गृहमन्त्रीलक्षित सांसद शाहको कडा टिप्पणी : ‘अब उपदेश होइन, आचरण देखाउने बेला हो’

लोकपथ
469
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले गृहमन्त्री रमेश लेखकलाई भीजीट भीसा प्रकरणमा मौन बसेको भन्दै तीव्र आलोचना गरेका छन् ।

आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गृहमन्त्रीलाई ‘काफिला लुट्दा मौन बस्ने कायर रहबर’का रूपमा इतिहासले सम्झिने चेतावनी दिए ।

उनले सरकार यस गम्भीर विषयको छानबिन गर्नुको सट्टा मुखदर्शक बनेको आरोपसमेत लगाए । सांसद शाहले भीजीट भीसाको आवरणमा भइरहेको मानव तस्करीमा संलग्न व्यक्तिहरूलाई कडा कानुनी कारबाही गर्न माग गरे ।

‘भीजीट भीसामार्फत ठगिएका नेपाली नागरिकलाई न्याय दिन उच्चस्तरीय न्यायिक आयोग गठन गरिनुपर्छ,’ उनले माग दोहोर्‍याउँदै भने, ‘गृहमन्त्रीले यही सदनमा भन्नुभएको थियो । कुनै मन्त्रीमाथि प्रश्न उठे नैतिकताको आधारमा राजीनामा दिनुपर्छ । अहिले उहाँमाथि नै प्रश्न उठेको छ । अब उपदेश होइन, आचरण देखाउने बेला हो ।’

भीजीट भीसा प्रकरणको निष्पक्ष छानबिन र गृहमन्त्री लेखकमाथि नैतिक जिम्मेवारी स्वरूप राजीनामाको माग गर्दै रास्वपा सांसदहरूले संसद्मा निरन्तर सिर्जनात्मक विरोध गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?