सर्वोच्चको आदेशपछि बादी समुदायमा खुशी, लेखक र निर्मातालाई के भने ?

राष्ट्रिय बादी परिषदले सर्वोच्च अदालतको आदेशले आफूहरुको आत्मसम्मान बलियो भएको जनाएको छ ।

नथिया, ऐलानी उपन्यास र पण्डित बाजेको लौरी नामक चलचित्रमा आफूहरुको आत्मसम्मानमा ठेस पुग्ने र झुटा शब्दहरुको प्रयोग गरिएकोले आफूहरु न्याय माग्दै अदालतको ढोकासम्म पुगेकोमा अदालतबाट लेखक र सरकारलाई निर्देशनात्मक आदेशले आत्मसम्मान कायम गरेको बादी अगुवाले बताएका हुन् ।

पत्रकार सम्मेलनमा बादी अगुवाले अदालतको यो आदेशका कारण अब प्रकाशित हुने कृतिमा कुनै समुदायको आत्मसम्मानमा चोट पुर्याउने  क्रम  रोकिने विश्वास व्यक्त गरे ।

नथिया, ऐलानी उपन्यास र पण्डित बाजेको लौरी नामक चलचित्रमा उल्लेख गरिएका प्रसंग र शब्दले बादी समुदायको इतिहास बंग्याएको भन्दै ती कृतिहरु सच्याउन र क्षमा माग्न निर्देशनात्मक आदेशको माग गर्दै बादी अगुवाले गत भदौ १८ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

आदेशको पूर्णपाठ सार्वजनिक भईनसकेतापनि आफूहरुको मागअनुसार नै आदेश आएको राष्ट्रिय बादी परिषदका अध्यक्ष केशव नेपाली बादीले बताए । उनीहरुले बादी समुदायमाथि विगतमा साहु महाजनले शोषण  अन्याय अत्याचार र आक्रमण गरेकामा अहिले प्राज्ञिक क्षेत्रबाट हुन थालेको भन्दै दुखेसो पोखे । 

 बादी समुदायलाई मुख्य विषय बनाइएको उपन्यासहरु नथिया, ऐलानी र फिल्म पण्डित बाजेको लौरीमा उल्लेख भएका केही शब्दावली, मिथ्या लाग्ने प्रसंग र भ्रामक जानकारीमा बादी समुदायले आपत्ति जनाएका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?