होटलमा युवतीसँगै बास बसेका युवकको मृत्यु, युवती र होटल सञ्चालक पक्राउ

लोकपथ
1.6k
Shares

काठमाडौं । झापाको बिर्तामोडस्थित एभरेष्ट होटल एन्ड लजमा बास बसेका झापाकै हल्दिवारी–१ गोलधाप घर भएका ३० वर्षीय सागर बेस्राको आज बिहान शव फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दका अनुसार, गएराति उनी युवतीसँगै होटलमा बास बसेका थिए । उनको शव फेला परेपछि प्रहरीले उनीसँगै बसेकी युवती र होटल सञ्चालक महिलालाई पक्राउ गरेको छ । 

डीएसपी चन्दले पक्राउ पर्ने युवतीमा सुनसरी घर भएकी २३ वर्षीया मुना विक र होटल सञ्चालक महिला ४८ वर्षीया यामकुमारी उप्रेती रहेको बताए । सागरसँगै बास बसेकी युवती मुना सुनसरीको धरान–१५ घर भई हाल झापामा बसोबास गर्दै आएकी थिइन् । 

गएराति खाना खाएर उनीहरू सँगै सुतेका थिए । सागर राति कोठाभित्र बाथरुमको ढोकाको छेउमा लडेर बेहोस भएको अवस्थामा आफूले देखेको बयान युवती दिएकी छन् । त्यसपछि उनलाई युवती र होटल सञ्चालक महिलाले उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पुर्‍याएका थिए ।

चिकित्सकले जाँच गर्दा उनको पहिल्यै मृत्यु भइसकेको पाइएको डीएसपी चन्दले बताए । मुना र यामकुमारीलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?