हिमाली जिल्लामा एचपीभी खोप अभियान आइतबारदेखि सुरु हुने

लोकपथ
189
Shares

काठमाडौं ।  प्रतिकूल मौसमले हिमाली जिल्लामा रोकिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान यही फागुन १८ देखि सञ्चालन गरिने भएको छ । हिमाली जिल्लाहरू मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा हिमपातका कारण खोप अभियानमा कठिनाइ भएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले मन्त्रालयको नियमित भिडियो ब्रिफिङमा मनाङ, मुस्ताङ र हुम्लामा फागुन १८ र डोल्पामा फागुन २२ गतेदेखि खोप अभियान सञ्चालन हुने जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले गत माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन गरेको यो अभियानमा कुल लक्ष्यको ९२ प्रतिशतले एचपीभी खोप लगाइसकेका छन् । ब्रिफिङमा प्रवक्ता बुढाथोकीले गत असोजमा बाढीबाट प्रभावित जिल्ला काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, सिन्धुली र ललितपुरका सात वटा स्थानीय तहमा एआई एक्सरेका माध्यमबाट क्षयरोगको सक्रिय खोजपड्ताल शिविर सञ्चालन गरिएको बताए । उनले कुल दुई हजार पाँच सय ९२ जनाको परीक्षण गर्दा १० जनामा क्षयरोग पुष्टि भएको र थप छ सय १५ जनामध्ये ५४ जनाको रिपोर्ट आउन बाँकी रहेको बताए।

त्यसैगरी उनले बाँकेमा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियानमा कुल लक्षित जनसङ्ख्यामध्ये ३१ दशमलव ९ प्रतिशतले औषधि सेवन गरिसकेको बताए। उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिकामा लक्षित जनसङ्ख्या दुई लाख ५७ हजार सात सय ६२ मध्ये २७ प्रतिशत, डुडुवा गाउँपालिकामा ४३ हजार ९ सय ७५ मध्ये ४२ दशमलव चार प्रतिशत, नरैनापुर गाउँपालिका ४४ हजार एक सय ४८ मध्ये ४० दशमलव नौ प्रतिशत र बैजनाथ गाउँपालिकामा नौ हजार छ सय ८४ मध्ये २३ दशमलव तीन प्रतिशतले औषधि सेवन गरिसकेको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?