काठमाडौं । प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस घाटामा रहेको छ । गत आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन अनुसार नेपाली कांग्रेस २ करोड बढी घाटामा देखिएको हो ।
एक वर्षको अवधिमा नेपाली कांग्रेसले विभिन्न स्रोतबाट २ करोड ५९ लाख ८ हजार ७ सय ७५ रुपैयाँ आम्दानी गरेको छ । त्यसो त ०८०/०८१ आर्थिक वर्षमा कांग्रेसको खर्च भने आम्दानी भन्दा बढी देखिएको छ । सो अवधिमा नेपाली कांग्रेसले ४ करोड ९१ लाख ५६ हजार ३७५ रुपैयाँ खर्च गरेको छ । यसरी हेर्दा नेपाली कांग्रेसले २ करोड ३२ लाख ४७ हजार ५ सय ९९ रुपैयाँ घाटा व्यहोरेको छ ।
त्यसो त त्यसअघिको आर्थिक वर्षमा नेपाली कांग्रेसले ३ करोड ६४ लाख ७६ हजार २ सय ९७ रुपैयाँ आम्दानी गरेको थियो । सो वर्ष नेपाली कांग्रेसको खर्च ७ करोड, ९९ लाख ९५ हजार १ सय २१ खर्च गरेको थियो । यसरी हेर्दा सो वर्ष पनि कांग्रेस ४ करोड ३५ लाख १८ हजार ८ सय २३ रुपैयाँ घाटामा रहेको देखिन्छ ।
नेपाली कांग्रेसको मुख्य आम्दानीको स्रोत सदस्यता शुल्क, लेभी र नवीकरण शुल्क रहेको छ । ०८०–०८१ आवमा नेपाली कांग्रेसले सदस्यता, लेभी र नवीकरण वापत ७१ लाख ९८ हजार १ सय ६३ रुपैया, चन्दाबाट १ करोड ७३ लाख ९४ हजार ४ सय ३९ रुपैयाँ, विभिन्न जर्नल तथा प्रकाशनहरु बिक्रीबाट १८ हजार २ सय आम्दानी गरेको आयव्यय विवरणमा उल्लेख छ । त्यसो त सो अवधिमा नेपाली कांग्रेसले विभिन्न शीर्षकमा खर्च गरेको छ । जस अन्तर्गत कार्यालय सञ्चालनका लागि मात्रै ४ करोड ५४ लाख ६७ हजार ९ सय खर्च गरेको छ । त्यस्तै ह्रास तथा अपलेखनमा ३६ लाख ८८ हजार ४ सय ७५ रुपैयाँ खर्च गर्दा कुल खर्च ४ करोड ९१ लाख बढी देखिएको आयव्ययको विवरणमा उल्लेख गरिएको छ ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा राजनीतिक दलहरुको आयव्ययको लेखा परीक्षण गर्नुपर्ने प्रावधान रहेको छ ।
साथै उक्त परीक्षणको एक महिनाभित्र निर्वाचन आयोगमा पेस गर्नुपर्ने व्यवस्था रहेको छ । हालसम्म निर्वाचनमा आयोगमा ८८ वटा दलहरुले मात्रै आफ्नो प्रतिवेदन बुझाएका छन् । साथै आयोगले लेखापरीक्षण प्रतिवेदन प्रत्येक राजनीतिक दललाई आफ्नो वेबसाइटमा अनिवार्य रुपमा सार्वजनिक गर्न समेत ताकेता गरेको छ ।
त्यसो त अन्य दलहरु भने नाफामा देखिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया