म्याग्दीमा ठेक्काको अवधि सकिएपछि कालोपत्रे गर्न थालियो

लोकपथ
2.7k
Shares
फाइल तस्बिर

म्याग्दी । म्याग्दीको प्रवेशद्वारमा रहेको बेनी नगरपालिका–८ कालिपुल बसपार्क क्षेत्रमा ठेक्का अवधि सकिएपछि सडक कालोपत्रेको काम सुरु भएको छ ।

चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक, बेनी–जोमसोम–कोरला सडक योजनाले पर्वत हुँदै म्याग्दी प्रवेश गर्ने मोटरेबल पुलदेखि बगरफाँट जोड्ने झोलुङ्गेसम्म पाँच सय मिटर दूरीमा अक्सफाल्ट प्रविधिको कालोपत्रे गर्न थालिएको आयोजनाका इञ्जिनियर विष्णु चापागाईँले बताए।  

‘उक्त सडक कालोपत्रे गर्न २०८१ भदौ १४ गते बेनीको निर्माण कम्पनीले ९२ लाख ४१ हजारमा ठेक्का सम्झौता गरेको थियो, ‘उनले भने, ‘माघ मसान्तमा ठेक्का सम्झौताको अवधि सकिएपछि फागुन १ गतेदेखि लागू हुने गरी कुल रकमको दैनिक ०.०५ प्रतिशतका दरले निर्माण कम्पनीलाई हर्जना तिराइएको आयोजनाले जनाएको छ ।’ 

बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तम कुमार कर्माचार्यले जनप्रतिनिधि र स्थानीयवासीको दबाब, सम्बद्ध निकायले जरिवाना तिराउन थालेपछि निर्माण व्यवसायीले सम्झौता गरेको पाँच महिनापछि कालोपत्रे गर्न थालेका बताए । ‘सम्झौता लगत्तै कार्यस्थलमा आएको निर्माण कम्पनीले पुरानो कालोपत्रे भत्काएर बेस र सबबेस राख्ने र गत महिना बिटुमिन बिछ्याएको थियो, ‘उनले भने, ‘उक्त कम्पनीको कालोपत्रे गर्ने उपकरण नभएको र अरूका उपकरणमा भरपर्दा ढिलाइ भएको हो ।’

यसअघि विसं २०७६ चैतमा गरिएको डिबिएसडी प्रविधिको कालोपत्रे उप्किएर खाल्डाखुल्डी पर्ने, पानी जम्ने र धुलो भएको थियो । सक्षम ब्रर्दशका सञ्चालक मनोज कार्कीले मंगलबार रातिसम्म काम गरिएको, बुधबार शिवरात्रि पर्व भएकाले काम रोकिने र बिहीबार सम्पन्न गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?