हामी शोक मनाइरहेका छौँ कि बेचिरहेका छौँ ?

बढ्दै गएको शोकलाई प्रदर्शन गर्ने संस्कृति

गत वैशाखको अन्तिम साता सुनसरीको दुहबी नगरपालिका–३ फुटानी चोकमा पिकअप भ्यान दुर्घटना भयो । उक्त दुर्घटनामा उदयपुरका ३० वर्षीय विरोध खतिवडाको मृत्यु भयो । प्रहरी सहायक निरीक्षक पदमा उदयपुरमै कार्यरत उनी साहित्यमा रुचि राख्थे । सामाजिक सञ्जालमा निकै लोकप्रिय उनको चिनजानको लहरो निकै लामो थियो । सानै उमेरमा ठुलो सर्कल बनाएका विरोधको मृत्युले उदयपुर मात्रै होइन, त्यो समय सामाजिक सञ्जाल स्क्रोल गर्दा सम्पूर्ण देश नै शोकाकुल देखिन्थ्यो । 

सामाजिक सञ्जालमा देखिएको समवेदना एकातिर छ भने उनको परिवारलाई परेको चोट अर्कोतिर । मध्यम वर्गीय परिवारका उनी एक्ला छोरा थिए । बुढा भएका बुवा आमा उनकै भरोसामा बाँचिरहेका थिए । २ वर्षअघि वैवाहिक बन्धनमा बाँधिएका उनकी श्रीमती कलिलो उमेरमै विधवा भएकी छिन् । यो सबै कुरालाई स्वीकार गर्नु उनीहरूको विवशता थियो । स्वीकार गरे । 

चिनजानको लहर लामो भएका विरोधको निधनपछि उनका बुवाआमालाई एकपटक पनि नभेटेका मानिसहरू पनि भेट्न गए । जानेहरूले विरोधको मुस्कुराइरहेको तस्बिरको मुन्तिर श्रद्धाञ्जली लेखे र परिवारलाई बुझाए । छोराको १३ दिनको काम सकिएपछि अरू आफन्त आ–आफ्नो गन्तव्यका लागि हिँडे । उनकी श्रीमती शिक्षिका हुन्, विद्यालय गइन् । मृतकका बुवा पनि काममा बाहिर निस्कन्छन् । मृतककी आमा अहिले हरेक दिन श्रद्धाञ्जली लेखिएका तिनै तस्बिरहरू अंगालेर रुन्छिन् । 

केही दिनअघि मात्रै तस्बिरमा मुस्कुराइरहेको छोराको मुस्कान घरभरि छरिन्थ्यो । अहिले घरभरि तस्बिर मात्रै छन् । आमाको आँखाले दिनमा हजारचोटि त्यो तस्बिरसँग भलाकुसारी गर्छ । कयौँ पटक तस्बिर अंकमाल गरेर रुन्छिन् । छोराको हँसिलो अनुहार शोकको प्रतीक बनेको छ । आमाले घरभरि जम्मा भएका आफ्नै छोराका तस्बिर अन्त कतै लैजान पनि सकेकी छैनन् । तस्बिरहरूले उनको घाउमा खाटा बस्न पनि दिएको छैन । 

भाइको मृत्युमा विक्षिप्त भएकी मृतककी दिदी आमाको यो अवस्थालाई लिएर झन् धेरै चिन्तित छन् । उनी बेला बेला सामाजिक सञ्जालमा आमा पनि गुमाउनु पर्छ की भन्ने भयले ग्रस्त रहेको अभिव्यक्ति व्यक्त गरिरहेकी हुन्छिन् । 

केही समय अघिसम्म परिवारका सदस्यको मृत्यु भएका खण्डमा घरमा भएका तस्बिरहरू पनि लुकाइदिने चलन थियो । आज भन्दा १० वर्ष अघि काठमाडौंकी रिता लुइँटेलकी २३ वर्षकी छोरीको मृत्यु भयो । छोरीको काजक्रिया सकेर नियमित काममा फर्किदा भित्तामा झुन्डाएका छोरीका तस्बिर थिएनन् । फोटो एल्बममा भएका फोटाहरू पनि आफन्तले लुकाइदिएका थिए । उनले छोरीको मृत्यु भएको लामो समयपछि बल्ल छोरीका तस्बिर निकालिन । त्यो पनि थोरै मात्रै । 

तर, पछिल्लो समय कसैको आफन्तको शोकमा बसेकाहरूलाई भेट्न जाँदा विचार होइन मृतकको तस्बिर बोकेर जाने ट्रेन बसेको छ । विगतमा मान्छेहरू शोकमा मौन बस्थे, शिर झुकाउँथे, भावुक आँखाले एक–अर्कालाई हेर्थे । अहिलेका मानिसहरू शोकमा समवेदना दिन जाँदा पनि हातमा क्यामरा बोकेर जान्छन् । मृतकको तस्बिर किरिया पुत्रीलाई दिन्छन् र फोटो खिचाउँछन् । त्यही फोटो सामाजिक सञ्जालमा पोस्ट गर्छन् र लेख्छन्– ‘हार्दिक श्रद्धाञ्जली ।’’

प्रश्न उठ्छ– हामी शोक मनाइरहेका छौं की शोकको प्रदर्शन गरिरहेका छौँ ? 

डिजिटल युगसँगै हाम्रो जीवन मात्र होइन, भावना पनि सार्वजनिक सम्पत्तिको रूपमा प्रस्तुत भइरहेका छन् । विशेष गरी सामाजिक सञ्जालले वेदना र आँसुलाई ‘कन्टेन्ट’ को रूपमा परिवर्तन गरिदिएको छ । केही दशक अघिसम्म दुःख व्यक्तिगत विषय थियो । नजिकका साथी वा परिवारसँग मात्र बाँडिन्थ्यो । तर आज, आफ्नै पीडालाई अरूको सामूहिक सहानुभूतिमा रूपान्तरण गर्ने दौड चलेको छ । कुनै प्रियको मृत्यु भएको छ भने पनि पहिला क्यामेरा अन हुन्छ । आँसु खस्नुभन्दा पहिले रेकर्ड बटन थिचिन्छ ।

कुनै प्रियको मृत्यु भएको छ भने पनि पहिला क्यामेरा अन हुन्छ । आँसु खस्नुभन्दा पहिले रेकर्ड बटन थिचिन्छ ।

डिजिटल युगसँगै सुरु भएको शोक प्रदर्शन गरिरहेकाहरूलाई हेरेर प्रश्न उठ्छ, के हामी साँच्चै अनुभूत गरिरहेका छौं वा केवल देखाइरहेका छौँ ? दुःखलाई ‘प्रस्तुति’ को शैलीमा किन बेच्नुपर्छ ? भावना देखाउनु गल्ती होइन, तर पीडालाई बिकाऊ बस्तु जसरी सोसल मिडियामा प्रचार गर्नु खतरनाक कुरा हो ।

हिजो भावना थिए, आज ‘कन्टेन्ट’ छन् । हिजो आँसु थिए, आज ‘भाइरल’ छन् । हाम्रो संवेदना अब आत्माभित्र होइन, एल्गोरिदमभित्र बाँच्न थालेको छ । 

नेपाली समाजको सामाजिक संरचनाले शोकलाई  निजत्वमा मात्र राख्न नदिने समाजशास्त्री प्रणब खरेल बताउँछन् । ‘हाम्रो समाजमा मृत्युको शोक १३ दिनसम्म सामूहिक रूपमा मनाउने प्रचलन छ,’ खरेल भन्छन्,  ‘अहिलेको टेक्नोलोजीले त्यो निजी स्पेसलाई कन्टेन्टमा बदलिदिएको छ ।’

शोक एक गहिरो मनोवैज्ञानिक प्रक्रिया हो, जसमा बाँच्नेहरूले गुमाएका व्यक्तिसँग सम्बन्ध बिस्तारै भुल्दै जानु पर्छ । तर फ्रेम गरिएको तस्बिर, त्यो पनि बारम्बार देखिने ठाउँमा राखिएको, सम्झनाको साटो निरन्तर पीडाको स्मृति बन्न सक्छ ।

तर, यसको पनि एउटै खाले डाइमेन्सन हुँदैन भन्छन् समाजशास्त्री खरेल । उनी भन्छन्, ‘समाजमा यसले पारेको प्रभावका बारेमा अध्ययन हुनै बाँकी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?