काठमाडौं । मोबाइल सेवाको एसएमएसमा फिसिङ लिंक पठाई ईसेवा वालेटबाट एक करोडभन्दा बढी रकम चोरी गर्ने एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुर कृष्णपुर १ का २२ वर्षीय राहुल बुढा रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले फिसिङ लिंकमार्फत हजारौँ नागरिकको ईसेवा खाताबाट रकम चोरी गर्ने बुढालाई सोमबार पक्राउ गरेको हो ।

कार्यालयका अनुसार, ‘THE ALERT, ‘AT ALERT’ जस्ता नामबाट पहिले एसएमएस पठाएर तपाईँको खाता निलम्बन हुन लागेको भन्ने झूटो सूचना दिइएको पाइएको छ । खाता सुचारु गर्नु पर्ने भएमा दिइएको लिंकमा क्लिक गर्नुहोला भनी लिंक पठाइएको पाइएको छ । उक्त लिंकमा क्लिक गर्दा फिसिङ साइटमा गई सेवाग्राहीको खातामा अनधिकृत पहुँच पुराएको पाइएको छ ।
एसएमएसमार्फत आएको लिंक खोल्दा ईसेवामा अनधिकृत पहुँच पुगेको र त्यसबाट करिब ४ हजार जनाको इसेवा खाताबाट १ करोडभन्दा बढी रकम ट्रान्सफर गरेको पाइएको छ । बुढाले सेवाग्राहीको ईसेवा खातामा पहुँच पुराई पशुपति ग्लोबल इन्नोभेसन प्रालिको खातामा रकम ट्रान्सफर गरी चोरी गर्ने गरेको पाइएको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा बुढाले १ करोड २ लाख रुपैयाँ बराबरको रकम चोरी गरेको पाइएको छ । पीडितहरुको उजुरीका आधारमा अनुसन्धान हुँदा बुढा नै यस्तो कार्यमा संलग्न रहेको पाइएपछि उनलाई सोमबार कालीमाटीबाट पक्राउ गरिएको हो । उनले चोरी गरेको रकम भने प्रहरीले रोक्का गरेर सुरक्षित राखेको छ ।
अनामनगरमा डेरा गरी बस्ने २२ वर्षीय बुढा आफैले रकम चोरी गरेको हो या अरू कसैले लगाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया