ट्रिपरको ठक्करबाट बालिकाको मृत्यु, गुडिरहेका आधा दर्जन ट्रिपरमा तोडफोड

 ट्रिपरको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।

मोरङको सुन्दर हरैंचा नगरपालिका–९ सिसौघारीमा सोमवार बिहान विराट चोकबाट विराटनगरतर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको ट्रिपरले ठक्कर दिँदा सुन्दरहरैचा–९ की ११ वर्षीय बालिका लक्ष्मी ढकालको ज्यान गएको हो ।

तीव्र गतिमा रहेको टिप्परले बाटो काट्दै गरेकी बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

ठक्कर दिएर भाग्दै गरेको ट्रिपर  बेलेपुर चोक नजिकै सडक छेउको एउटा रुखमा ठोक्किएर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परेलगत्तै स्थानीयले टिप्परमा आगो लगाएका थिए ।  

दुर्घटनापछि स्थानीय बासिन्दाले सडकमा गुडिरहेका अन्य आधा दर्जन ट्रिपरमा पनि तोडफोड गरेका छन् ।

दुर्घटनालगत्तै विराटचोक–विराटनगर सडक खण्डको बेलेपुर र सिसौघारीमा स्थानीय वासिन्दाले नाराजुलुस प्रदर्शन गरेका छन् ।

स्थानीय वासिन्दाले ट्रिपर आतंक रोक्नुपर्ने माग गर्दै प्रदर्शन थालेपछि स्थिति असामान्य बनेको प्रहरीले जनाएको छ । स्थानीय वासिन्दाले घटनास्थलमा जान खोजेको प्रहरीमाथि समेत ढुंगा प्रहार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?