहेको प्रारम्भिक जानकारी दिए । आक्रमणको कारण भने के हो आफूलाई पनि थाहा नभएको ती युवकले बताए ।
गम्भीर घाइते अवस्थामा उद्धार गरिएका युवक थिए, स्थानीय २४ वर्षीय सद्दाम खाँ ।
सद्दामसँग प्रारम्भिक कुरा भएसँगै सद्दामकी दिदीको तर्फबाट जिल्ला प्रहरी कार्यालय बाँकेमा ज्यान मार्ने उद्योगमा संलग्न भनिएका ८ जनाविरुद्ध बिहान १० बजे नै किटानी जाहेरी पर्यो । प्रहरीले घटना भएको भनिएको दिनको बिहानै किटानी जाहेरी लिएर अनुसन्धान सुरु गरेपछि सोही दिन अपराह्न ३ बजेतिर एक दलित महिला अधिकारकर्मी र एक युवक प्रहरी कार्यालयमा आई एक किशोरीमाथि जबरजस्ती करणी भएको भन्दै आरोप लगाए । पीडित किशोरीले समेत आफूलाई अपहरण गरी जबरजस्ती करणी भएको बताइन् । अचम्म त के थियो भने जबरजस्ती करणीमा को-कसको संलग्नता छ भन्ने सुनाउँदै किशोरीले मरणासन्न अवस्थामा उद्धार गरिएका तिनै सद्दामको समेत नाम लिइन् ।
बाँके प्रहरीले पीडितका तर्फबाट एक निवेदन लिएर तत्कालै विस्तृत स्वास्थ्य परीक्षण गरायो । स्वास्थ्य परीक्षणको क्रममा किशोरीको बायाँ तिघ्रा र बायाँ कुमको बाहिरी भागमा समेत कुटपिट भएको निसान देखियो । किशोरीले सुरुवाती चरणमा आफू शौचालय गएको समयमा ५ जनाको समूहले जबरजस्ती उठाएर लगी बलात्कार गर्न खोजिएको बताइन् । तर आफूले लात हानेका कारण आफूमाथि जबरजस्ती करणी भने नभएको प्रारम्भिक बयान दिइन् । प्रहरी कार्यालयमा मौकाको बयान वा घटना विवरण टिपाउने क्रममा आफूमाथि करणी भने हुन नपाएको र हालसम्म आफूले कसैसँग पनि यौनसम्बन्ध नराखेको बताइन् ।
किशोरीको स्वास्थ्य परीक्षणलगत्तै जाहेरी दिन प्रहरीले पीडित किशोरीका आफन्तलाई आग्रह गरे । किशोरीका आफन्त र किशोरीलाई साथमै लिएर आउने महिला अधिकारकर्मी टीका सुनारसहितको टोलीले किशोरीलाई साथी नामक संस्थाको जिम्मा लगाएर भोलिपल्ट अर्थात् पुस १८ गते जाहेरी ल्याउने भनी बिदा भए । जाहेरीका लागि पीडित किशोरीको आमा वा एकाघरका सदस्यबाट जाहेरी दिने भनियो ।
यता मरणासन्न अवस्थामा रहेका सद्दाममाथि नै बलात्कारको आरोप लाग्नु र किशोरीको उमेर १६ वर्ष मात्रै रहेका कारण प्रहरीले दुवै घटनालाई सूक्ष्म रूपमा हेर्यो । घटनाको दोस्रो दिन बाँके प्रहरीले किशोरीको आमालाई समेत प्रहरी कार्यालयमा ल्यायो । कुटपिटको घटनामा किशोरीको आमासमेत आरोपित भएकाले के भएको र घटना कसरी भयो भनी सोधपुछ गरियो । महिला प्रहरी आफैँ किशोरीको घरमा पुगेर किशोरीको आमालाई प्रहरीकै स्कुटरमा राखेर प्रहरी कार्यालयमा ल्याइएको थियो ।
प्रहरीले सोधपुछ गर्दा किशोरीको आमाले पनि किशोरीले भनेको जस्तै आफ्नी छोरी रातको १ बजे शौचालय गएको अवस्थामा ५ जनाको समूहले शौचालयबाटै छोरीको मुख थुनी अपहरण गरी लगेको र बलात्कार गरिएको बयान दिइन् ।
प्रहरीले किशोरीकी आमालाई जाहेरी दिन भने । किशोरीको आमा जाहेरी लेखाएर ल्याउँछु भन्दै त्यहाँबाट निस्किइन् ।
