मोरङको विराटचोकमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौं । मोरङको विराटचोकमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । 

सोमवार बिहान ११ बजेदेखि प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो । 

ट्रिपरको ठक्करले ११ वर्षिय बालिकाको घटनास्थलमै मृत्यु भएपछि विहानदेखि मोरङको विराटचोक तनावग्रस्त बनेको छ ।

निर्माण सामाग्री बोकेको ना ३३ ख ३३५५ नम्बरको ट्रिपरको ठक्करले सुन्दर हरैँचा नगरपालिका ११ की लक्ष्मी ढकालको घटनास्थलमै मृत्यु भएपछि आक्रोसित स्थानीयवासीले ठक्कर दिने ट्रिपरसहित ७ वटालाई आगो लगाएपछि स्थिति तनावग्रस्त बनेको हो ।

त्यस्तै ट्रिपरमा लागेको आगो निभाउन पुगेका दमकललाई समेत स्थानीयवासीले अवरोध गरेको थियो । स्थानीयवासीको अवरोध गरेपछि दमकल फर्किएको थियो । 

प्रहरीले स्थिति नियन्त्रणमा लिन नसकेपछि स्थानीय प्रशासनले पूर्वमा सुकुना बजार, पश्चिममा बुधवार बजार, उत्तरमा विराटचोक र दक्षिणमा वेलेपुर क्षेत्रको बीच भागमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो ।

प्रशासनले जारी गरेको कर्फ्यू बेवास्ता गर्दै आक्रोसित समूहले बालिकाको शव सडकमै राखेर प्रदर्शन जारी थालेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?