काँग्रेसको असन्तुष्टिपछि रोकियो सुनुवाइ प्रक्रिया

काठमाडौँ। संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा गरेको सिफारिसको प्रक्रियामा प्रश्न उठाउँदै नेपाली काँग्रेसले असन्तुष्टि जनाएपछि प्रस्तावित अध्यक्षहरूको सुनुवाइ प्रक्रिया पर धकेलिएको छ । गाेरखापत्रले खबर छापेकाे छ ।

प्रमुख प्रतिपक्ष दललाई ‘बाइपास’ गरेर सिफारिस गरेको भन्दै संसदीय सुनुवाइ समितिमा काँग्रेस सांसदहरूले असन्तुष्टि जनाएका थिए । काँग्रेस सांसद्हरूको असन्तुष्टिपछि सभापति लक्ष्मणलाल कर्णले समिति बैठक स्थगित गरेका हुन्  । अर्को बैठकको मिति तोकिएको छैन ।

समिति सभापति कर्णले काँग्रेस सदस्यहरुको आग्रहबमोजिम बैठक स्थगित गरिएको बताए । सभापति कर्णले भने ‘‘प्रस्तावित पदाधिकारीका विषयमा काँग्रेसका सदस्यहरुले निर्णय प्रक्रियामा प्रश्न उठाउनुभयो । प्रश्नपछि सुनुवाइ प्रक्रिया स्थगन गर्ने निर्णय भएको हो ।’’
समितिमा काँग्रेस सांसद्हरूले निर्णय प्रक्रियामा प्रश्न गर्दै परिषद्को निर्णय मगाउन सभापतिलाई आग्रह गरेका थिए । काँग्रेस सांसद्हरु ज्ञानेन्द्रबहादुर कार्की तथा पुष्पा भुसालले संविधान र संवैधानिक परिषद्को कार्यविधि मिचेर निर्णय भएको दाबी गरे । समितिमा कार्कीले भने, ‘‘कार्यविधिमा बैठकको सूचना अनुपस्थित भएका निर्णयको व्यवस्था स्पष्ट छ । प्रतिपक्ष दलको सहमति बिना नै निर्णय भएको छ । प्रक्रियागत त्रृटि भएकाले निर्णय मागिनुपर्छ ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?