तर महिला भोलिपल्ट अबेला मात्रै जाहेरी लिएर आइन्, त्यो पनि असम्बन्धित व्यक्तिको समेत नाम राखेर । घटनामा संलग्नता नै नभएको र घटनास्थलमै नभएका व्यक्तिलाई समेत बलात्कार जस्तो जघन्य अपराधमा जाहेरी ल्याइएको, जाहेरीको सिलसिला, किशोरीले प्रहरीमा टिपाएको घटना विवरण कागज र निवेदनमा उल्लेख कुरा तथा आमाले प्रहरीसमक्ष पहिले टिपाएको घटना विवरण पनि बाझिएपछि प्रहरीले जाहेरी सच्याएर ल्याउन भने ।
त्यतिबेला स्थानीय १८ नम्बरका वडाध्यक्षका भाइ तथा स्थानीय व्यक्ति बब्लु बर्मा पनि जिल्ला प्रहरी कार्यालयमै पुगेका थिए । प्रहरीले जाहेरी मिलाएर ल्याउन भनेपछि उनीहरू गए तर जाहेरी ल्याएनन् ।
जाहेरी लिएर आउने भनी गएका पीडित किशोरी र उनकी आमा तथा दलित अधिकारकर्मी पछि जाहेरी लिएर नै आएनन् । प्रहरीले स्वास्थ्य परीक्षणसमेत गराइसकेका कारण किशोरीको आमा र आफन्तलाई जाहेरी लिएर आउन पटकपटक आग्रह ग¥यो । तर किशोरीका आफन्त र परिवार भने जाहेरी दिनै आएनन् । बरु एकाएक घटना भएको ५ दिनपछि मात्रै हुलाकमार्फत पीडित बालिकाको आमाको तर्फबाट प्रहरी कार्यालयमा जाहेरी आइपुग्यो ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४ को उपदफा ३ (क) मा हुलाकबाट पनि जाहेरी पर्न आएमा उक्त जाहेरीको सनाखत गरी दर्ता गर्नुपर्ने व्यवस्था रहेका कारण प्रहरीले जाहेरवाली महिलालाई सम्पर्क गर्ने र कार्यालयमा आई वा प्रहरी नै जाहेरवालीको घरमा गई जाहेरी दर्ता गर्ने कोसिस गर्यो । तर जाहेरवाली प्रहरीको सम्पर्कमा नै आउन चाहिनन् ।
किशोरीमाथि कसले किन गरेको थियो आक्रमण ?
लोकपथलाई प्राप्त पीडित किशोरीको आमाको एक भिडियो क्लिपमा पीडित किशोरीलाई ५ जनाको समूहले राति १ बजे अपहरण गरी लगेर जबरजस्ती करणी गर्दै गरेको अवस्थामा भेटेपछि कुटपिट गरेको बताएकी छिन् । भिडियोमा उल्लेख भएअनुसार रातको १ बजेको समयमा छोरी शौचालय गएको अवस्थामा शौचालयबाटै ५ जनाको समूहले छोरीको मुख थुनी अपहरण गरी लगेको बताइन्छ । त्यसको केही समयपछि छोरीको खोजी गर्दै जाँदा एक स्थानमा ५ जनाको समूहले छोरीमाथि बलात्कार गर्दै गरेको अवस्थामा भेटेको, कोही तौलिया मात्रै बेरेर बसेको र छोरी तथा सद्दामसमेत नग्न अवस्थामा भेटिएको बताएकी छिन् ।

छोरी र सद्दाम पनि नग्न अवस्थामा भेटिँदा अन्य आरोपी भागेको र किशोरी तथा सद्दामलाई किशोरीको बुवा तथा काकाले कुटपिट गरेको भिडियोमा उल्लेख छ । किशोरीको आमाले भिडियोमा बताएअनुसार छोरी र सद्दाम नग्न अवस्थामा भेटिएपछि किशोरीका बुवाले समेत लाठीले छोरी माथिसमेत आक्रमण गरेको र त्यसैबाट छोरीको बायाँ तिघ्रा तथा बायाँ कुममा समेत नीलडाम भएको बताएकी छिन् ।
किशोरीको आमाको दिएको उक्त ‘बयान’जस्तै किशोरीको स्वास्थ्य परीक्षण रिपोर्टमा समेत बायाँ तिघ्रा र कुममा नीलडाम रहेको र उक्त नीलडाम लाठी वा त्यस्तै वस्तुको आक्रमणबाट भएको उल्लेख छ । तर किशोरीले भने उक्त नीलडाम बलात्कारको कोसिस गर्नेहरूको आक्रमणबाट भएको डाक्टरलाई बताएकी थिइन् ।
के ‘बलात्कार पीडित’माथि नै परिवारले गरे आक्रमण ?
किशोरीको आमाको बयानअनुसार छोरी र सद्दाम नग्न अवस्थामा भेटिएपछि किशोरीका बुवा र काकाले दुवै जनामाथि कुटपिट गरेका थिए । किशोरीको आमाको बयानमा छोरीमाथि ‘मेरो मर्द’ अर्थात् महिलाका पति वा किशोरीका बुवाले आक्रमण गरेका हुन् । तर किन १६ वर्षीया छोरीमाथि बलात्कार वा बलात्कारको प्रयास हुँदा परिवारले उल्टै पीडित किशोरीमाथि नै आक्रमण ग¥यो त ? के किशोरी र ती युवक आपसी राजीखुसीमै सम्बन्धमा थिए वा घटना के थियो ? पहिलो त्यो बुझ्नु जरुरी छ ।
मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ मा जबरजस्ती करणी सम्बन्धी कसुरको बारेमा उल्लेख गरिएको छ । दफा २१९ को उपदफा १ मा जबरजस्ती करणी गर्न नहुनेबारे उल्लेख छ भने उपदफा २ मा १८ वर्षमुनिका बालिकासँग मञ्जुरी लिएर करणी लेनदेन गरेमा पनि त्यसलाई बलात्कार मानिने व्यवस्था छ ।
यस्तो अवस्थामा मञ्जुरी लिएर आपसी सहमतिमै यौन सम्बन्ध स्थापित गरेको भएपनि त्यो जबरजस्ती करणी नै मानिने व्यवस्था हुँदाहुँदै आखिर किन पीडित किशोरीको परिवारले ‘पीडित’माथि समेत आक्रमण गरे त भन्ने सवालको जवाफ खोज्नुपर्छ ।
यहीबीचमा ज्यान मार्ने उद्योगका पीडित युवक सद्दाम अस्पतालको आईसीयूबाटै राम्रोसँग बोल्न सक्ने र सम्झन सक्ने अवस्थामा पुगेका छन् । घटनाको ९ दिनपछि शनिबार मात्रै सद्दामले आफूमाथि किन र कसरी आक्रमण भयो र क–कसले कसरी र किन आक्रमण गरे भनेर विस्तृतमा बताएका छन् ।
सद्दामका आफन्तले लिएको भिडियो (जुन लोकपथसँग सुरक्षित छ) मा सद्दामले आफू र ती पीडित किशोरी सँगै सुतिरहेको अवस्थामा आफूहरूमाथि आक्रमण भएको बताएका छन् ।

ज्यान मार्ने उद्योगका पीडित २४ वर्षीय सद्दाम खाँ हुन्, जो विवाहितसमेत छन् । सद्दाम मुस्लिम समुदायका हुन् भने पीडित किशोरी हिन्दु समुदायकी । सद्दामले आफन्तलाई दिएको जानकारीअनुसार उनी र पीडित किशोरीबीच विगत ३ वर्षदेखि प्रेमसम्बन्ध चलिरहेको छ । सद्दामको गोठ र पीडित किशोरीको घर नजिकै छ भने कैयन् पटक सद्दाम र किशोरीले सँगै रात बिताएका छन् । सद्दामकै गोठमा सुत्नका लागि तयार पारिएको कोठा र बेडसमेत रहेको छ ।

गत पुस १७ गते पनि किशोरीले नै बोलाएपछि सद्दाम आफ्नो घर छाडेर गोठमा सुत्नका लागि पुगेका थिए । किशोरीले नै आफन्तको मोबाइलबाट मिसकल गरेपछि सद्दामले किशोरीलाई कलब्याक गरेका थिए । किनभने किशोरीसँग मोबाइल नभएकाले सधैँ झैँ आफन्तको मोबाइलबाटै मिसकल गरेपछि सद्दामले कलब्याक गरेका थिए । किशोरीले नै सद्दामलाई आउन आग्रह गरेपछि उनी गोठमा पुगेका थिए । सद्दामले किशोरीसँग रातको पौने १० बजे अन्तिमपटक कुराकानी गरेका थिए ।
त्यसपछि सद्दाम गोठमा पुगेको पाइएको छ । किशोरी पनि सद्दामको गोठमै राति नै आएको पाइएको छ । आफूहरू ३ वर्षदेखि प्रेम सम्बन्धमा रहेको र यसअघि नै यौन सम्बन्धसमेत राखेको सद्दामले बोलेको भिडियोमा उल्लेख छ ।
