काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीले थालेको तराई–मधेश जागरण अभियान छाडेर काठमाडौं आएका छन् ।
सोमबारबाट माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी कार्यक्रम अन्तर्गत जागरण अभियानका विराटनगर रहेका थिए । पार्टीका विभिन्न कार्यक्रम छाडेर बुधबार दिउँसो काठमाडौं आएका प्रचण्ड आज नै त्यहाँ फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका सांसदहरुलाई भेट्न प्रचण्ड एकाएक काठमाडौं आएका हुन् । सुदूरपश्चिममा दलको नेताका विषयमा माओवादीभित्र विवाद रहेको छ । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका नेताबाट खगराज भट्टलाई हटाएपछि विवाद सतहमा आएको थियो ।
२०८० माघ १२ गते सुदूरपश्चिमका बहुमत सासंदहरूले संसदीय दलका नेताबाट भट्टलाई हटाएर मानबहादुर धामीलाई बनाएका थिए । त्यसयता निरन्तर विवाद देखिएपछि विवाद समाधानका लागि प्रचण्ड काठमाडौं आएका हुन् । आज नै विराटनगर फर्किने र भोलि सुनसरीमा हुने जागरण अभियानमा प्रचण्ड सहभागि हुने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया