काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नागरिकता सम्बन्धी विधेयकलाई छिटो पारित गर्नुपर्ने बताएका छन् । मंगलबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेको हुन् ।
समितिमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा छलफल जारी छ । छलफलमा भाग लिँदै उपसभापति खड्काले सरकारले समितिमा ल्याएको नागरिकता सम्बन्धी विधेयकले के विषयलाई समेट्न खोजेको हो ? त्यो विषय स्पष्ट पारेर छिटो पारित गर्नुपर्ने बताए ।
तत्काल सेवाग्राहीले पाउनुपर्ने लाभ, सरकारले दिन खोजेको लाभ समयमै पाओस् भन्नेतिर बढी जोड दिनुपर्ने बताए । संवेदनशीलताको नाममा सदैव जटिलतामा नागरिकलाई पारिरहने काम गर्न नहुने उनको बनाइ छ ।
उनले भने, ‘यो ऐनबाट सरकारले जे कुरा एड्रेस गर्न ल्याएको हो, त्यसरी नै टुंग्याइदिउँ । ऐन बनाउँदै जाँदा, काम गर्दै जाँदा ऐनले तत्काल सेवाग्राहीले पाउनुपर्ने लाभ, सरकारले दिन खोजेको लाभ समयमै पाओस् भन्नेतिर हामीले जोड दिन जरुरी छ । त्यो भएन भने भावना हामी राख्दै गर्ने, तत्काल निर्णय गर्न सक्ने कुराहरू पनि ल्याएर जोडेर एकै चोटि सबै गर्छौँ भन्दा केही पनि नहुने हुन्छ । हामी उदार पनि बनौँ, संवेदनशीलतालाई असर पर्ने गरी पनि नजाऔँ । संवेदनशीलताको नाममा सदैव जटिलतामा हामी घुमिरहने, नागरिकले सधैँ दुःख पाइरहने काम गर्नु हुँदैन । कहीँ न कहीँ ब्रेक थ्रु गर्नुपर्छ ।’ उपसभापति खड्काले एनआरएनएका लागि पनि नागरिकता सम्बन्धी विधेयक छिटो ल्याउन आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया