कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त घटनाको कञ्चनपुर जिल्ला अदालतमा थुनछेक बहस शुरु भएको छ । बुधवार दिउँसोबाट निर्मला घटनाको अनुसन्धानका क्रममा यातना र प्रमाणहरु नष्ट गरेको अभियोग लागेका कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टको मुद्दामा थुनछेक बहस शुरु भएको हो ।
वादी पक्षबाट जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता देवराज भारती र सहायक जिल्ला न्यायाधिवक्ता मोहनीप्रसाद जोशीले बहस गरेका छन् भने प्रतिवादीका तर्फबाट अधिवक्ता कृष्णदेव जोशीले बहस गरेका छन् ।
बुधवार वादी पक्षको बहस सकिएको जिल्ला अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए । साथै बहस शुक्रवारबाट निरन्तर अघि बढ्नेछ ।
उनका अनुसार प्रतिवादी तर्फबाट थप कानुन व्यवसायीले बहस गर्ने जानकारी भए पनि कस–कसले गर्ने भन्ने विषयमा यकिनभइसकेको छैन ।
मंगलवार जिल्ला अदालतमा उपस्थित भएका विष्टको दोस्रो दिन (बुधवार) बयान सकिएको थियो । उनले दोस्रो दिन बुधवार सार्वजनिक न्यायविरुद्धको कसुरमा बयान लिइएको हो । उनलाई प्रहरी हिरासतमै राखेर मुद्दा प्रक्रिया अघि बढेको छ ।
फागुन २२ गते जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा यातना र सार्वजनिक न्याय विरुद्धको कसुरको मुद्दा दायर गरिएको थियो । साथै फागुन २६ मा तत्कालीन एसपी विष्ट र डीएसपी अंगुर जिसीका नाममा उपस्थित हुन ३५ दिने म्याद जारी भएको थियो । अदालतले म्याद जारी गरेको १० औं दिनमा उनी आफैं उपस्थित भएका थिए ।
सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेकै दिन यातना र सार्वजनिक कसुर लागेका ६ जना प्रहरी अदालतमा उपस्थित भए । उनीहरूलाई फागुन ३० गते जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो ।
पुस ३ गते निर्मलाकी आमा दुर्गादेवीले विष्टसहित ८ जनाका नाममा प्रमाण नष्ट गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।
सोही दिन दिलीप विष्टका दाइ खड्कले विष्टसहित ४ जनाका नाममा यातनासम्बन्धी जाहेरी दिएका थिए ।
निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । उनको शव हत्या भएको भोलि पल्ट उखु बारीमा भेटिएको थियो । निर्मला पन्तको हत्या भएको ९ महिना अर्थात् २ सय ३९ दिन भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया