कञ्चनपुर । पुरुषबाट महिलामाथि हुने हिंसाको सङ्ख्या बढ्दै गएको राष्ट्रिय महिला आयोगले जनाएको छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सोमवार स्थानीय तहमा महिला विकाससम्बन्धी सम्पादित कार्यक्रमको नमूना परीक्षण कार्यक्रममा आयोगका उपसचिव मीरा सेरचनले नेपालको सामाजिक संरचना, मूल्य, मान्यता तथा सोचका कारण पुरुषमा हुने हिंसाभन्दा पुरुषबाट महिलामाथि हुने हिंसाको सङ्ख्या बढ्दो रहेको बताए ।
उनका अनुसार आयोगमा चालू आवको हालसम्म आर्थिक हिंसाका ६ सय ४९, शारीरिक हिंसाका ५ सय ८५ र मानसिक हिंसाका ४ सय ५९ उजुरी दर्ता भएका छन् । आयोगमा परेका उजुरीमध्ये घरेलु हिंसाका मात्रै ८३ प्रतिशत उजुरी छन् । महिला हिंसाका १७ प्रतिशत उजुरी दर्ता भएको उपसचिव सेरचनले बताए ।
कानूनी कागजातको समस्या परेका उजुरीको सङ्ख्या २ सय ९१ छ । आयोगमा आव २०७४/७५ मा घरेलु हिंसा र महिलाविरुद्ध हुने हिंसाका ८ सय ३८ उजुरी दर्ता भएका थिए । जसमध्ये घरेलु हिंसातर्फ ७ सय ६६ दर्ता भएका थिए । सोही अवधिमा शारीरिक हिंसा ३ सय ८८, मानसिक हिंसा ४ सय ३६, आर्थिक हिंसा २ सय ९८, यौनजन्य हिंसा ५८ उजुरी आयोगमा परेका थिए ।
घरेलु हिंसामा दर्ता भएका उजुरीमध्ये मानाचामल, सम्बन्धविच्छेद, अंशवण्डा, शारीरिक हिंसामा बढी उजुरी दर्ता भएका छन् । आयोगमा परेका ८ सय ३८ उजुरीमध्ये १ सय ३१ को मेलमिलाप पद्धतिद्वारा किनारा लगाइएको आयोगको अभिलेखमा उल्लेख गरिएको छ ।
आयोगका अनुसार विगतको तुलनामा घरेलु हिंसा ३५ दशमलव ६३ प्रतिशतले बढेको पाइएको छ ।
आयोगको उपसचिवसहितको टोलीले नगरपालिकाका जनप्रतिनिधिसँग बालविवाह, बहुविवाह, लैङ्गिक हिंसा, दाइजोप्रथा, छाउपडी प्रथा, मानव बेचबिखनको अवस्था, कुरीति, अन्धविश्वास, स्थानीय तहमा महिला समावेशिताका कुराबारे जानकारी लिएको छ ।
टोलीले महिलाको शिक्षाको अवस्था, स्वास्थ्यमा पहुँच, महिलाको आर्थिक अवस्थामा परिवर्तन ल्याउन ल्याएका योजना तथा नीति, रोजगारको अवस्था, ऐन, कानून निर्माण गर्दा महिला समावेशिता र न्यायिक समिति गठन, पूर्वाधार र जनशक्तिबारे जानकारी लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया