नुवाकोट । नुवाकोटबाट त्रिशुली–छहरे–टोखा हुँदै काठमाडौं चल्ने सवारी साधनमा ‘टाइम कार्ड’ लागू गरिएको छ ।
पछिल्लो समय उक्त रुटमा चल्ने सवारी साधनहरुबीच प्रतिष्पर्धा हुँदा दुर्घटना बढेको भन्दै ‘टाइम कार्ड’ लागू गरिएको हो ।
नुवाकोट र काठमाडौं जोड्ने छोटो सडकखण्डका रुपमा रहेको छहरे–टोखामा पछिल्ला दिनहरुमा दुर्घटना बढिरहेका छन् ।
चालकहरुको अस्वस्थ प्रतिष्पर्धाका कारण दुर्घटना बढेपछि स्थानीय र सरोकारवाला निकायले ‘टाइम कार्ड’ को व्यवस्था गर्न माग गर्दै आइरहेका थिए ।
फागुन १२ गते बसेको सरोकारवालासँगको बैठकपछि उक्त रुटमा चल्ने सवारी साधनमा टाइम कार्ड लागू गरिएको नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईँले जानकारी दिए ।
‘विस्तार हुँदै गइरहेको शहरीकरण, बढ्दो सवारी चाप एवम् सवारी दुर्घटनाबाट हुन सक्ने विपद् जोखिमलाई मध्यनजर गरी त्यस्तो जोखिम न्यूनिकरण गर्न तथा यात्रालाई सुरक्षित, विश्वसनीय, भरपर्दो र मर्यादित बनाउन मिति २०८१ फागुन १२ गते सरोकारवालासहितको बैठकबाट भएको निर्णय अनुसार त्रिशुली–छहरे–टोखा काठमाडौं सडकखण्ड सञ्चालन हुने सबै सार्वजनिक यातायातका साधनहरुका लागि आगामी मिति २०६१ साल फागुन १५ गते बिहीबारदेखि लागू हुनेगरी सवारी साधन टाइम कार्ड लागू गरिएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी हुमागाईँद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
टाइम कार्ड लागू भएसँगै सार्वजनिक यातायातले स्वीकृत मापदण्डभित्र रही सवारी टाइम कार्ड अनिवार्य रुपमा चेकजाँच गराएर मात्रै सञ्चालन गर्न पाउनेछन् ।
प्रशासन कार्यालयले तोकिएको मापदण्ड अनुसार टाइम कार्ड अनिवार्य रुपमा चेकजाँच गराएर मात्रै सवारी सञ्चालन गर्न सम्बन्धित यातायात कम्पनी, सवारी चालक तथा सरोकारवालाहरुलाई निर्देशन समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया