प्युठानमा ६९ वर्षीय वृद्धको हत्या, दुई जना पक्राउ

लोकपथ
49
Shares

काठमाडौं । प्युठानको गौमुखी गाउँपालिका–५ का ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गौमुखी गाउँपालिका–५ का ५१ वर्षीय लोकबहादुर गिरी र सोही ठाउँ बस्ने ५० वर्षीया जेदुकुमारी न्यौपाने छन् ।

उपाध्यायको शव १८ माघको बिहान साढे ८ बजेतिर गौमुखी गाउँपालिका–५ उपल्लो फुर्सेधारास्थित खुङ्ग–नारिकोट जोड्ने कच्ची भित्री सडकमा फेला परेको थियो ।उपाध्यायको टाउको, अनुहार, नाक, मुखमा समेत गहिरो चोट देखिएको थियो ।
शवको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय प्युठानबाट डीएसपी दीपेश बस्यालसहितको टोली घटनास्थल गएको थियो ।

प्रहरी टोलीले शवको मुचुल्काका क्रममा हत्या भएको ठहरसहित अनुसन्धान अघि बढाएको थियो । सो क्रममा २४ घण्टा नबित्दै हत्या आरोपितलाई पक्राउ गर्न सफल भएको डीएसपी बस्यालले बताए ।

अनुसन्धानका क्रममा गाउँकै लोकबहादुर र जेदुकुमारीले योजना बनाएर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । ‘फोनमार्फत जेदुकुमारीले उपाध्यायलाई बोलाएको र त्यसपछि दुई जना मिलेर हत्या गरेको पाइयो,’ प्रहरीले भनेको छ, ‘उपाध्यायलाई उनीहरुले ढुंगाले हानेर हत्या गरेको खुलेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?