आफू र किशोरी सँगै सुतिरहेको अवस्थामा राति नै किशोरीका बुवा, लगायतका आफन्त र स्थानीयसमेत आएर आफू र किशोरीमाथि समेत कुटपिट गरेको सद्दामको भिडियोमा उल्लेख छ । आफूमाथि पटकपटक आक्रमण भएपछि आफू अचेत भएको र होस आउँदा अस्पतालमा पाएको सद्दामले बताएका छन् ।
लोकपथलाई प्राप्त केही फोटोमा किशोरी र सद्दामले सँगै बेडमा बसेर त्यसभन्दा पहिले नै खिचेको तस्बिरसमेत देखिन्छ । त्यसमा किशोरीले समेत मुस्कानका साथ ‘सेल्फी’ लिएका छन् । केही सेल्फी किशोरीले र अधिकांश सेल्फी सद्दामले लिएको देखिन्छ ।

त्यसबाहेक प्रहरीले सद्दामको मोबाइलसमेत नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्तासमेत रहेका डीएसपी दीपक पातलीका अनुसार सद्दामको मोबाइल प्रहरीको नियन्त्रणमा छ र त्यहाँ किशोरीसँगका केही फोटो, किशोरीले आफन्तको मोबाइलबाट ह्वाट्सएपमा गरेको कुराकानीको टेक्स्ट म्यासेज तथा भिडियो कल भएकोसमेत देखिएको छ । डीएसपी पातलीका अनुसार अहिले सद्दामको मोबाइलको समेत जाँच र अनुसन्धान भइरहेको छ ।
ज्यान मार्ने उद्योगको जाहेरी परेपछि मात्रै जबरजस्ती करणीको ठाडो निवेदन !
यो घटनामा १६ वर्षीया किशोरीसँग सहमतिमै यौन सम्बन्ध स्थापित गरिएको भएपनि त्यो जबरजस्ती करणी नै हुने कानुनी व्यवस्था छ । तर पीडित किशोरीको परिवारबाट राति १ः३० बजे भएको घटनाका सम्बन्धमा कम्तीमा भोलिपल्ट बिहानै जानकारी र जाहेरी आउनसक्ने भएपनि आएन । अचेत तथा रगताम्मे अवस्थामा भेटिएका सद्दामको उद्धार हुँदासमेत उजुरी, जाहेरी वा जानकारी आएन । बरु सद्दामको उद्धारलगत्तै सद्दामको दिदी अमिकल निसाले ८ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएपछि मात्रै जबरजस्ती करणीको ठाडो उजुरी पर्यो । प्रहरीले तत्कालै पीडित किशोरीको स्वास्थ्य परीक्षण गराएपनि सल्लाह गरेर जाहेरी लिएर आउने भनेका पीडितको परिवारका तर्फबाट जाहेरी नै ल्याइएन । बरु समयमै प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै हुलाकमार्फत पीडित किशोरीको आमाको तर्फबाट जाहेरी पठाइयो र जाहेरी सनाखत नगरी ‘प्रहरीले जाहेरी दर्ता गर्न नमानेको’ आरोप लगाइयो ।
अनि एकाएक पुस २५ गते शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर बाँके प्रहरीले जबरजस्ती करणीको जाहेरी दर्ता गर्न नमानेको र पीडितलाई न्यायिक प्रक्रियामा असहयोग गरेको आरोप लगाइयो ।
प्रहरीको दुई पन्ने खण्डन : केही व्यक्ति र समूह व्यक्तिगत स्वार्थ पूर्ति गर्न लाग्यो

त्यसको खण्डनमा आइतबार मात्रै बाँके प्रहरीले दुई पृष्ठ लामो प्रेस विज्ञप्ति जारी गर्दै पीडित किशोरीको स्वास्थ्य परीक्षण भइसकेको, सल्लाह गरेर जाहेरी लिएर आउँछौँ भनी गएका पीडितको परिवार र अधिकारकर्मीले कुनै जाहेरी नल्याएको, पुस २२ गते मात्रै हुलाकमार्फत जाहेरी पठाइएको र सनाखत गर्नका लागि जाहेरवाली सम्पर्कमा नआएका कारण जाहेरी दर्ता नसकिएको उल्लेख गर्यो । साथै जबरजस्ती करणीको कसुरमा प्रहरी संवेदनशील रही अनुसन्धान गरिरहेको र जाहेरी सनाखतका लागि सम्पर्कमा आउन आग्रहसमेत गरेको छ । साथै प्रहरीले कसैको दबाब वा प्रभावमा नपरी जबरजस्ती करणीको कसुरको अनुसन्धानमा सहयोग गर्न आग्रह गर्दै सनाखत हुनेबित्तिकै अगाडि बढ्न सहज हुने भन्दै सहयोग गर्नसमेत आग्रह गरेको छ ।
बाँके प्रहरीले उक्त घटनाको अनुसन्धान कार्यलाई प्रभावित पार्न केही व्यक्ति तथा समूह, सञ्चार माध्यम लागिपरेको र व्यक्तिगत स्वार्थ पूर्ति गर्न लागिपरेको, पीडितलाई दबाब र प्रभावमा पारिएको र अनर्गल प्रचारप्रसार गरी पीडितलाई थप पीडित बनाउने कार्य भएको भन्दै गम्भीर प्रकृतिको घटना भएकाले संवेदनशील भई अनुसन्धान कार्यमा सहजीकरण गरिदिनसमेत आग्रह गरेको छ ।
के भन्छन् घटनाका जानकारहरू ?
जानकार १ : टीका सुनार, महिला अधिकारकर्मी
यस घटनामा सुरुवाती समयमा साथ दिएकी महिला अधिकारकर्मी टीका सुनारले किशोरीको उमेर नपुगेको र उनी नाबालिग भएका कारण सहमतिमै सम्बन्ध भएको भएपनि त्यो बलात्कार नै हुने भएकाले उक्त घटना बलात्कार नै भएको बताइन् । लोकपथसँग कुरा गर्दै सुनारले भनिन्, ‘बलात्कारको कुरा आएपछि म प्रहरी कार्यालय र स्वास्थ्य परीक्षणका लागि अस्पतालसम्म सँगै गएकै हो । यद्यपि किशोरीको कुरामा एकरूपता थिएन । पहिलो दिन हामीले साथी नामक संस्थाको संरक्षणमा राख्न किशोरीलाई पठाएका थियौँ । दोस्रो दिन पनि हामी किशोरीका मामाको छोरा अर्थात् दाजु, किशोरीको आमा र म सँगै बसेर छलफल गरेर जाहेरी दिने भनेको हो । तर घटना विवरणका सम्बन्धमा किशोरीको आमाको कुरा पनि बाझियो । किशोरीको आमाले सँगै भेटेपछि छोरी र केटालाई कुटपिट गरेको हो भनेर भिडियोमै बयान दिनुभयो । प्रहरीले सत्य घटना जे भएको हो, त्यही लेखेर जाहेरी ल्याउनुस् भने । तर जाहेरी ल्याउँदा सिलसिला नमिलेको जसरी आयो । प्रहरीले सिलसिला मिलाएर घटनामा संलग्न भएकाहरूको नाम मात्रै राखेर ल्याउनुस् भनेपछि उनीहरू गए । पछि त मेरो र किशोरीको मामाको छोराको सम्पर्कमा पनि आएनन् । एकाएक काठमाडौं गएर पत्रकार सम्मेलन गरेको कुरा पो थाहा पाइयो ।’
जानकार २ : सतिश हेमकर (नाम परिवर्तन), पीडित किशोरीको दाजु नाताका व्यक्ति
जबरजस्ती करणी भएको कुरा मेरो जानकारीमा आएपछि सुरुमा मैले नै समन्वय गरेर टीका दिदीमार्फत प्रहरीकोमा लगेको हो । पहिलो दिन म दिनभर सँगै थिएँ । पीडितको तर्फबाट निवेदन दिई स्वास्थ्य परीक्षणसमेत गराइएको हो ।
पहिलो दिन साथी नामक संस्थाको जिम्मा लगाएर पठाइएकामा दोस्रो दिन जाहेरी दिने भनिएको थियो । तर पीडितको किशोरीको आमाको भनाइ र किशोरीको भनाइमा केही फरक प¥यो । प्रहरीले सिलसिला मिलाएर जाहेरी ल्याउन भने ।
तर जाहेरी ल्याउँदा घटना विवरण पनि नमिलेको र असम्बन्धित व्यक्तिको नामसमेत समावेश भएको भन्दै प्रहरीले फेरि जाहेरी मिलाएर ल्याउन भने । त्यसपछि उहाँहरू जाहेरी सच्याएर ल्याउने भन्दै जानुभएकोमा पछि आउँदै आउनुभएन ।
२२ गते हुलाकमार्फत जाहेरी आएपछि प्रहरीले मलाई सम्पर्क गरेको थियो । २३ गते म दिनभर प्रहरी कार्यालयमै बसेर समन्वय गरी जाहेरवाली अर्थात् किशोरीको आमालाई जाहेरी सनाखतका लागि ल्याउने कोसिस गरेँ । तर उहाँहरू त्यसपछि सम्पर्कमै आउनुभएन र एकाएक २५ गते काठमाडौंंमा गएर पत्रकार सम्मेलन गरेको थाहा पाएँ ।
जानकार ३ : बब्लु बर्मा, स्थानीय व्यक्ति
घटनाको तेस्रो दिन जाहेरी दिने कार्यमा प्रहरी कार्यालयमै पुगेका स्थानीय १८ नम्बर वडाका वडाध्यक्षका भाइसमेत रहेका बब्लु बर्माले पनि प्रहरीले जाहेरी दर्ता नगरेको नभई जाहेरी मिलाएर ल्याउन भनेको बताए । उनले भने, ‘जाहेरीमा भएको घटना र लेखिएको घटनामा धेरै भिन्नता थियो । अनि घटनामा संलग्नता नै नभएको व्यक्तिको समेत नाम हालिएको रहेछ । घटनास्थलमै नभएका व्यक्तिको नामसमेत हालेर ल्याएपछि प्रहरीले सत्य घटना मात्रै लेखेर जाहेरी ल्याउनुस् भनेको थियो । तर त्यसपछि उहाँहरू सम्पर्क नै आउनुभएन । पछि एकाएक काठमाडौंमा गएर पत्रकार सम्मेलन गरी प्रहरीले जाहेरी दर्ता गर्न नमानेको कुरा गरेको भिडियोहरू हेरेर थाहा पाएँ ।’
जाहेरी फिर्ता नलिए बलात्कारको केस हाल्ने धम्की दिएका थिए : सद्धामकी श्रीमती दरक्षा खातुन
यता गम्भीर घाइते अवस्थामा उद्धार गरिएका सद्धाम खाँका श्रीमती दरक्षा खातुनले घटनालगत्तै ज्यान मार्ने उद्योगमा जाहेरी दिएपछि आफूहरूलाई जाहेरी फिर्ता लिन धम्की दिइएको बताइन् । जाहेरी फिर्ता लिनका लागि स्थानीय डुडुवा गाउँपालिकाका अध्यक्ष पप्पु चौधरी भन्ने नरेन्द्रकुमार चौधरीका व्यक्तिले धम्की दिएको खातुनले बताइन् । जाहेरी फिर्ता नलिएमा परिवारका सबैलाई बलात्कारमा फसाइदिने भन्दै पप्पुका चालकलगायतका व्यक्तिले धम्की दिएको खातुनले लोकपथलाई बताइन् । तर आफूहरूले केस फिर्ता नलिएपछि बलात्कारको मुद्दा हालेको उनले बताइन् ।
खातुनले पहिले नै पति र किशोरीबीचको सम्बन्धबारे परिवारलाई जानकारी दिएकी थिइन्
यता सद्धामकी श्रीमती दरक्षा खातुनले किशोरी र आफ्नो पतिबीचको सम्बन्धको बारेमा आफूले पहिले नै थाहा पाएको र त्यो विषय किशोरीका परिवारलाई जानकारी दिई सम्झाइदिन भनेको बताइन् । उनले भनिन्, ‘उनीहरू दुवै सम्बन्धमा भएको कुरा ह्वाट्सएपको म्यासेज, भिडियो कल र फोटोबाट थाहा पाएँ । त्यसपछि मैले लड्कीका बुवा, आमा र काकालाई त्यसबारे भनेको थिएँ । तर उनीहरूले आफ्नो छोरी त्यस्तो नभएको र आरोप झूटो भएको भन्दै मलाई नै गाली गरे, अहिले यस्तो भयो ।’
खातुनका अनुसार पति सद्धामले त्यस दिन के भएको थियो र किन आक्रमण भयो भन्ने सम्बन्धमा समेत बताएको भन्दै त्यस दिन उनीहरू दुई जना मात्रै भएको र त्यसै बेला घेरेर आक्रमण गरिएको कुरा पतिले अस्पतालमा बताएको खातुनले बताइन् ।
दुई धर्म र समूहको द्वन्द्व, मारमा पीडित किशोरी र युवक
बाँकेमा भएको ज्यान मार्ने उद्योग र जबरजस्ती करणी प्रकरणमा सबैभन्दा पीडित भने किशोरी र स्वयं सद्दाम परेका छन् । यो घटनालाई कहिले हिन्दु र मुस्लिम धर्मसँग जोडेर त कहिले राजनीतिसँग जोडेर हेरिएको छ । युवकको पक्षमा लागेको भन्दै दुईपटक केन्द्रीय मन्त्री रहिसकेका एक राजनीतिज्ञ र स्थानीय तहको नेतृत्वमा रहेका एक व्यक्तिबीचको व्यक्तिगत इगो, धार्मिक आस्था आदिसँग जोडेर अनावश्यक प्रचार र आरोप प्रत्यारोप चलिरहेको छ ।
मुख्यतः ज्यान मार्ने उद्योगमा संलग्नलाई जोगाउनका लागि भएका प्रयास र ज्यान मार्ने उद्योगको कसुरलाई जबरजस्ती करणीको कसुरसँग ‘मिलापत्र’ गराउन दुवै पक्षहरू लागिपरेको आरोपित तथा पीडित युवकका आफन्तले लोकपथलाई बताए । ज्यान मार्ने उद्योगको जाहेरी फिर्ता लिए जबरजस्ती करणीको जाहेरीसमेत दर्ता नगर्ने गरी प्रस्ताव आएको सद्दामका आफन्तले लोकपथलाई बताए ।
बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीले दुवै घटनाको सूक्ष्मरुपले अनुसन्धान भइरहेको भन्दै दुवै घटनाको फरकफरक कोणबाट अनुसन्धान हुने र दुवै घटनाका दोषीले कानुनअनुसार सजायको भागीदार हुनुपर्ने बताए ।

‘जाहेरी दर्ता गर्न किन नमानेको’ भन्ने लोकपथको प्रश्नमा एसपी जिसीले जाहेरवालीले सनाखत गरिदिए तत्काल जाहेरी दर्ता गरेर कानुनी प्रक्रियामा जाने भन्दै आफूहरू जाहेरी सनाखत गर्न लागिपरेको बताए । तर पीडितका तर्फबाट आएको जाहेरी सनाखत गर्न उनीहरू नै सम्पर्कमा नआएको भन्दै सनाखत गरिदिए तत्कालै जबरजस्ती करणीको जाहेरी दर्ता हुने बताए ।
एसपी जिसीले ज्यान मार्ने उद्योगको जाहेरी भने दर्ता भएर कानुनी प्रक्रियामा गइसकेको बताए । करणीको सम्बन्धमा भने संवेदनशील भइदिन र पीडितको गोपनीयता कायम रहोस् भन्ने आफूहरूले चाहेको बताए । पीडितको स्वास्थ्य परीक्षणको सम्बन्धमा भने अहिले केही बताउन नमिल्ने जिसीले बताए ।
यतिबेला सद्दामको उपचार भारतको लखनऊमा रहेको एक अस्पतालमा भइरहेको छ । सद्दामको अहिले पनि आईसीयूमै राखेर उपचार भइरहेको छ र टाउकोमा गम्भीर चोट रहेको छ । साथै हातमा तीन ठाउँमा फ्याक्चर छ, यद्यपि स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र अहिले खतरामुक्त रहेको प्रहरीले जनाएको छ । बाँकेको प्रहरी टोलीसमेत घाइते सद्दामसँगै अस्पतालमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया