काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबै काम सरकार आफैँले जिम्मा लिने प्रवृत्तिले समस्या सिर्जना भएको बताएका छन् ।
सबै क्षेत्रमा सरकारकै उपस्थिती रहँदा कामहरु हुन नसकेको भन्दै सरकारको स्पेसलाई घटाउनुपर्नेमा जोड दिए । पोखरामा जारी नेपाल लिट्रेचर फेस्टिभलमा बोल्दै पूर्वमन्त्री समेत रहेका थापाले सरकारले प्राथमिकताका आधारमा काम गर्न नसकेको समेत बताए ।
हामीले सरकारलाई चाहिने भन्दा बढी भारी बोकाइदिएका छौँ । नेपालको सन्दर्भमा यदी सबै समस्याको समाधान दिन सक्छ भने धेरै ठाउँमा सरकार नै रहनु भएन । सरकारलाई यति सानो बनाउनुपर्यो, सरकारको स्पेस यति घटाउनुपर्यो, सरकारको स्पेस बढी भएर समस्या भएको हो । जहाँ हुनुपर्ने हो त्यहाँ सरकारको स्पेस भएन,’ उनले भने ।
उनले पूर्वाधार विकासदेखि स–साना सबै किसिमका व्यवसायमा सरकारको संलग्नता हुँदा सरकार वास्तविक काम गर्नबाट अल्मलिएको टिप्पणी गरे ।
त्यस्तै सरकारले अहिले ल्याएका कतिपय अध्यादेशमा ०४८ सालपछि अड्किएका कानुनहरुलाई परिवर्तन गरी कामका लागि सहज बनाउने कुरा उल्लेख भएको स्पष्ट पारे ।
विभिन्न व्यवसायमा जोडिएका मानिसहरुलाई झण्झटमुक्त बनाउँदै काम गर्ने वातावरण सिर्जना गरेमा मात्र मुलुकले छिटो आर्थिक विकास गर्न सक्ने बताए ।
विकास निर्माणका लागि विभिन्न कानुनहरु नै बाधक रहेको भन्दै त्यसलाई खारेज गर्नुपर्नेमा जोड दिँदै एकले अर्कोलाई दोष दिएर पन्छिने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया