काठमाडौं । नेपाली कांग्रेसका नेता अफताब आलमलाई सफाइ दिने दुई न्यायाधीशहरु न्याय परिषद् तानिएका छन् ।
आज बसेको न्यायपरिषदको बैठकले आलमलाई ज्यान मुद्दामा उन्मुक्ति दिने न्यायाधीशहरु डा. खुसीप्रसाद थारु र अर्जुन महर्जन न्याय परिषद् तानिएका हुन् ।
पहिलो संविधान सभा निर्वाचनको अघिल्लो रात रौतहटमा बम विस्फोट गराई मान्छे मारेको कसुरमा आलम दोषी ठहर भएका थिए । जिल्ला अदालत रौतहटले दोषी ठहर गरे पनि उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा कार्यरत न्यायाधीशद्वय थारु र महर्जनको इजलासले सफाइ दिएको थियो ।
ज्यान मुद्दामा दोषी ठहर भएको व्यक्तिलाई सफाइ दिएको भन्दै केही दिन अघि थारुमाथि कार्यकक्षमा नै कालोमोसो समेत प्रहार भएको थियो ।
२०६४ साल चैत २७ गते राति बम विस्फोट भएको थियो । आलमको आफन्तको घरमा बम बनाइरहेको अवस्थामा बम विस्फोट हुँदा केही व्यक्ति घाइते भएका थिए । घाइते भएका व्यक्तिहरुलाई ज्यूँदै इटा भट्टामा जलाएको आरोपमा आलम दोषी ठहर भएका थिए । जिल्ला अदालतले दोषी ठहर गरे पनि उच्च अदालत जनकपुरको वीरगञ्जको अस्थायी इजसालका न्यायाधीशद्वय थारु र महर्जनले आलमलाई गत जेठ १४ गते सफाइ दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया