प्रश्नपत्र बाहिरिएपछि रौतहटमा विद्यार्थीको विरोध प्रदर्शन

रौतहट । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत आज (शुक्रवार) सञ्चालन हुने सामाजिक शिक्षाको प्रश्नपत्र बाहिरिएको विरोधमा विद्यार्थीहरुले रौतहटमा प्रदर्शन गरेका छन् ।

हिजो (बिहीवार) अनिवार्य विज्ञान विषयको प्रश्नपत्र बाहिरिएलगत्तै शुक्रवार पुन अनिवार्य सामाजिक विषयको पनि प्रश्नपत्र बाहिरिएको हो । लगातार प्रश्नपत्र बाहिरिन थालेपछि विद्यार्थीहरुले त्यसको विरोध स्वरुप रौतहटको चन्द्रनिगाहपुरमा प्रदर्शन गरेका हुन् । 

सडकमा निस्केका आक्रोशित विद्यार्थीहरुले टायर बालेर पूर्व–पश्चिम राजमार्गमा गरेको प्रदर्शनले केहीबेर सवारी आवागमन प्रभावित बनेको थियो ।

जिल्ला प्रहरी कार्यालय, रौतहटले विद्यार्थीको प्रदर्शनले सडक अवरुद्ध बने पनि अहिले सञ्चालनमा आएको जनाएको छ ।

प्रदेश २ मा एकपछि अर्को प्रश्नपत्र बाहिरिएपछि परीक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ । 

लगातार दुई दिन एसईई परीक्षा अन्तर्गत विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि विद्यार्थीहरु अन्योलमा परेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?