सर्वोच्चले ६१ थान कार किन्न थाल्यो प्रक्रिया, फेरि पनि सिन्डिकेटकै तयारी

लोकपथ
3.8k
Shares

काठमाडौं । जिल्ला तथा उच्च अदालतका न्यायाधीश र कर्मचारीका लागि भन्दै सर्वोच्च अदालतले ६१ थान कार खरिदका लागि प्रक्रिया थालेको छ । सर्वोच्च अदालत श्रोतका अनुसार यस आर्थिक वर्षका लागि ६१ थान कार किन्न प्रक्रिया सुरु गरिएको हो ।

जिल्ला तथा उच्च अदालतका न्यायाधीश र सहसचिव भन्दा माथिका कर्मचारीका लागि भन्दै यस आर्थिक वर्षमा ६१ थान ह्याचब्याक कार किन्न लागिएको हो । कार किन्नका लागि अहिले सर्वोच्च अदालतले मापदण्ड तयार पारिरहेको छ । मापदण्ड तयार पार्नका लागि अहिले सर्वोच्च अदालतले नेपाल सरकारबाटै मेकानिकल इन्जिनियर माग गरी स्पेशीफिकेसन निर्माणको कार्य भइरहेको छ ।

सर्वोच्च अदालत श्रोतका अनुसार यस वर्ष अधिकतम ३५ लाख रुपैयाँसम्मको ६१ थान कार किन्ने गरी तयारी भएको हो । गत वर्ष भने यो सिलिङ ३१ लाख ५० हजार रुपैयाँको थियो ।

पुरानै सिन्डिकेटलाई निरन्तरताको तयारी
सर्वोच्च अदालतले यस वर्ष खरिद गर्न लागेको कार पनि यसअघि विक्री जुन कम्पनीबाट कार ल्याइएको थियो, सोही कम्पनीको कार ल्याउने तयारी भएको श्रोतले जनाएको छ । सर्वोच्च अदालतमा विगत लामो समयदेखि लक्ष्मी इन्टरकन्टिनेन्टलको हुण्डाई कम्पनीको कार मात्रै ल्याइने गरिएको छ । प्रधानन्यायाधीश अवकाशमा जाँदा सुविधामा पाइने कार पनि हुण्डाईकै क्रेटा कार किन्ने गरिएको छ ।

अहिले सर्वोच्च अदालत प्रशासनले मेकानिकल इन्जिनियरलाई दिएको टिओआरमा पनि पुरानै कम्पनीको कार छनोट हुने गरी मापदण्ड निर्धारण गर्न निर्देशन दिइएको श्रोतले बताएको छ ।

गत वर्ष सर्वोच्चले किनेको थियो ६८ थान हुण्डाई म्याग्ना कार
सर्वोच्च अदालतले गत वर्ष ६८ थान हुण्डाईको म्याग्ना कार खरिद गरेको थियो । हुण्डाईको ग्रान्ड आइ टेन म्याग्ना खरिद गर्दा सर्वोच्च अदालतले तयार पारेको स्पेशीफिकेसन र मूल्यका हिसाबले हुण्डाईको म्याग्ना कार मात्रै छनोट हुने गरी स्पेशीफिकेसन निर्माण गरिएको आरोप लागेको थियो । स्पेसीफिकेसनमा छलछाम भएको भनी एक कार कम्पनीको नेपालको आधिकारिक विक्रेताले सर्वोच्च अदालतमा स्पेशीफिकेसन निर्माण गर्दा नै एक मात्रै छनोट हुने गरी निर्माण भएकाले परिमार्जन गरिदिन लिखितरुपमा आग्रह गरेको थियो ।

तर तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निर्देशनमा एकल टेन्डर पर्दासमेत टेन्डर रद्द नगरी सम्झौता गरिएको थियो । त्यति बेला बोलपत्र दिने कम्पनीमा हुण्डाईको ग्रान्ड आइ टेन म्याग्ना मात्रै रहेको थियो भने अधिकतम मूल्य ३१ लाख ५० हजार तोकिएकामा हुण्डाईले सोही मूल्यमा बोलपत्र पेस गरी एकल प्रतिस्पर्धीका रूपमा टेन्डर हात पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?