कांग्रेस रूपान्तरणको सवाल  

लोकपथ
3.5k
Shares

यतिखेर नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बसिरहेको छ र केन्द्रीय सदस्यहरूले आआफ्ना धारणा राखिरहेका छन् ।

केन्द्रीय समितिभन्दा बाहिर पनि कांग्रेस हिँडेको बाटो र भविष्यको मार्गचित्रका बारेमा शुभेच्छुकहरूले चिन्ता र चासोपूर्वक छलफलहरू गरिरहेका छन् । देशकै पुरानो लोकतान्त्रिक पार्टी र विगत सात दशकभन्दा बढी देशको राजनीतिलाई प्रभावित पारिरहेको पार्टीका बारेप्रति आम रूपमा चासो र चिन्ता रहनु स्वाभाविक पनि छ । एउटा कठिन परिस्थितिमा संघर्ष गरेर स्थापित भएको पार्टीको लिगेसीमा राजनीति गर्ने र समाजमा आफूलाई स्थापित गर्ने परिपाटी पछिल्ला पुस्तासम्म रहनु पनि कुनै नौलो कुरा होइन । जन्मदा नै कोही कुनै पार्टीको सदस्य लिएर जन्मिएको हुँदैन । बाबुकै कारण अमुक पार्टीमा लागेको भन्ने पनि हुँदैन । राजनीतिमै नभएका बाबुको छोरा पनि राजनीतिमा देखिइरहेका छन् भने बाबु राजनीतिमा भएर पनि उसका सन्तति राजनीतिभन्दा निकै पर  रहेका उदाहरणहरू पनि प्रशस्त छन् । बाबु राजनीतिमा भएकै कारण छोराछोरी राजनीतिमा स्थापित भएका उदाहरण पनि थुप्रै छन् । मुख्य कुरा हो– चासो र अग्रसरता ।

जसले जसरी गरे पनि वा जुन बाटो अपनाएर आए पनि पार्टीको प्लेटफर्म प्रयोग गरिसकेपछि उसका नम्सहरू मान्नै पर्छ । पार्टी भनेको प्रवाहमय नदीमा वारपार भइरहने एउटा डुङ्गा हो । नेताकार्यकर्ता भनेका त्यस डुङ्गामा सबार यात्रुहरू हुन् ।

डुङ्गा सञ्चालनको एउटा अवधारणा हुन्छ । त्यसको आफ्नो नियम हुन्छ । त्यसले यात्रुको इच्छाअनुसार नदीका अन्यत्र क्षेत्रमा घुमाउन सक्छ कि सक्दैन भन्ने कुरा डुङ्गा चलाउँदा निर्धारण गरिएको नियममा भर पर्छ । कुनै पनि यात्रुले डुङ्गालाई आफूअनुकूल चलाउन पाउँदैन । यदि त्यसरी चलाउन थाल्यो भने नदी तर्न पर्खिरहेका धेरै यात्रुहरूको बिचल्ली त हुन्छ नै डुङ्गाको व्यवसायिकताको पनि अन्त्य हुन्छ । कारण नदी तर्ने सुविधा नपाएपछि अन्य यात्रुका लागि अरू नै व्यवस्था हुन्छस उनीहरू अर्कै डुङ्गाको व्यवस्था गर्न थाल्छन् ।

आज कांग्रेसमा त्यही भइरहेको छ । नदी तर्न आएको एउटा यात्रुले डुङ्गालाई कब्जा गरेको घटनाको दृष्टान्त कांग्रेसमा देख्न सकिन्छ । यसले नदी तर्न पर्खिएर बसेका धेरै मानिसलाई समस्या पारिदिएको छ । कांग्रेस मुद्दामुखी भन्दा पनि गुटमुखी हुँदै गयो र विभिन्न स्वार्थ समूहमा रूपान्तरित भयो । त्यसको थालनी क्रियाशील सदस्य बाँड्दादेखि नै भएको छ । गाउँको नेतृत्व हत्याउनका लागि आफ्ना घरका सबै सदस्यलाई क्रियाशील सदस्य दिने भूत वडा तहका नेताकार्यकर्तामा चढेको छ । र त्यो भूतको निर्देशन केन्द्रबाट जिल्लामा र जिल्लाबाट स्थानीय तहमा पुगेको हो ।

आफूलाई भोट हाल्ने सर्तमा जिन्दगी कहिल्यै कांग्रेसमा भोट नहालेको मान्छेलाई क्रियाशील सदस्य बनाइएको छ । क्रियाशील सदस्य बनेर कांग्रेसको अधिवेशनमा भाग लिइसकेको मानिसले न संसदीय चुनावमा कांग्रेसलाई भोट हाल्यो न पालिकाको चुनाव । उसलाई सदस्यता दिइएको नै पाार्टीको अधिवेशनमा आफू र आफूले भनेको मानिसलाई भोट हाल्नका लागि थियो । कांग्रेसभित्रको गुट त्यहाँबाट थालनी भएको छ । वडा तहबाट तिनै गैरकांग्रेसको भोटले क्षेत्रीय प्रतिनिधि जितेर आएको मान्छेले महाधिवेशन प्रतिनिधि, जिल्ला समिति, प्रदेश प्रतिनिधि, क्षेत्रीय समितिको छनोट गर्छ ।

क्षेत्रीय प्रतिनिधि आउँदा नै भोट हाल्ने गुट निश्चित गरेर आउने भएकाले उसले को राम्रो को नराम्रो भनेर छुट्याउनै पाउँदैन । यतिसम्म हुन्छ कि ठेकेदारहरूले क्षेत्रीय प्रनिनिधिहरूलाई दसैँमा तिब्बतबाट भित्र्याइएका भेडा च्याङ्ग्राहरूको जस्तो हुल ल्याएर भोट हाल्न लगाउँछन् र गुटलाई जिताउँछन् । क्षेत्रीय प्रतिनिधिहरूलाई स्वतन्त्रता नै हुँदैन । त्यसरी जिल्लाबाट चुनिएर आएको प्रतिनिधिले केन्द्रमा नेतृत्व छनोट गर्छ । अनि नेतृत्व गुटगत स्वार्थमा काम गर्न थाल्छ । अहिले कांग्रेसमा भएको प्रमुख बहसको विषय नै यही हो । कांग्रेस सुधार्ने हो भने यो प्रथा भत्कन आवश्यक छ ।

कांग्रेसभित्र एकले अर्कालाई खुइलाउने र आफू नेतृत्वमा टिकिरहने वा स्थापित हुने रस्साकस्सी चलिरहेका बेला देशमा आमूल परिवर्तन र जनताको जीवनस्तर उकास्नका लागि कांग्रेसले खेल्नुपर्ने भूमिकाका विषयमा भएका बहसका आवाज कम सुनिइरहेका छन् । पार्टी बलियो भयो भने सत्ताको अङ्क गणितमा जितिन्छ भन्ने मनोविज्ञानले मात्रै पार्टी मजबुतीको कुरा चलिरहेको छ । अन्यथा आमसर्वसाधारणको जीवनस्तरको कुरा नगण्य रूपमा उठेको छ । त्यसमाथि कांग्रेसको लिगेसीमा राजनीति गरेर आफूलाई समाजमा स्थापित गराउँछु भनेर हिँडेका युवाहरू कांग्रेसमा भएको सैद्धान्तिक विचलनबाट प्रताडित भइरहेका छन् । कांग्रेसभित्रको गुटले यदुवंशीमा आएको संकटझैँ विनाशको बाटोमा लैजाँदै छ भन्ने हेक्का बिचरा ती ज्यान फालेर कांग्रेस बनाउन पर्छ भनेर हिँडेका धेरैलाई थाहा छैन । ती पनि एउटा एउटा नेताका दौराका फेरा समातेर आफूलाई स्थापित गराउने कसरतमा छन् । यतिसम्म कि तथाकथित बुद्धिजीविहरू पनि ।

कांग्रेसले जुन दिन भागबन्डाको संस्कृतिलाई स्वीकार ग¥यो त्यसै दिनबाट सैद्धान्तिक बाटो पनि छोड्यो । नेताका आफन्त र गुट बनाउन सहयोग गर्ने कार्यकर्तालाई स्थापित गर्न त त्यसले सहयोग पक्कै गरेको छ तर त्यसको कुपरिणाम देश र जनताले भोग्नु परिरहेको छ । न्यायालयमा भएको भागबन्डाले न्यायालय बदनाम भयो । न्यायालय स्वतन्त्र रहेन । प्रहरी प्रशासनमा भएको भागबन्डाले नेताका कुकृत्यलाई बचाउन सहयोग ग¥यो । विश्वविद्यालय उठ्नै नसक्ने गरी थाङ्थिलो भएको छ । संवैधानिक निकायहरूले स्वतन्त्रतापूर्वक काम गर्न पाएनन् । भ्रष्टाचारको छानबिन गर्ने अख्तियार त्यसको नमुना बनेको छ । कुटनीति क्षेत्र त झन तहसनहस छ । अब त हुँदा हुँदै चुनाव जित्न पनि गठबन्धन हुन थालेको छ । रेडक्रसजस्तो समाजसेवामुखी संस्थाको नेतृत्व छनोट गर्न पार्टी पार्टीमा भागबन्डा भएको पत्र केही दिनअघि सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएको थियो । यसको जरो गाउँ गाउँसम्म पुगेको छ ।

गठबन्धनका कारण अमुक नेता देशको प्रधानमन्त्री भयो वा मन्त्री भयो भन्ने कुराले खासै महत्त्व राख्दैन । महत्व उसले कति जनमुखी काम गर्न सक्यो वा सुशासनमा कति प्रगति ग¥यो भन्ने कुराले राख्दछ । ऊ नेतृत्वमा आएपछि जनताको जीवनस्तरमा के परिवर्तन आयो भन्ने कुराले महत्व राख्दछ । अन्यथा पार्टीका नाममा कुनै व्यक्ति प्रधानमन्त्री बनोस् कि मन्त्री बनोस् वा पार्टीको नेतृत्व हत्याउन सफल होस् त्योसँग आम सर्वसाधारणको खासै कुनै चासो रहँदैन । बरु उसका कुकृत्यले पाउने दुःखको भागिदार चाहिँ त्यही दूरदराजको मानिस हुने गर्छ जो निकै दुःखद छ ।

कांग्रेस रूपान्तरणको चर्काचर्की बहस चलिरहेका बेला यतिखेर त्यही पुरानो ठाउँमा पुग्न आवश्यक छ जहाँबाट कांग्रेसले सैद्धान्तिक बाटो बिराएको थियो ।

देशभित्रका लोकतान्त्रिक संस्थाहरू आफैँमा शक्तिशाली नभई कांग्रेसले भनेको लोकतन्त्र स्थापित हुन सक्दैन । न्यायालयलाई स्वतन्त्र छाड्नुपर्छ । न्यायालयमा अन्याय नहोस् भनेर निगरानी गर्ने निकाय पनि त्यतिकै शक्तिशाली चाहिन्छ । तर संसदले अहिले प्रयोग गरिरहेको महाभियोगको घातक हतियारजस्तो कपटपूर्ण होइन । थालनी भएपछि छिटै टुङ्गोमा पुग्ने किसिमको चाहिन्छ ।

अख्तियारलाई पनि त्यतिकै शक्तिशाली बनाउन आवश्यक छ । आफ्ना पर्दा छोड्ने र अरू पर्दा नछोड्ने वा मन नपरेका मानिसलाई डन्डा लगाउने साधन अख्तियार र अदालत दुवै बन्नु हुन्न । हरेक क्षेत्रमा विज्ञको खोजी हुनु आवश्यक छ । कुटनीति क्षेत्रमा त यसको झन ठुलो महत्व छ । प्रशासन पनि त्यस्तै स्वचालित ढङ्गले काम गर्न सक्ने बनाउनुपर्छ । राजनीतिले केबल ती संस्था सञ्चालनमा आएको कठिनाइलाई हेरेर सहजीकरण गरिदिने मात्रै होस हस्तक्षेप नै गर्ने होइन ।

राज्यबाट हुने सेवा प्रवाह प्रभावकारी भएको छ कि छैन त्यसको नियमन राजनीतिले गर्नुपर्ने हो । बजारको अनुगमन गर्ने निकायले प्रभावकारी काम गरेको छ कि छैन त्यसको उचित संयन्त्रमार्फत निगरानी गर्ने हो । यी र यस खाले तमाम संस्थालाई स्वतन्त्र चल्न दिँदा नै कांग्रेसको लोकतन्त्र बलियो हुने हो र कांग्रेसप्रति आमसर्वसाधारणको भरोसा बढ्ने हो अनि साथ र समर्थन पनि ।

लोकतान्त्रिक संस्थाहरूले प्रभावकारी काम गर्न थालेपछि जनतामा आशा र भरोसा जाग्दछ । अन्याय हुँदैन भन्ने कुरामा विश्वस्त हुन्छ र गलत गर्ने मानिस कानुनको घेरा तोड्न सक्दैन भन्ने भाष्य स्थापित हुँदै जान्छ । त्यो हुनु पनि आवश्यक छ । प्लेटोले भनेजस्तै शासकको प्रवृत्ति आम जनमानसमा झल्कन्छ । देशमा कस्तो शासन चलिरहेको भनेर तल्लो निकायसम्म पुगेर हेरे आफैँ थाहा हुन्छ । राजनीतिमा लागेर रातारात करोडपति बन्ने प्रवृत्ति रहुन्जेल कांग्रेसको लोकतन्त्र न कहिल्यै मजबुत बन्न सक्छ न कांग्रेसप्रति आम मतदाताको आकर्षण बढ्छ । त्यसैले कांग्रेसले सबैभन्दा पहिला आफन्तवाद र भागबन्डाको संस्कृति त्यागोस् । त्यसपछि पार्टीको आन्तरिक जीवनमा नेतृत्व हडप्नका लागि तल्ला निकायहरूमा भएका हर्कतहरूको शल्यक्रिया गरोस् । यसपछि बिस्तारै गुटको अन्त्य हुँदै जाने छ । गुट उमार्ने तल्ला निकायका गुटबिजहरू नष्ट गरेपछि मात्रै माथिल्ला निकायका गुटको अन्त्य हुन्छ । सत्ता सञ्चालनमा एउटा विधि र व्यवस्थाको थालनी गरोस् अनि मात्रै सच्चा अर्थमा कांग्रेसको रूपान्तरणले सार्थकता पाउने छ र नेपालको लोकतन्त्र तथा कांग्रेस दुवै मजबुत हुनेछ ।

लेखकबाट थप
सहरबासीका अन्नदातामाथि भएको भद्दा मजाक

लोकतन्त्रमा भँड्खालो

सिकाइ प्रक्रियामा प्रमाणको औचित्य

जीवनोपयोगी शिक्षाको अवधारणा

‘सन्तापको धून’ कथा सङ्ग्रहमा समयको लय

गौरीटापको टाकुरामा रङ्गहरूको उत्सव

ऐतिहासिक महत्त्व हुँदाहुँदै ओझेलमा चिम्टेश्वर

नयाँ राजनीतिक शक्ति उदय हुनुको रहस्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?