उद्यमशीलताबाटै समृद्धि आउँछ : अध्यक्ष तिमिल्सिना

गलकोट । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कृषि प्रधान मुलुकमा स्थानीय उत्पादनलाई उद्यमशीलतामार्फत बजारीकरण गर्दा समृद्धि आउने बताएका छन् । 

बागलुङ र पर्वत जोड्ने गरी निर्माण गर्न थालिएको झोलुङ्गे पुलको आज बागलुङतर्फ शिलान्यास गर्दै तिमिल्सिनाले पुललाई आउजाउका रुपमा मात्र प्रयोग नगरेर उत्पादन आयात–निर्यातसँग जोड्नुपर्ने बताए । उनले पुल निमार्णले समेत समृद्धिको यात्रामा सहयोग पु¥याउने बताए । 

बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुश्मा नगरपालिका–१ पाङको अदुवारी जोड्ने गरी निर्माण थालिएको झोलुङ्गेपुल ५ सय ६७ मिटर लामो र १ सय ३८ मिटर उचाइको हुने सस्पेन्सनब्रिज डिभिजन कार्यालयका महानिर्देशक रामचन्द्र श्रेष्ठले बताए । 

कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको उक्त पुल दुई वर्षभित्र सक्ने गरी हिमशिखर कन्स्ट्रक्सनले सात करोड ९७ लाख ८६ हजारमा ठेक्का सम्झौता गरेको छ । पुलमा चाहिने लठ्ठाको व्यवस्था भने सस्पेन्सनब्रिज कार्यालयले उपलब्ध गराउनेछ । पुलको सबै निर्माण सम्पन्न गर्दा १२ करोड २२ लाख १८ हजार ९ सय ५७ खर्च लाग्ने छ । 

निर्माण कम्पनीका कर्मचारी नरहरि खड्काका अनुसार नेपालमा पहिलोपटक यस किसिमको लामो पुल बन्न लागेकाले केही चुनौती भए पनि दक्ष प्राविधिक प्रयोग गरेर काम सम्पन्न गरिनेछ । श्रेष्ठका अनुसार अहिलेसम्म ३ सय ६५ मिटरसम्मको लामा झोलुङ्गे पुल निर्माण भएका कारण दुई जिल्लालाई जोड्ने गरी बन्न लागेको यो देशकै एक लामो झोलुङ्गे पुल हुनेछ । नेपालको अग्लो पुल भने पर्वतमा निर्माण भइसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?