काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशमा निजी बैंकको शाखा खोल्न दिए चोरलाई चौतारो हुने टिप्पणी गरेका छन् ।
आइतबारको अर्थ समितिमा भएको बैंक तथा वित्तीय संस्थासम्बन्धि बाफिया विधेयकको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
सरकारी बैंकलाई दिने की निजी बैंकलाई शाखा खोल्न दिने बाफियामा प्रष्ट नभएको भन्दै निजीलाई दिए त्यो खतरनाक हुने बताए । उनकाअनुसार बैंकले गरेको अनुगमनका प्रतिवेदन गोप्य राख्न नहुने बताए । सांसद सुवालकाअनुसार अनुगमन गरेका प्रतिवेदन सार्वजनिक गर्नुपर्छ ।
उनले भने, ‘बैंकको शाखा विदेशमा खोल्न दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको रहेछ । निजी बैंकको शाखा खोल्न दिए चोरलाई चौतारो हुन्छ । विदेशी बैंकमा खाता खोल्न पनि दिनुहुँदैन । जिल्लाका बैंकमा खाता खोल्ने, कर्जा लिने वातावरण बनाउनुपर्छ ।’
उनकाअनुसार फौजदारी अभियोग लागेकाहरूलाई सार्वजनिक ठाउँमा जान दिनु हुँदैन । फौजदारी अभियोगमा पुष्टि भएपछि सार्वजनिक पदमा जान दिनु भनेको अपराध गर्न प्रोत्साहन गर्नु रहेको उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया