चितवनमा पनि रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दायर, बिगो रकम ५६ करोडभन्दा बढी

लोकपथ
259
Shares

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज मंगलबार चितवन जिल्ला अदालतमा सहकारी ठगी अभियोगमा मुद्दा दर्ता भएको छ ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा उनीसहितका १५ जनाविरुद्ध मुद्दा दर्ता भएको हो । यस्तै, ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता भएको छ ।

रविलाई सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको छ भने अन्य १२ जनालाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।

प्रहरीको अनुसन्धान प्रतिवेदनमा यो सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने राय प्रहरीको छ ।

सहकारी संस्थाको बचत हिनामिना र ठगी प्रकरणमा लामिछानेसहित १० जनाविरुद्ध ७ मंसिरमा चितवनबाट पनि पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी हुँदा उनी सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा थिए । कास्कीबाटै बयानका लागि उनलाई चितवन लगिएको थियो । त्यहाँ उनीसँग मंसिर १८ र १९ गते दुई दिन गरी २३ घन्टा वयान लिइएको थियो ।

यसअघि रवि लामिछाने विभिन्न जिल्लाका सहकारीको मुद्दाबाट धरौटी रकममा छुटेका थिए । सुरुमा कास्कीको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख, त्यसपछि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा ६५ लाअ र रुपन्देहीको सुप्रिम सहकारीको मुद्दामा एक करोड धरौटी बुझाएर उनी छुटेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?