‘सन्तापको धून’ कथा सङ्ग्रहमा समयको लय

लोकपथ
2k
Shares

काठमाडौं । वर्तमानमा एउटा तितो सत्य नेपाली साहित्यसँग जोडिएर आउन थालेको छ । त्यो हो– पाठकभन्दा बढी लेखक भए । हुन पनि काठमाडौँका होटलदेखि प्रज्ञा डबलीसम्म निकै धुमधामका साथ विमोचन हुने पुस्तकहरूमध्ये धेरैले गतिला पाठक नपाइकनै बजार छाड्छन् ।

सित्तैमा पाएका किताब पढ्ने पाठक असाध्यै थोरै हुन्छन् । पढ्नेहरूको पनि बुझाइ फरक–फरक त हुन्छ नै त्यसका पनि आफ्नै प्रकारका सीमा हुन्छन् । कति लेखकले लेखेका पुस्तकहरू हुबहु बजारमा आउने हो भने साहित्यको राम्रै हुर्मत लिने खालका पनि हुन्छन् । कति कृतिहरू राम्रो समीक्षा नभइकनै इतिहासको गर्तमा डुब्न पुगेका छन् । पुरस्कार र सञ्चारमाध्यमका कारण पाठकको ध्यान तानेका कृतिहरूले पनि केही व्यवसाय त गर्लान् तर तिनीहरू पनि लामो समयसम्म टिक्न सक्दैनन् ।

यी नेपाली साहित्यमा देखिएका आजका चुनौती हुन् । यस्तै चुनौतीका बिचमा चेपिएर केही समयअघि ‘सन्तापको धुन’ कथा सङ्ग्रह आएको छ ।

अशोक थापाको पहिलो सिर्जनात्मक कृतिका रूपमा आएको यस कथा सङ्ग्रहभित्र नेपाली पाठकले पढेका र समसामयिक नेपाली साहित्यले उठान गरिसकेका विषयवस्तुले नै प्राथमिकता पाएका छन् । वर्तमान समाज समकालीन स्रष्टाहरूले लेख्दै जाने हो । कुनैपनि साहित्यले समाजलाई डो¥याउन सक्दैन । बरु समाजले साहित्यलाई डो¥याउँछ । समाज जसरी–जसरी अघि बढ्छ त्यसको लेखन गर्दै साहित्य पछि–पछि लाग्छ । तब एउटै समयलाई लेख्ने त्यस समयका धेरै स्रष्टा हुन्छन् । त्यसैले उनीहरूले के लेखे भन्दा पनि कसरी लेखे भन्ने प्रश्नले प्रमुखता पाउँछ । थापाको कथा सङ्ग्रहको शक्ति र सीमा पनि यसैबाट निर्धारण हुन्छ ।

समकालीन समाजमा एकातिर समाजका घटना आफ्नै लयमा दौडिरहेका हुन्छन् भने अर्कातिर विभिन्न किसिमका विचारहरू पनि सल्बलाइरहेका हुन्छन् । कुनै स्रष्टाले समाज लेख्छ कुनैले विचार लेख्छ । कथाकार थापाले समाज लेखेका छन् । उनको कथा सङ्ग्रहभित्र तेह्रओटा कथाहरू समावेश छन् । केही बालमनोवैज्ञानिक छन् भने केही इडिीस कम्प्लेक्स भएका कथा पनि छन् । वैदेशिक रोजगारीले परिवारको संरचनामा ल्याएको समस्या, युवाहरू विदेश पलायन हुने लहर, सहरीकरणप्रतिको मोह, प्रविधिप्रति बढ्दो भरोसा, राजनीतिक विसङ्गति, विगतमा भएको हत्याहिंसाको राजनीतिले निम्त्याएको जटिलता, प्राकृतिक प्रकोपले जीवनमा थुपारेको दुःख यस्तै–यस्तै विषयवस्तु हुन् समकालीन नेपाली स्रष्टाले लेख्ने र लेखेका । कथाकार थापाले पनि प्रायः यस्तै विषयवस्तु रोजेका छन् ।

रित्तो आँगन, वीर्यदान, गाजल बेच्ने केटी, भित्ताको कान, बेचेका कुलदेवताजस्ता कथाहरूले सुविधाभोगी बन्दै गएको समाजमा प्राकृतिक प्रकोपले थुपारेको दुःख, वैदेशिक रोजगारले निम्त्याएका जटिलता, सहरप्रतिको आकर्षण, व्यभिचारी सम्बन्धजस्ता विषवस्तुलाई उठान गरेका छन् । उदास बिहीबार मनोवैज्ञानिक छ भने डढुवाइ आमाले मातृशक्तिप्रतिको अनुरागलाई मलजल गर्दछ ।

