स्काउटमा समय सापेक्ष सुधार आवश्यक छ : मन्त्री श्रेष्ठ

लोकपथ
0
Shares

काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले नेपाल स्काउटले आफूलाई समय सापेक्ष परिवर्तन गर्नुपर्ने बेला भएको बताएका छन् ।

बुधबार ७३औँ स्थापना दिवसको अवसरमा काठमाडौंको लैनचौरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले स्काउटले आफ्नो स्थापनाको उद्देश्य र जरा नविर्सिकन समय सापेक्ष भई अघि बढ्नुपर्ने सुझाव दिए । उनले डिजिटल स्काउटिङको आवश्यकता औँल्याउँदै त्यसतर्फ ध्यानाकर्षण गराए ।

कार्यक्रममा शुभकामना दिँदै मन्त्री श्रेष्ठले भने, ‘स्काउट अब समय सापेक्ष हुनुपर्छ । त्यो भनेको २१औँ शताब्दिमा धेरै जसो संस्थाहरु समय सापेक्ष बन्न खोज्ने क्रममा आफू को हो र के का लागि स्थापना गरेको भन्ने नै विर्सने बानी छ यहाँ । तर नेपाल स्काउटले २१औँ शताब्दि सापेक्ष हुने आफ्नो जरा, माटोलाई नबिर्सिकन मूल्य मान्यता अगाडि बढाउनु पर्छ ।’

यस्तै, स्काउटले आफ्नो कार्य र जिम्मेवारी राम्रोसँग निर्वाह गर्दै आइरहेको चर्चा गर्दै उनले ‘वारियर अफ् द नेचर’ र ‘प्रोटेक्टर अफ द कल्चर’को टाइटल दिनुपर्ने बताए । उनले त्यो सँगै सापेक्ष स्काउट बनाउनका लागि स्काउटको डिजिटल रुपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।

‘सबै कुरा डिजिटलमा सिफ्ट हुँदै जाँदा सामाजिक गतिविधि पनि त्यहाँ हुने भएकाले डिजिटल स्काउटिङ आजको आवश्यकता हो । यसमा गम्भीर हुन आग्रह गर्छु,’ मन्त्री श्रेष्ठले भने । मन्त्री श्रेष्ठले सामाजिक, सांस्कृतिक पक्षको कार्यसँगै विश्वव्यापी चुनौतीको रुपमा आएको मानसिक स्वास्थ्यको मुद्दामा समेत स्काउटले काम गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?