सिकाइ प्रक्रियामा प्रमाणको औचित्य

लोकपथ
2.8k
Shares

घटना नं. १– केही समयअघि वाल्मीकि विद्यापीठको प्राध्यापक कक्षमा केही प्राध्यापक बसेर मुक्तिनाथयात्राका बारेमा छलफल चलिरहेको थियो । त्यसैमा कालीगण्डकीको कुरा पनि चल्यो र त्यसका मुहानका बारेमा पनि कुरा उठ्यो । विगत एक डेढ वर्षदेखि भीमसेन लेख्नका लागि सामग्रीको खोजीका क्रममा मैले नेपालका तीर्थहरूका बारेमा पढेको थिएँ र त्यस प्रकारका सामग्रीको अध्ययन निरन्तर जारी छ ।

यसै प्रयोजनका लागि केही समयअघि हिमवत्खण्डका केही अंश पनि पढेको थिएँ ।

त्यो सामान्य छलफलमा मैले हिमवत्खण्डमा कालीगण्डकीको शिर दामोदर पर्वत भनी उल्लेख भएको छ भनेँ । भन्नेबित्तिकै एक प्रकारको संकोच लाग्यो कि कतै मैले अन्यत्र पढेको विषयलाई हिमवत्खण्ड त सम्झिन ! त्यही छलफलमा माधव घिमिरेले कालीगण्डकीको शिर मुक्तिनाथ उल्लेख गरेको सन्दर्भ चलेको थियो । धेरै जना कालीगण्डकीको मुहान मुक्तिनाथ भनिरहेका थिए ।

कुरा सामान्य हो तर दिनभरि त्यसै घटनाले तीव्र बेचैन बनाइरह्यो । बेलुका घरमा आएर मैले कुन स्रोतमा पढेँ भनेर -याकमा भएका कितावका पाना पल्टाएँ । कतै फेला परेनन् । मोवाइल र कम्प्युटरमा पढेका सामग्रीबारे स्मरण गर्न खोजेँ तर निश्चित रूपमा यही सामग्री हो भनेर छुट्याउन सकिन । यति धेरै पिडिएफ फाइल छ कि अब त्यो पूरै खोलेर हेर्न सम्भव नै छैन र सम्भव भयो भने पनि त्यसका लागि पुनः निकै समय लाग्छ । रातभरि बेचैनपूर्वक सामग्रीको सत्यापनमा लागेँ । तर पत्तो लागेन । कुनै पौराणिक सामग्री नै पढेको हुँ त्यसमा म निश्चिन्त छु । तर अहिले आएर म द्विविधाग्रस्त भएको छु–मैले मूल ग्रन्थ पढेँ कि कुनै व्याख्या पढेँ । तर त्यसरी स्रोतको सुनिश्चितता नभइकन प्याच्च बोलेकोमा भित्रभित्रै ग्लानिबोध भयो । सुन्नेलाई के भयो थाहा छैन ।

भोलिपल्ट बिहान हिमवत्खण्ड खोलेर हेरेँ त्यहाँ मुक्तिधारा र कालीगण्डकीको सङ्गम भनेर कागबेनीलाई भन्न खोजिएको छ । अर्थात् मुक्तिनाथबाट आएको नदी÷खोलो कालीगण्डकी नभएर मुक्तिधारा हो । तब त्यहाँ दामोदर कुण्डलाई कालीगण्डकीको शिर मानिएको बुझ्न सकिन्छ । हिमवत्खण्डमै दामोदर नामको शालीग्रामको चर्चा छ । त्यो कुण्डभित्र देखिने सन्दर्भ त्यहाँबाट बुझ्न सकिन्छ । सम्भवतः त्यही शालीग्रामबाट दामोदर कुण्डको नाम रहन गएको हो । त्यो पढेपछि दिनभरि र रातभरि जुन प्रकारको तनावको महसुस भएको थियो केही शान्त भयो । मैले हिमवत्खण्ड नै पढेको रहेछु ।

कालीगण्डकीका तीन प्रमुख स्रोतमध्येको एक दामोदर कुण्ड हो र यो कुण्ड पनि धार्मिक हिसाबले निकै महत्त्वपूर्ण छ । मुक्तिनाथ र दामोदर कुण्डबाट आएको पानी कागबेनीमा आएर मिसिन्छ र कालीगण्डकी बनेर बग्न थाल्छ । चर्चित शालिग्राम त्यही दामोदर स्रोतबाट बगेर आएको काली गङ्गाले बगाएर ल्याउँछ । यो त त्यहाँ जाने अधिकांश मान्छेले भन्ने कुरो हो ।

घटना नं. २ केही समयअघि एउटा पुस्तक प्रकाशनका सन्दर्भमा एक जना विद्वानको घर गएको थिएँ । उहाँ साच्चिकै विद्वान हुनुहुन्छ त्यसमा कसैलाई कुनै द्विविधा छैन । पुस्तकमा प्रयोग भएको सन्दर्भलाई लिएर उहाँको र मेरो मत बाझियो । मैले आफ्नो स्रोतलाई प्रमाणित गरेँ उहाँले त्यसलाई मान्नुभएन र आफ्नो स्रोेतलाई प्रमाणित पनि गर्नुभएन । त्यसपछि मैले उहाँभित्रको छटपटी महसुस गरेँ र आजपर्यन्त उहाँ मेराअघि खुलेर बोल्नुहुन्न । पुस्तक छापियो । प्रमाणित भएको स्रोत उल्लेख भयो; सकियो तर उहाँभित्र अझै किन त्यो छटपटीको महसुस म गरिरहेको छु थाहा छैन ।

यस प्रकारका घटना जीवनमा धेरै घट्छन् तर महसुस थोरैले मात्रै गराउँछ । कुनै सामग्रीको स्रोत आधिकारिकताको प्रमाण पनि हो । अनुसन्धानमा त यसले निकै ठुलो महत्त्व राख्छ । आधिकारिक स्रोत उल्लेख नभएका अनुसन्धानलाई प्रामाणिक मानिँदैन । पत्रकारितामा पनि विश्वसनीय स्रोतको महत्त्वपूर्ण भूमिका हुन्छ । हचुवाभरमा समाचार लेख्ने अनलाइन मात्रै होइन छापा पत्रपत्रिका पनि बजारमा छ्याप्छ्याप्ती पाइ्रन्छ । ती सबै सामग्रीप्रति मानिसहरू विश्वस्त हुँदैनन् । समाचार पनि सिकाइको एउटा प्रमुख स्रोत हो । ज्ञान र सीप दुवै सिकाइ प्रक्रियाबाट सिकिन्छ । समाजका बारेमा ज्ञान सिकाउनु समाचारको धर्म हो । त्यसैले समाचार लेख्दा भरपर्दो स्रोतको खोजी हुन आवश्यक छ । सामग्री भनेको औजार हो र यसको सही सदुपयोग गरिएन भने बनाउन खोजेको कुरा बन्दैन । सामग्री सही हुनु भनेको स्रोत भरपर्दो हुनु हो र स्रोत नै खासमा प्रमाण हो ।

हामी शिक्षण सिकाइ प्रक्रियामा पनि भन्छौँ कि कक्षामा नजानेको कुरा वा थाहा नभएको कुरा वा द्विविधाका कुरा शिक्षकले विद्यार्थीसँग गर्नु हुँदैन । बरु अनिवार्य भए कक्षाको भोलिपल्ट शोधखोज गरेर भनिदिनु राम्रो हु्न्छ । नजानेको कुरालाई मैले जानेको छैन भन्ने शिक्षकले विद्यार्थीलाई जति राम्रोसँग सिकाउन सक्छ त्यति नै नराम्रोसँग आफूले नजानेको विषयलाई मैले जानेको छु भनी लिँडेढिपी गर्ने शिक्षकले विद्यार्थीलाई बिगार्छ ।

न कालीगण्डकीको शिर फलानो स्रोतमा उल्लेख छ भनेर अनौपचारिक सन्दर्भमा भन्दा त्यसले कुनै ज्ञान मीमांसामा असर गर्छ न पुस्तकमा उल्लेख भएको स्रोतको द्विविधा मेटिँदा त्यसले कुनै विद्वत्ताको गरिमा घटाउँछ । जसलाई आवश्यक पर्छ उसले पुनः सत्यापन गर्न त्यो सामग्री पल्टाएर हेर्छ जसलाई आवश्यक पर्दैन उसले त्यो विषयलाई त्यहीँ छोडिदिन्छ । हेर्दा कुरा सामान्य देखिए पनि सिकाइ प्रक्रियामा यस प्रकारका अन्योलले विद्यार्थीलाई गलत सूचनामा भर पर्न अभ्यस्त बनाउँछ । मलाई त्यस कारण ग्लानिबोध भएको थियो । सम्भवतः ती विद्वान पनि मेरै दशाबाट गुज्रिएका हुन सक्छन् ।

सामान्यतः विद्यालय तहका विद्यार्थीहरू या त पाठ्यपुस्तकमा भर परेका हुन्छन् या त आफ्ना शिक्षकमाथि भर पर्छन् । थोरै विद्यार्थी हुन्छन् जो सामग्रीको आधिकारिकता पहिल्याएर अध्ययन गर्ने गर्दछन् । कतिपय पाठ्यपुस्तकमै पनि स्रोतको आधिकारिकता स्पष्ट नभएका सामग्री राखिएका हुन्छन् । पाठ्यपुस्तक लेखकका व्यक्तिगत चाहना वा उसमा रहने अस्पष्टताले पनि समस्या पैदा गरिरहेको हुनसक्छ । शिक्षकले कतिपय सन्दर्भमा पाठ्यपुस्तकमै त्रुटि देखाउन सक्छ । उसले देखाएको त्रुटि या त पाठ्यपुस्तकभन्दा आधिकारिक हुन सक्छ या त पाठ्यपुस्तकको सही सूचनालाई तोडमोड गर्ने खालको हुन्छ ।

केही समयअघि एउटा निजी प्रकाशन गृहबाट निस्कन थालेको पाठ्यपुस्तक हेरेको थिएँ । त्यसमा उल्लेख भएका सामग्रीहरूमा त्रुटि देखियो । मैले पाठ्यपुस्तक लेखकसँग स्रोतबारे जिज्ञासा राखेँ । उनी आफ्नो स्रोतमा पूरै विश्वस्त देखिए र भने– ‘मैले गुगलबाट लिएको हुँ’ । मैले उनलाई केही आधिकारिक पुस्तकको नाम टिपाएर एक पटक हेर्न सुझाएँ तर हेरे कि हेरेनन् थाहा भएन । पछि पुस्तक कुन रूपमा छापियो मैले त्यो हेरिन ।

कक्षाकोठामा विद्यार्थीको सबैभन्दा ठुलो भरोसायोग्य व्यक्ति नै शिक्षक हो । उसको सूचनालाई विद्यार्थीले सबैभन्दा बढी आधिकारिक मान्ने गर्दछन् । यतिसम्म कि त्यस विषयमा घरका अभिभावकले बढी जानेका रहेछन् भने र त्यो कुरा विद्यार्थीलाई भन्यो भने उसलाई अभ्यस्त बनाउन सकिँदैन । उसले अभिभावकको कुरा नपत्याएर शिक्षकको सूचनामा भरोसा गर्छ र भन्छ–‘हाम्रो शिक्षक÷सरले भन्नुभएको’ ।

कतिपय शिक्षकको बानी हुन्छ आफूले भनेको कुरा नै सही हो भन्ने । तर उसले आफ्ना सूचनाहरूलाई कहिल्यै सत्यापन गरेको हुँदैन ।

कक्षामा भनिसकेपछि पनि त्यसलाई सत्यापन गर्न आवश्यक ठान्दैन । त्यससँग सम्बन्धित आधिकारिक सामग्रीको खोजी पनि गर्दैन । अनि कतिपय चाहिँ पाठ्यपुस्तकका सूचनाहरूलाई मात्रै आधार बनाउने पनि हुन्छन् । तिनका दृष्टिमा पाठ्पुस्तक मात्रै आधिकारिक हुन्छ । यस सन्दर्भमा आफूले भनेको नै सर्वेसर्वा हो भन्ने शिक्षकभन्दा पाठ्यपुस्तकलाई आधिकारिक मान्ने चाहिँ बढी इमान्दार देखिन्छ । तर यस्तो अवस्थामा पाठ्यपुस्तक त्रुटिपूर्ण रहेछ भने विद्यार्थीहरू गलत सूचनामा भरोसा गर्न बाध्य हुन्छन् ।

सामान्यतः आफूले प्रयोग गरेको सामग्रीलाई हर समय सत्यापन गर्ने बानीको विकास हुन सक्यो भने त्यो विद्यार्थी र शिक्षक दुवैका लागि राम्रो हुन्छ । अझ सन्देह लागेका सामग्रीले मानसिक छटपटी गरायो भने र त्यो छटपटीलाई मेटाउन उपयोग गरिएको÷गरिने सामग्रीलाई सत्यापन गरियो भने सिकाइको परिणामले आधिकारिकता प्राप्त गर्दछ । सामाजिक विषय मात्रै होइनन् भाषा र विज्ञान सम्बद्ध विषयमा पनि यो कुरा लागु हुन्छ । यसले निरन्तर अध्ययन र खोज गर्ने बानीको विकास हुन्छ र विद्यार्थीलाई सही सूचना दिने परिपाटीको पनि विकास हुन्छ ।

अझ दिनभरिका क्रियाकलापलाई बेलुका सुत्ने बेलामा सर्सर्ती समीक्षा वा पर्यवेक्षण गर्ने हो भने आफूले कहाँ त्रुटि गरेको छ भन्ने थाहा हुन्छ । कसैसँग बोलेका कुरा वा गरिएका क्रियाकलापमाथि प्रत्येक दिन आफैँले समीक्षा गर्ने बानीले मानिसलाई निश्चितता प्रदान गर्छ । जसले गर्दा ऊभित्र आत्मविश्वास पनि विकास हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?