भजाइनल ट्रमाले प्रेम र यौनको अन्तरमा रहेको अन्यौलतालाई यथावत राख्दछ । बेचेको कुलदेवतामा समाज मनोविज्ञान छ । प्राकृतिक प्रकोपले प्रताडित रामनरेश आखते ज्योतिषीको कुरापछि झन् बढी आत्तिन्छ । आखतेको के स्वार्थ जोडिएको थियो कथामा त्यो गुप्त छ । निर्दोश भुलहरू, हात्तीछाप चप्पलजस्ता कथाहरूले किशोर र युवावस्थामा विपरीत लिङ्गीप्रति हुने प्रेमिल आकर्षणलाई व्यक्त गर्दछन् ।

नुच्छेमान चाहिँ कीर्तिपुरका रैथानेहरूको गिर्दो आर्थिक अवस्थालाई चित्रण गर्दछ । यस प्रकारका सामाजिक जटिलता कीर्तिपुरमा मात्रै होइन निकै पुराना मानिएका काठमाडौँ र पाटनका भित्री गल्लीमा पनि पाउन सकिन्छ ।

श्रुतिलेखन प्रतियोगितामा छानिएको ‘म’ चप्पल नभएकैले त्यता जान नपाउनु, रेनुप्रतिको तीव्र आकर्षण अनि भावनात्मक सम्बन्ध, रेनुले बाबुको कन्तुरबाट तेइस रुपैयाँ चोरेर ‘म’ ले चुँडिएर फ्याँकेको चप्पलमुनि राख्नुजस्ता घटनाले हाम्रो पुस्ताले बाल्यकालमा भोगेको घटनालाई ताजा बनाउँदछ ।

आजको पुस्ताले यस्तो घटना बिरलै भोग्छन् । भोगे पनि भिन्न स्वरूपमा भोग्छन् । सरले कक्षामा आमाको बारेमा निबन्ध लेख्न लगाएपछि चुपचाप बसेको ‘म’ अनुहार डढेकी आमाप्रति चरम घृणा गर्दछ तर कीर्तिपुरमा एउटा कुकुर्नीले आफ्नो बच्चा मरेकोमा देखाएको आर्तनाद पीडायुक्त व्यवहारले ‘म’लाई पनि आमाप्रतिको अपार श्रद्धा र माया पलाएर आउँछ । मातृत्वममता चाहे कुकुरको होस् या मानिसको समान हुन्छ भन्ने भाव डढुवाइ आमाले दिन्छ ।

प्रेमका नाममा शरीरसँग खेल्ने शिशिरले रुखको हाँगो भाँचिएर सिमीको थाँक्रो यौनीभित्र पसेपछि लामो उपचारबाट तन्दुरुस्त भएकी सहक्रिडक मेनकाको बाध्यता नबुझेको र सम्बन्ध तोडिएको समस्यालाई भजाइनल ट्रमाले उठान गरेको छ । सानै उमेरमा बाबुआमाले त्यागेकी शैलीलाई मोवाइल पानीमा खसेको निहुँमा बाल आश्रम सञ्चालिका मिसले कुटेपछि सेती नदीको खोँचमा हम्फालेकी शैलीको मनोवैज्ञानिक पक्षलाई उदास बिहीबारले उठाएको छ ।

निद्रा आएनकी ज्ञानी र उदास बिहीबारकी शैलीको मनोदशा उस्तै–उस्तै लाग्दछ । समग्रमा केटाकेटीहरूको तीव्र आवेग कति हदसम्म कोमल र घातक हुन्छ भन्ने तथ्यलाई उदास बिहीबार कथाले व्यक्त गरेको छ । वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक समस्या र महिलाहरूको मातृत्व चाहानालाई वीर्यदान कथाले व्यक्त गरेको छ । यो कथा सन्देहमा टुङ्गिएको छ ।

गाउँबाट सहर पस्नुको बाध्यतालाई गाजल बेच्ने केटीले व्यक्त गरेको छ । सकीनसकी जीविकोपार्जनका लागि सहर पस्नेको कथा बन्न पुगेको छ गाजल बेच्ने केटी ।
रित्तो आँगन कथाले औपन्यासिकताको खोजी गर्दछ । तीनओटी छोरीलाई भु्रणावस्थामै मारेर छोरो पाउँदा पनि सुख पाउन नसकेकी मनकली र दुर्वासाको कथा रित्तो आँगनले भनेको छ । छोरीलाई गर्भमै मार्ने समाज र बाबुआमालाई पनि कन्या चाहिएको हुन्छ । दुर्बासाले बनाएको ठुलो घरमा प्रवेश गर्न कन्या अघि लगाउनुपर्ने र सोका लागि गाउँका कन्या खोज्न थाल्छ दुर्बासा । केही वर्षअघि शब्दाङ्कुरमा छापिएको ‘रत्नपार्ककी सान्नानी’ कथामा पनि यस किसिमको समस्यालाई देखाइएको छ । आफ्नी छोरीलाई गर्भमै मार्ने बाबुआमालाई पनि आफ्नो वंशविस्तार गर्न अर्काकी छोरी चाहिन्छ । घटनाको अवधि निकै लामो भएकाले यस कथाले पनि औपन्यासिकताको खोजी गर्दछ ।

परिवारभित्र हुने यौन स्वेच्छाचारितालाई भित्ताको कान कथाले व्यक्त गरेको छ । घरमा श्रीमती हुँदाहुँदै बुहारीसँग सुत्न जाने ससुरा र त्यसैका कारण आत्महत्या गर्न पछि नपरेकी नर्मदाको दुःखले भरिएको कथा हो भित्ताको कान । अञ्जानमा भएका तीनओटा भुललाई निर्दोष भुल कथाले देखाएको छ । पहिलो भुल बाल्यावस्थामा कट्टु लगाउन बिर्सिएर भएको छ भने दोस्रो भुल देवीदानवको खेलमा अबोधको पेटमा झिरले खोप्दा भएको छ अनि तेस्रो भुल चाहिँ युवावयमा अबोधसँग गरिएको गहिरो आलिङ्गन भएको छ । यी सबै घटना अकस्मात भएका छन् र पछि पछुताउने परिस्थिति निर्माण भएको छ ।

बेचेको कुलदेवताले हाम्रो ग्रामीण जीवनको मनोविज्ञान भन्दछ । पछिल्लो समय नेपाली समाजमा भइरहेको धर्मान्तरणको चरित्रलाई पनि यस कथाले सङ्केत गरेको छ । आरन किस्नेको बेबारिसे आत्मा र लासले चराको रूप लिएर गोलसिमल गोल सिमल गीत गाइरहेको लोकमिथकलाई सन्तापको धून शीर्ष कथाले प्रस्तुत गरेको छ । तीनओटा गीतको सङ्गम रहेको नरकङ्कालको गीत कथामा गीत शब्दले मृत्युको घटनालाई सङ्केत गर्दछ । यो कथा पढिसक्दा दिमागमा आउने महत्त्वपूर्ण प्रश्न हो– गीतले जीवनबोध गराउने हो कि मृत्यु ? कुष्ठरोगले ग्रस्त साहिँलो र उसकी श्रीमती खिरिलीको दुःखद मृत्यु पहिलो गीत बनेको छ भने लोग्ने मरेकी बतासे कान्छीलाई प्रधानले गर्भिणी बनाएपछि उसैले गिद्धेभिरबाट लडाएर मारेको घटना दोस्रो गीत बनेको छ । तेस्रो गीत चाहिँ हत्याहिंसाका बेला राज्यपक्षले विद्रोही पक्षलाई मारेको घटना बनेको छ । मानव कङ्कालले प्रेतको रूप धारण गरेर कहिले खिरिलीको लोग्ने स्वास्नीको पीडा ओकल्छ भने कहिले बतासे र उसको गर्भभित्रको बच्चाको आवाज निकाल्दछ । त्यसैले गाउँका मानिसहरू त्यो बाटो हिँड्नसमेत डराउँछन् । त्यसैले गिद्धेभिर त्रासको एउटा लोकमिथक बनेको छ ।

अशोक थापाका प्रायः कथा ग्रामीण परिवेशसँग सम्बद्ध छन् तर बिल्कुल नौलो कथा पढेको आभाष गराउने खालका छन् । भाषामा पर्याप्त आलङ्कारिकता छ । उनले केही नौला र नयाँ बिम्बको पनि खोजी गरेका छन् । पुरानै विषयवस्तु भएर पनि नयाँझैँ लाग्ने उनको प्रस्तुति नै उनका कथाहरूको मूल शक्ति हो । लक्ष्मण वियोगीले भनेजस्तो थापाका कथामा भाषाको मिहिनता, काव्यिक शैली, ग्रामीण जीवनशैली सघन रूपमा व्यक्त भएको छ । कथामा आलोचनापक्ष पनि छ जसले उनको कथाकारितालाई लामो समयसम्म साहित्यिक दोबाटोमा निर्बाध गतिले हिँड्न सहयोग गर्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?