काठमाडौं । बाराको पसाह खोला नजिकै सडकमा भएको सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई थप उपचारका लागि आइतवार काठमाडौं लगिएको छ ।
भट्टराईलाई हेलिकप्टरबाट आइतवार बिहान साढे ११ बजे काठमाडौंको ग्राण्डी अन्तर्राष्ट्रिय अस्तालमा लगिएको हो ।
दुर्घटनामा घाइते भई चिन्ताजनक अवस्थामा वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचाररत प्रमुख जिल्ला अधिकारी भट्टराईको स्वास्थ्यमा सुधार नआएपछि ग्राण्डी अस्तालको मेडिकल टिम सहितको एयर एम्बुलेन्स हेलिकप्टरबाट काठमाडौं लगिएको हो । सट्टराईसँगै दुर्घटनामा परी गम्भीर घाइते भएका सशस्त्र प्रहरी बल बाराको १२ नम्बर गणमा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखेरलेको भने गएराति नै मृत्यु भएको थियो ।
कर्मचारी मिलन केन्द्र बाराले निजगढको हिरालाल भ्यु टावरमा आयोजना गरेको वनभोज कार्यक्रममा सहभागी भई सर्लाहीको हरिवनमा आफन्तको विवाह भोजमा सहभागी भएर फर्किने क्रममा प्रमुख जिल्ला अधिकारी भट्टराई सहितको सुरक्षा अधिकारी चढेको गाडी दुर्घटनामा परेको थियो ।
प्रमुख जिल्ला अधिकारी भट्टराई र सशस्त्र प्रहरी उपरीक्षक पोखरेल चढेको ना १ झ १६३३ नम्बरको स्कार्पियो जीप शनिबार बेलुकी बाराको पसाह खोला नजिकै सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईसहित अन्य ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सशस्त्र प्रहरी उपरीक्षक पोखरेलका सुरक्षागार्ड सशस्त्र प्रहरी हवल्दार सञ्जयकुमार यादव, प्रमुख जिल्ला अधिकारी भट्टराईका सुरक्षा गार्ड शम्भु गुरुङ र चालक जगत पटेल रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी भट्टराईको स्वास्थ्य अवस्था चिन्ताजनक रहेकोले मेडिकल टिम सहितको हेलिकप्टरमा मात्रै काठमाडौं लान सम्भव भएको हुँदा मेडिकल टिम सहितको हेलीकप्टर मगाएर आइतवार काठमाडौं पठाइएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।
दुर्घटनामा परेका चालक पटेल र प्रमुख जिल्ला अधिकारीका सुरक्षा गार्डका रुपमा कार्यरत सशस्त्र प्रहरी हवल्दार गुरुङको भने कुमको हडडी भाँचिएको छ । घाइते तीन जनाको भने वीरगन्ज हेल्थ केयर अस्पतालमै उपचार भईरहेको बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया