काठमाडौं । गृहमन्त्री रमेश लेखकले बजारमा वस्तुको कृत्रिम अभाव र कालोबजारी अन्त्य गर्नको निम्ति सरकार लागिपरेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित ‘आर्थिक वर्ष २०८२/८३ को बजेटले उपभोक्ता बजार आपूर्ति श्रृंखलामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लेखकले यस्तो बताएका हुन् । उनले वर्तमान अर्थ व्यवस्थामा सरकारले सबै कुरा गरेर सम्भव नहुने उल्लेख गर्दै निजी क्षेत्रको लागि वातावरण निर्माण गर्न र सहजीकरण गर्नको लागि सरकारले काम गर्नुपर्ने उल्लेख गरे ।
उनले दसैँ तिहारको बेलामा बजारमा कालो बजारी हुने तथा वस्तुको कृत्रिम अभाव सिर्जना काम हुने गरेको उल्लेख गर्दै यस्तो हुन नदिनको लागि सरकार प्रतिबद्ध रहेको बताए ।
उनले भने ‘हामी जुन सामाजिक अर्थ व्यवस्थामा छौँ । त्यसले सरकारले सबै कुरा गरेर सम्भव छैन । र कमसेकम यस्ता विषयहरू त निजी क्षेत्रले गर्छ । निजी क्षेत्रले काम गरिरहँदा सरकारले त्यसमा सहजीकरण गर्ने, निजी क्षेत्रलाई काम गर्ने उचित वातावरण पनि निर्माण गर्ने र त्यसमाथि उचित ढंगको नियमन पनि गर्ने काम सरकारको हो । बेला बेलामा बजारमा कृत्रिम अभावको कुरा पनि आउँछ । दसैँ तिहारको बेला भयो कि बजारमा कृत्रिम अभाव सुरु हुन्छ । त्यहाँनिर सरकारले काम गर्नुपर्यो । कृत्रिम अभाव हुन दिनुभएन । कालोबजारीको समस्या हुनसक्छ, त्यसका लागि मनिटरिङको काम त गर्नुपर्यो नि । यो कुरामा सरकार लागि पर्नेछ ।’
उपभोक्ताको सहज बजारको अधिकारलाई सुनिश्चित गर्नको लागि प्रमुख जिल्ला अधिकारीमार्फत निर्देशन दिइसकेको समेत गृहमन्त्री लेखकले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया