काठमाडौं । भोलिदेखि काठमाडौंमा शुरु हुने लगानी सम्मेलनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । काठमाडैंस्थित सोल्टी होटलमा हुने लगानी सम्मेलनका लागि करिब ६ हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।
काठमाडौंमा शुक्रवार–शनिवार दुईदिन चल्ने लगानी सम्मेलन (नेपाल इन्भेस्टमेन्ट–२०१९)का लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपिएफ) र राष्ट्रिय अनुसन्धान विभागबाट गरिक ६ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने गृहमन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका अनुसार सम्मेलन सुरक्षाकै लागि रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालय र सम्मेलनस्थल सोल्टी होटलमा ‘सम्मेलन सुरक्षा समन्वय कक्ष’ स्थापना गरिएको छ ।
लगानी सम्मेलनमा ३१ मुलुकका ६ सय ९ जना विशिष्ट अधिकारी तथा उद्योगपति आउने तय भएको छ । सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।
यसैगरी प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार सम्मेलनमा नेपाल प्रहरीबाट ४ हजार २ सय जनशक्ति परिचालन गरिएको छ । प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमार्फत जनशक्ति परिचालन गरेको हो । साथै सशस्त्र प्रहरी मुख्यालयले उपत्यका बाहिनीमार्फत एसएसपीको कमाण्डमा सम्मेलन सुरक्षार्थ जनशक्ति खटाएको छ । सशस्त्र प्रहरी प्रवक्ता डिआइजी सुरज श्रेष्ठले एसएसपी कालीदास धौवजीको नेतृत्वमा १ हजार ८ सय जनशक्ति सम्मेलन सुरक्षामा खटाइएको जानकारी दिए ।
त्यस्तै राष्ट्रिय अनुसन्धान विभागले २ सय भन्दाबढी जनशक्ति तैनाथ गरेको छ ।
यसैगरी काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति बैठकले सम्मेलन अवधिभर विदेशी पाहुनाको सुरक्षामा कुनै पनि कमी हुन नदिन निर्देशन दिएको छ ।
यसैबीच उपत्यकाको सुरक्षा व्यवस्था कडा परिएको छ ।
सरकारले सम्मेलनमा आउने पाहुनाका लागि सोल्टीसहित कुपण्डोलको हिमालय, गौशालाको द्वारिकाज, बौद्धको हायात, दरबारमार्गस्थित अन्नपूर्णलगायतका होटलमा व्यवस्थापन गरेको छ ।
पाहुना बस्ने होटल र सम्मेलन स्थलको सुरक्षामा कुनै पनि कमी नहुने गरी जनशक्ति परिचालन गरिएको प्रहरी प्रवक्ता सुवेदीले जानकारी दिए । यसका लागि रिजर्भ फोर्ससहित गस्ती र सादा पोसाकका जनशक्ति आवश्यकताअनुसार खटिएको जानकारी दिए ।
यसैबीच लगानी सम्मेलनमा सहभागी हुने भारतीय विदेश सचिव विजय केशव गोखले आजै नेपाल आउने भएका छन् । काठमाडौंमा दुई दिन चल्ने लगानी सम्मेलनको पूर्वसन्ध्यामा उनली नेपाल आउन लागेका हुन् ।
दुई दिने नेपाल भ्रमणमा आउन लागेका गोखलेले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत अन्य शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ । उनले भारतीय सहयोगमा नेपालमा सञ्चालित कार्यक्रम, द्विपक्षीय हितका साथै नेपाल–भारतको उच्चस्तरीय भ्रमणका क्रममा भएका सहमतिको प्रगतिबारे समेत छलफल गर्ने तय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया