काठमाडौं । सशस्त्र प्रहरीको साधारण समूह र साधारण उपसमूहमा रिक्त रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदपूर्तिका लागि दरखास्त आह्वान भएको छ ।
बढुवा समितिको आज बसेको बैठकले बढुवाका लागि दरखास्त दिन आह्वान गरेको हो । बढुवाका लागि सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी) बंशीराज दाहालको नेतृत्वमा समिति गठन भएको थियो । सो समितिले आज एक सूचना जारी गर्दै सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ९ को उपनियम (१) क बमोजिम साधारण समूह तथा उपसमूह बमोजिम बढुवाका सम्भाव्य सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई तीन दिनभित्र आवश्यक कागजातसहित दरखास्त दिन आग्रह गरेको हो ।
‘…बढुवाका सम्भाव्य उम्मेदवार रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुले आफूले प्राप्त गरेको शैक्षिक योग्यता लगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रका प्रतिलिपिहरु संलग्न गरी ऐ. नियमावलीको नियम ५१ सँग सम्बन्धित अनुसूची–१३ बमोजिमको मूल्यांकन फारम भरी यो सूचना प्रकाशन भएको मितिले ३ (तीन) दिनभित्र श्री गृहमन्त्रालय, बढुवा समितिको सचिवालयमा पेश गर्नुहुन बढुवा समितिको मिति २०८१/११/०२ को निर्णयानुसार यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ ।
सशस्त्रमा हाल ३ जना डीआईजीको पद रिक्त रहेको छ । २ जनाको गत भदौ १६ र एक जना डीआईजीको पद गत माघ २३ गतेबाट रिक्त भएको छ ।
समितिले तोके बमोजिम कागजातसहित ३ दिनभित्र दरखास्त प्राप्त पश्चात उजुरी आह्वान हुनेछ । त्यसपछि कुनै पनि उम्मेदवारका हकमा उजुरी परेमा केही लम्बिनेछ नभएमा आवश्यक प्रक्रिया पूरा गरी नियुक्त गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया