काठमाडौं । नेपाल प्रहरीको ३१औँ प्रहरी महानिरीक्षक (आईजीपी) मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा नियुक्त भएका छन् ।
बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले एआईजी थापालाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो ।
वर्तमान आईजीपी आज रातिबाट कार्यकाल सकिइ अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि नै सरकारले थापालाई प्रहरी प्रमुखको जिम्मेवारी दिएको हो ।
त्यसो त प्रहरी प्रखुख बन्न एआईजीद्वय टेकबहादुर तामाङ र सुदीप गिरी समेत प्रतिष्पर्धामा रहेका थिए । तर पहिलो नम्बरमा रहेका थापाले बाजी मारेका हुन् ।
थापा हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईजी) को नेतृत्वमा रहेका थिए । यता तामाङ उपत्यका प्रहरी कार्यालय र गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्रमुखको जिम्मेवारीमा रहेका छन् ।
नवनियुक्त आईजीपी थापाले भोलिबाट कार्यभार सम्हाल्नेछन् ।
थापा २०५२ साल भदौ २९ गतेबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट सेवा सुरु गरेका थिए । थापा २०२८ साल मंसिर ८ गते भक्तपुरको सिपाडोलमा जन्मिएका हुन् । कानुनमा एलएलबी, राजनीतिशास्त्रमा स्नातकोत्तर, जनप्रशासनमा एमपीएसम्मको अध्ययन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया