काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा ५० वर्षसम्म नेपालको आवश्यकताका लागि पुग्ने मिथेन ग्याँस पत्ता लागेको बताएका छन् ।
शुक्रबार काठमाडौंस्थित ग्वार्को फ्लाइओभरको उद्घाटन कार्यक्रममा बोल्दै उनले हालै गरिएको अनुसन्धानले १ सय १२ मिलियन मेट्रिकटन मिथेन ग्याँस फेला परेको जानकारी दिए । तीन वटा कुवामध्ये एक कुवाबाट मात्र ५० वर्षसम्म नेपाललाई पुग्ने मिथेन ग्याँस उत्पादन सम्भव हुने उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले यो ग्याँस उत्खननको काम आफ्नो पहलमा सुरु भएको पनि उल्लेख गरे ।
त्यस्तै, धौवादी फलाम कारखानाको काम पनि तीव्र रूपमा अगाडि बढिरहेको जानकारी दिँदै उनले कारखाना सम्पन्न भएपछि नेपाललाई सय वर्षसम्म पुग्ने फलाम, आइरन र स्टिल उत्पादन हुने दाबी गरे ।
‘यसले मुलुकको अर्थतन्त्रलाई निकै अगाडि बढाउनेछ । विदेशिने मुद्रा नेपालमै रहन्छ र वार्षिक ठूलो आम्दानी हुनेछ,’ उनले भने ।
प्रधानमन्त्री ओलीका अनुसार यी परियोजनाहरूले देशमै रोजगारी सिर्जना गर्नेछ र अन्य खनिज उत्खननको ढोका पनि खोल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया