अधिकारीका अधूरा सपना पूरा गर्ने सिङ्गो पार्टी पङ्ति र सरकार सङ्गठित भएर अगाडि बढ्नुपर्नेमा जोड

पोखरा । हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले थालनी गर्नुभएका विकास अभियानलाई पूर्णता दिन सकिएमा मात्र उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने विभिन्न नेताले बताएका छन् ।

निधनको सातौं दिन आज स्व. अधिकारीकै निवासमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कास्कीद्वारा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा सङ्गठक र विकासप्रेमी नेताका रुपमा उनको भावपूर्ण स्मरण गरियो । 

श्रद्धाञ्जलिसभामा नेकपा स्थानीय कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अधिकारीको निधनले राष्ट्र र नेकपाको पार्टी सङ्गठनमा अपूरणीय क्षति पुगेको बताए । “पर्यटन क्षेत्रको विकासमा उहाँले पु-याउनु भएको योगदान अतुलनीय भएको ” मुख्यमन्त्री गुरुङले मन्त्री अधिकारीले शुरु गरेका पोखरा, निजगढ, गौतमबुद्ध जस्ता विमानस्थल समयमै सम्पन्न गर्नुपर्ने बताए । 

सन् २०२० मा मुलुकमा २० लाख पर्यटक भित्र्याउने अधिकारीको योजनालाई साकार पार्नुपर्नेमा जोड दिँदै उहाँले त्यसका लागि तीनवटै तहका सरकारको सक्रियता र समन्वयको आवश्यकता औँल्याए। 

नेकपा गण्डकी प्रदेशका सहइञ्चार्ज एवं पूर्वमन्त्री खगराज अधिकारीले देशमा समृद्धि एवं विकासका लागि उनले खेलेको भूमिका अत्यन्त महत्वपूर्ण भएको उल्लेख गर्दै मन्त्री अधिकारीले थालेका अपुरा कामलाई सम्पन्न गर्नुपर्ने बताए । मन्त्री अधिकारी पार्टी सङ्गठनलाई मजबुत बनाउन उच्चकोटीको राजनेताका रुपमा रहेको चर्चा गर्दै उनले अधुरा सपना साकार बनाउन सिङ्गो पार्टी पङ्ति र सरकार सङ्गठित भएर अगाडि बढ्नुपर्नेमा जोड दिए। 

नेकपा गण्डकी प्रदेशका अध्यक्ष एवं पूर्वमन्त्री हितराज पाण्डेले युवा पुस्तालाई राज्यको मूलधारमा ल्याउनु पर्दछ भन्ने सोच भएका नेताका रुपमा अधिकारीको स्मरण गर्दै उनका विचारलाई आत्मसात् गरी अघि बढ्नुपर्ने बताए । सकारात्मक सोचका धनी मन्त्री अधिकारी समाजको रुपान्तरणका पक्षमा निरन्तर क्रियाशील रहेको बताउँदै उनले अधिकारीको चिन्तन एवं सक्रियता प्रत्येक राजनीतिकर्मीका लागि अनुकरणीय भएको बताए । 

मन्त्री अधिकारीकी धर्मपत्नी विद्या भट्टराईले राज्य, पार्टी तथा आम समुदायले स्वर्गीय अधिकारी र परिवारलाई व्यक्त गरेको सहानुभूतिप्रति आभार व्यक्त गर्दै उनले अघि सारेका विचार एवं विकास निर्माणलाई साकार पार्नु अहिलेको आवश्यकता भएको बताए । परिवारभन्दा पनि राष्ट्र र समाजप्रति स्वर्गीय अधिकारीले समय दिएको स्मरण गर्दै परिणाममुखी सोचका साथ अघि बढ्ने उहाँको उत्साहलाई साथ दिएको बताए । 

कार्यक्रममा स्वर्गीय अधिकारीका परिवारलाई पार्टीको तर्पmबाट समवेदना–पत्र दिइएको थियो । नेकपा कास्कीका संयन्त्र सदस्य एवं प्रदेशसभा सांसद दीपक कोइरालाको अध्यक्षतामा भएको श्रद्धाञ्जलि सभामा संयन्त्र सदस्य एवं प्रदेशसभा सदस्य कृष्णबहादुर थापा र दामोदर बैरागीले स्वर्गीय अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकलाई शक्तिमा बदल्नुपर्ने आवश्यकता औंल्याए । 

पार्टीका गण्डकी प्रदेश इञ्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सह–इञ्चार्ज खगराज अधिकारी, गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे, स्थायी कमिटी सदस्यद्वय सोमनाथ अधिकारी प्यासी र किरण गुरुङ, स्वर्गीय अधिकारीका बुबा इन्द्रप्रसाद, आमा लक्ष्मीदेवी अधिकारी, धर्मपत्नी विद्या भट्टराई छोराहरु विराज र स्वराज, नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री यज्ञबहादुर थापालगायत कार्यक्रममा उपस्थित महानुभावले स्वर्गीय अधिकारीको तस्वीरमा पुष्प अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका थिए । 

फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका अधिकारीको १७ गते सेती नदीस्थित रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टी गरिएको थियो । स्वर्गीय अधिकारीको आज सातौँ दिनका दिन आयोजित श्रद्धाञ्जलिसभामा उपस्थित सबैजनाका आँखा रसाएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?