दुई शव फेला

बलेवा । बागलुङको बडिगाड गाउँपालिका र जैमिनी नगरपालिकामा दुई पुरुष व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ । 

बडिगाड गाउँपालिका–८ नेटाको जङ्गलमा सडेको अवस्थामा बागलुङकै तमानखोला गाउँपालिका–२ का बमबहादुर घर्तीको शव फेला परेको हो । सोमवार बिहान घाँसदाउराका लागि जङ्गल पुगेका स्थानीयवासीले घर्तीको कङ्काल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनको शव पूरै सडेको अवस्थामा भए पनि उनले लगाएको चप्पल र कपडाले पहिचान भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक झवेन्द्र भट्टराईले जानकारी दिए । घर्ती चार महीनाअघिदेखि बेपत्ता थिए । मानसिक समस्या रहेका उनलाई परिवारले खोजी गरिरहेको भए पनि सोमवार मात्रै उनको शव जङ्गलमा फेला परेको हो ।

उनको शव परीक्षणका लागि प्रहरीले धवलागिरि अञ्चल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । 

त्यस्तै जिल्लाको जैमिनी नगरपालिका–८ को कालीगण्डकी नदीकिनारमा एक व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेको प्रहरी नायब उपरीक्षक  भट्टराईले बताए ।

शवको पहिचान हुनसकेको छैन । शव परीक्षणका लागि जिल्ला सदरमुकामस्थित धवलागिरि अञ्चल अस्पताल ल्याइएको छ ।

त्यस्तै जिल्ला सदरमुकाम बागलुङ बजारको श्रीनगरटोलमा सोमवार दिउँसो हिँड्दाहिँड्दै एक व्यक्तिको ज्यान गएको छ । नवलपरासी ‘पश्चिम’ सुनवल नगरपालिका–७ घर भई हाल बागलुङ बजारमा ज्याला मजदुरी काम गर्दै आएका अन्दाजी ३८ वर्षीय खुमानन्द पौडेलको हिँड्दाहिँड्दै निधन भएको हो ।

बाटोको छेउमा रगत बान्ता गरी पल्टिएपछि उपचारका लागि धवलागिरि अञ्चल अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । परिवारका सदस्य बागलुङ आइनपुगेकाले उनको शव अञ्चल अस्पतालमा राखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?