सिरहा । इलाका प्रशासन कार्यालय लहानले अनलाइनबाट नागरिकता सिफारिस सेवा सुरुआत गरेको छ । सूचना अधिकारी शशिकुमार चौधरीले ४० वटै वडा कार्यालयबाट नागरिकले सहज ढंगबाट त्रुटिरहित र जन्म दर्तासँगै नागरिकता विवरणमा एकरुपता ल्याउने उद्देश्यले यो सेवा सुरु गरेको जानकारी दिए ।
गृह मन्त्रालयको योजनाअनुरूप वडा कार्यालयबाट अनलाइन प्रणालीमार्फत नागरिकता सिफारिस भएर आउँदा पहिलो दिन लहान नगरपालिका–१५ का अनुसार चौधरी र लहान नगरपालिका–१ का हेमशंकर साहुलाई नयाँ नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको इलाका प्रशासन कार्यालयका प्रमुख गोकर्णराज सुयालले जनाए ।
उनले भने, ‘वडामा अनलाइन दर्ता गर्दा केही कागजात अपुग भए अनलाइनमै इलाका प्रशासनले सच्याउन लगाउँछ । अनलाइन भइसकेका कागजात हेरेर नागरिकता दिने गर्छ ।’ विस्तारै कागज लिएर आउनु नपर्ने बनाउने कार्य भइरहेको उनले बताए ।
कार्यालयका अनुसार वडामा अनलाइन भरिसकेका सेवाग्राही कार्यालयबाट अब नागरिकता लिएर मात्र फर्किन्छन् । पहिलेजस्तो धेरैपटक दौडधुप गर्ने अब हुँदैन । इलाका प्रशासन कार्यालय लहनाको कार्यक्षेत्रमा लहान नगरपालिका, भगवानपुर गाउँपालिका, सखुवानन्कारकट्टी गाउँपालिकाका सबै वडा र धन गढीमाई नगरपालिकाको वडा नं १२, १३ र १४ यस्तै लक्ष्मीपुरपतारी गाउँपालिकाका वडा नं २, ६ र नवराजपुर गाउँपालिकाको वडा नं १ रहेको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया