काठमाडौं । १७ वर्षीया अस्मिता (नाम परिवर्तन) ले गतवर्ष आत्महत्या प्रयास गरिन् । उनलाई आत्महत्या प्रयासको चरणसम्म पुर्याउने कारण भने ठूलो थिएन । उनी मोबाइल हेरिरहन्थिन् । किशोरी छोरी एकोहोरो मोबाइलमा हराउँदा उनका बुवा आमालाई चिन्ता परेको थियो । बुवाले एकदिन छोरीको मोबाइल हेरे । केही कुराहरूमा छोरीलाई सम्झाए । त्यसपछि उनले सोचिन्, ‘मेरो पर्सनल स्पेस नै छैन यो घरमा ।’
‘यही कुरा मेरो मनमा निकै दिनसम्म चलिरह्यो,’ अस्मिता सुनाउँछिन्, ‘त्यसपछि यो घरलाई मेरो के आवश्यकता छ र भन्ने लाग्यो र यस्तो कदम चालो ।’ सौभाग्यवश उनको यो प्रयास आमाले थाहा पाइन् । त्यसपछि अस्पताल गएकी उनी लामो समय डाक्टरको परामर्शमा बसिन् । उनी अहिले पनि औषधि र परामर्शमा छन् ।
नेपालमा यस्ता आत्महत्या प्रयासबाट बाँचेकाहरूको संख्या दिनहुँ बढिरहेको छ । कलिलै उमेरमा आत्महत्या गर्नेहरूको दर पनि डरलाग्दो देखिन्छ । पछिल्लो ५ वर्षको आत्महत्याको दर हेर्ने हो भने पनि अवस्था जटिल देखिन्छ । विशेषतः किशोर किशोरी र वैदेशिक रोजगारीमा गएका प्रवासी नेपालीहरूले आत्महत्याको बाटो समातेको देखिन्छ ।
नेपाल प्रहरीले संकलन गरेको तथ्यांकअनुसार, २०७५/७६ मा मात्रै ५ हजार ७ सय ५४ जनाले आत्महत्या गरेका थिए । २०७९/८० मा यो संख्या बढेर ७ हजार ५८ पुगेको छ । नेपाल प्रहरी तथा इपिडिमियोलोजी विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा यो संख्या अझै बढेर ७ हजार २ सय २३ पुगेको छ ।
उमेर समूह अनुसार १५–२४ वर्षका युवायुवती र ४०–५५ उमेर समूहका प्रवासी कामदारहरू आत्महत्याको जोखिममा देखिएका छन् ।
उमेर समूह अनुसार १५–२४ वर्षका युवायुवती र ४०–५५ उमेर समूहका प्रवासी कामदारहरू आत्महत्याको जोखिममा देखिएका छन्
लिंगअनुसार पुरुषको आत्महत्या दर महिलाको भन्दा झन्डै १.५ गुणा बढी छ । तर आत्महत्या प्रयास गर्नेमा महिला धेरै छन् । यसरी आत्महत्याको बाटो समात्नेमध्ये धेरै जना कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्यसँग लडिरहेको पाइएको छ ।
१५–२९ वर्षका किशोर किशोरीको आत्महत्या दर उच्च देखिएको छ । राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा अनुसन्धानहरूले यो उमेर समूहलाई ‘सबैभन्दा जोखिममा रहेको’ समूह भनेका छन् । तनाव, परीक्षा/पढाइको दबाब, प्रेम सम्बन्ध, बेरोजगारी र सामाजिक अपेक्षाहरू यसको कारक ठानिन्छन् ।
२० देखि २४ वर्ष उमेर समूहमा आत्महत्याको दर सबैभन्दा उच्च देखिएको छ । विश्व स्वास्थ्य संगठनको दक्षिण एसियाली ट्रेन्डअनुसार पनि यो समूह संवेदनशील मानिन्छ । यो उमेर समूहका महिला र पुरुष दुवैले यो जोखिम मोल्ने गरेका छन् ।
मानसिक स्वास्थ्य सेवा कमजोर
नेपालमा मानसिक स्वास्थ्यको औपचारिक संरचना र नीतिगत पहुँच अति कमजोर छ । हालसम्म सरकारले मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवामा प्राथमिकता दिएको देखिँदैन ।
नेपालको मानसिक स्वास्थ्य नीति, २०७३ मा पहिलो पटक मानसिक स्वास्थ्यलाई एक स्वतन्त्र स्वास्थ्य अधिकारको रूपमा औपचारिक मान्यता दिइएको हो ।
उक्त नीतिमा प्रत्येक प्रदेशमा मानसिक स्वास्थ्य सेवा केन्द्र स्थापना, विद्यालय तहमा मानसिक स्वास्थ्य शिक्षा, बिरामीको गोपनीयता, प्रतिष्ठा र पुनःस्थापनाको हक लगायतका विषय समेटिएको छ । तर, कार्यान्वयन भने हुन सकेको छैन ।
२०८१/८२ को वार्षिक बजेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई झन्डै ८६.२४ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । तर बजेटमा मानसिक स्वास्थ्यका लागि छुट्टै शीर्षक तोकेर बजेट विनियोजन गरिएको छैन । बजेटमा पाटन मानसिक रोग अस्पतालको क्षमता विस्तार – आरोहणीय सेवा र आत्महत्या घटनालाई सम्बोधन गर्ने मात्रै उल्लेख गरिएको छ ।
संघीय अस्पतालहरूमा ‘आन्तरिक सेवा’ सञ्चालन– सम्पूर्ण संघीय अस्पतालमा मानसिक स्वास्थ्य विशेषज्ञ र सेवा सुविधा पुर्याउने लक्ष्यलगायतका केही बुँदाले मानसिक स्वास्थ्यलाई समेट्न त खोजेको छ । तर, स्पष्ट नीति भने छैन ।
जिल्लास्तरीय अस्पतालमा मनोचिकित्सकको अभाव छ । हाल नेपालमा कुल २ सय जना मनोचिकित्सक छन् । सरकारी स्वास्थ्य संस्थाहरूमा ८० प्रतिशतले मानसिक स्वास्थ्य सेवा दिँदैनन् ।
नेपालमा वार्षिक ५ लाखभन्दा बढी मानिस मानसिक रोगसँग जुधिरहेका छन्, तर परामर्श लिने संख्या १ लाख भन्दा कम छ ।
विदेशमा रहेका नेपाली कामदारहरूमध्ये ३० प्रतिशतले कुनै न कुनै रूपमा मानसिक समस्या भोगिरहेको अध्ययनहरूले देखाएका छन् । डर, अपमान, अपमानजनक श्रम, एक्लोपना, भाषिक अवरोध र परिवारको दबाबले उनीहरू आत्महत्याको मुखमा पुगिरहेका छन् ।
जलवायु र मनोस्वास्थ्यको सम्बन्ध
विश्व स्वास्थ्य संगठनले २०२३ को प्रतिवेदनमा उल्लेख गरेअनुसार, ‘जलवायु परिवर्तनले मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर पार्दछ । विशेषतः तापमान वृद्धि, प्राकृतिक विपत्ति र वायु प्रदूषणले डिप्रेसन र एंग्जायटीका रोगीहरू बढाउँछ ।’
नेपालजस्तो कमजोर संरचना भएको देशमा यसको असर झन् गम्भीर हुने विज्ञहरू बताउँछन् ।
नेपालमा मानसिक रोगीलाई अन्य रोगीलाई जस्तो व्यवहार गरिँदैन । अझै पनि मानसिक रोगसँग लडिरहेका मानिसहरूले खुलेर उपचार गराउन सकिरहेका छैनन् । उपचार गर्न नजानु, मनमा लागेका कुरा भन्न नसक्नु, भनिहाले पनि उनीहरूलाई गलत रूपमा बुझिनुले मानसिक रोगसँग लडिरहेकाहरूले आत्महत्या जस्तो जोखिम मोल्ने गरेको मनोपरामर्शदाता उमंगजंग शाहको भनाइ छ ।
आत्महत्याको प्रयासपछि पनि संयोगले बाँचेकी किशोरीले भनेकी थिइन्, ‘दुखेको शरीर देखिन्छ, तर दुखेको मन त गुमनाम हुने रहेछ ।’ उनको यो भनाइले पनि मानसिक रोगीहरू खुल्न सकिरहेका छैनन् भन्ने देखाउँछ । पछिल्लो समय भने तुलनात्मक रूपमा उपचारमा जाने मानसिक रोगीहरूको संख्या बुद्धि भएको छ ।
दोषी को ?
नेपालमा प्रतिदिन १५ देखि २० जनासम्मले आत्महत्या गर्ने गरेको विभिन्न अध्ययनले देखाएका छन् । आत्महत्या गर्नेमा महिलाभन्दा पुरुषको संख्या बढी छ । २०७९ सालमा मात्रै ३ हजार ९ सय ४२ पुरुषले आत्महत्या गरेका छन् । सोही अवधिमा आत्महत्या गरेका महिलाको संख्या २ हजार २ सय ५६ रहेको प्रहरीको तथ्यांक छ ।
तर, बालबच्चा र श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेका पुरुषको संख्या न्यून छ । पुरुषको तुलनामा आत्महत्याअघि आफ्ना बच्चाको हत्या गर्ने महिलाको संख्या बढी देखिन्छ ।
बालबच्चा र श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेका पुरुषको संख्या न्यून छ । पुरुषको तुलनामा आत्महत्याअघि आफ्ना बच्चाको हत्या गर्ने महिलाको संख्या बढी देखिन्छ
आत्महत्या भइसकेपछि कारणबारे बढी खोतल्ने गरिन्छ । आत्महत्या मानसिक रोग हो भन्दै दुई दशकयता यसको रोकथाम गर्न विभिन्न प्रयास भइरहेको सरकारी अधिकारीहरू बनिबनाउ जवाफ दिन्छन् ।
आत्महत्याका धेरैजसो कारण मानसिक रोगसँगै जोडिएका मनोपरामर्शदाता शाहको भनाइ छ । डिप्रेसनजस्तो मनोदशाबाट गुज्रिरहेको व्यक्तिले संसारलाई कसरी र कुन हदसम्म अन्धकार देख्छ भनेर विविध पक्षलाई केलाउँदा यसलाई आर्थिक, सामाजिक, राजनीतिक तथा स्वास्थ्य सेवा प्रवाहलगायतका थुप्रै पक्षले पृष्ठपोषण गर्ने उनको भनाइ छ ।
मानसिक समस्या भोगिरहेकालाई आत्महत्याबाट जोगाउन अत्यावश्यक भए पनि मनोचिकित्सा सेवा आम नागरिकको पहुँचमा पुग्न नसकेको मनोविद् शाह बताउँछन् ।
‘मानसिक रोगलाई रोगकै रूपमा बुझेर लाजको विषय होइन, उपचारको विषय बनाउनु अहिलेको सबैभन्दा गम्भीर जिम्मेवारी हो,’ शाह भन्छन्, ‘मानसिक स्वास्थ्य र जलवायु परिवर्तनको दोहोरो संकटले सिर्जना गरेको यो मौन महामारीलाई अब पनि बेवास्ता गरियो भने हामीले हरेक दिन गुमाइरहेका जीवनको मूल्य अझै धेरै चुकाउनु पर्नेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया