वाणिज्य बैंकहरूको जवाफ–‘सुमार्गीको रकम फर्काउन सकिन्न’

काठमाडौँ — व्यापारी अजेयराज सुमार्गीको रकम फिर्ता गराउन नसक्ने वाणिज्य बैंकहरूले राष्ट्र बैंकलाई जानकारी गराएका छन् ।

सर्वोच्च अदालतको आदेशअनुसार सुमार्गीको पैसा फिर्ता गराउन राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, नेपाल बंगलादेश बैंक र प्राइम कमर्सियल बैंकलाई गरेको पत्रचारको जवाफमा उनीहरूले सुमार्गीको रकम प्रयोग भइसकेको जवाफ दिएका हुन् ।

‘ग्राहकले ऋण तिरिसकेका छन् । पैसा पूर्ववत् अवस्थामा ल्याउन फेरि ऋण प्रवाह हुनुपर्छ । यसका लागि सम्बन्धित व्यक्ति वा कम्पनी चाहिन्छ,’ नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने ।

‘यसकारण राष्ट्र बैंकको निर्देशनअनुसार पैसा फिर्ता गर्न नसकिएको हो,’ उनले भने । यस्तो परिस्थितिमा अर्को निर्देशन माग गर्दै राष्ट्र बैंकलाई जवाफ पठाइएको उनले बताए । प्राइम र इन्भेस्टमेन्टले पनि सोही आशयको पत्र राष्ट्र बैंकमा पठाएको बुझिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?